Comments Add Comment

बढ्दैछ जिउँदो माछाको कारोबार

१३ कात्तिक, काठमाडौं । सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका कारण काठमाडौंमा जिउँदो माछाको कारोबार बढेको छ ।

यस क्षेत्रमा नयाँ व्यवसायी प्रवेशको क्रममा मंगलबार गोंगबुस्थित सामाखुसी रोडमा ‘नमुना जिउँदो माछा सप्लायर्स’ सञ्चालनमा आएको छ । यहाँ दैनिक २०० केजी जिउँदो माछा अक्सिजन जडित पोखरीमा राखेर बिक्री गर्ने क्षमता रहेको छ ।

चितवन नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारी, यातायात व्यवसायी पुरुषोत्तम सिंखडा र सामाखुसीकै स्थानीय व्यवसायी राकेश खड्गीले १० लाख रुपैयाँको संयुक्त लगानीमा यस जिउँदो माछा पसल सञ्चालनमा ल्याएका हुन् ।

तिहार र छठको उपलक्ष्यमा ग्राहकलाई मूल्यमा छुट दिएको कम्पनीले जनाएको छ । पोखरीमा पौडिरहेका जिउँदो माछा प्रतिकेजी ४ सय ५० र ताजा माछा प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

अर्का सञ्चालक अधिकारीले यो नयाँ पसलसँगै अहिलेसम्म राजधानीका विभिन्न स्थानमा करिब २० ओटा भन्दाबढी जिउँदो माछा पसल सञ्चालित रहेको जानकारी दिनुभयो ।

साढे २ वर्षदेखि यो प्रविधि नेपाल भित्रिएको जानकारी दिँदै उहाँले हाल १२ बिगाहाभन्दा बढी क्षेत्रफलमा आफूले माछा पालन व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो ।

मत्स्य व्यवसायी संघले आगामी ५ वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउँदै अधिकारीले भन्नुभयो, ‘भारतबाट आउने मरेका माछा छाडेर यहाँका उपभोक्ताले यस्तो स्वस्थकर ताजा माछा नै मनपराउन थालेका छन’ ।

‘भारतबाट ‘फर्मालिन’ नामक मानव स्वास्थ्यमा हानिकारक औषधी राखेर ल्याइएका मरेका माछा खान बाध्य उपभोक्ताले अब आफ्नै हातले पानीमा खेलिरहेका जिउँदा माछा मन पराउन थालेका छन्’, अधिकरीले भन्नुभयो ।

अहिले चितवन, पोखरा, नुवाकोट र अन्य स्थानका किसानहरुले पनि यस्तो प्रविधिमा आधारित जिउँदा माछा पालन व्यवसायमा थप लगानी गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

machha 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment