+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यसरी सुध्रन सक्छ एकीकृत माओवादी

आफैंले आफैंलाई ठोक्ने भनेको के हो ?, यो कुरा झट्ट सुन्दा अचम्म लाग्नसक्छ । ठोक्नु भन्नाले अलि जोडपूर्वक हिर्काउनु नै भन्ने हुन्छ । ठोक्नु भनेको प्याट्ट पार्नु होइन । राजनीतिमा सबैले यसको अर्थ बुझ्ने कुरा पनि भएन । बसेर उठ्दा खुट्टा झन्झनायो भने अरुको कान चिमोट्ने चलन छ । यसो गर्दा खुट्टामा रक्त सन्चार हुन गर्इ पुन: सक्रिय हुन थाल्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १४ गते १३:०१

उदयराज गौतम
आफैंले आफैंलाई ठोक्ने भनेको के हो ?,  यो कुरा झट्ट सुन्दा अचम्म लाग्नसक्छ । ठोक्नु भन्नाले अलि जोडपूर्वक हिर्काउनु नै भन्ने हुन्छ । ठोक्नु भनेको प्याट्ट पार्नु होइन । राजनीतिमा सबैले यसको अर्थ बुझ्ने कुरा पनि भएन । बसेर उठ्दा खुट्टा झन्झनायो भने अरुको कान चिमोट्ने चलन छ । यसो गर्दा खुट्टामा रक्त सन्चार हुन गर्इ पुन: सक्रिय हुन थाल्दछ । पार्टी जीवनमा पनि पार्टीका अंग प्रत्यंगहरू बेलाबखत निष्कृय बन्छन । ती निष्कृय अवयवहरूलाई सक्रिय पार्न चिमोट्ने,  झक्झकाउने  मात्र होइन कहिलेकाहीँ सियोलेसम्म घोच्नुपर्ने हुन्छ । अर्थात, लामो समयसम्म गतिहीन बन्यो भने विधिपुर्वक अकुपञ्चर गर्नुपर्ने हुन्छ ।

udaya Gautamप्रसंग हालै सम्पन्न संबिधानसभा चुनावको हो । एकीकृत (माओवादी) ले अप्रत्यासित पराजय भोग्नुपरेपछि अहिले चौतर्फीरुपमा केन्द्रदेखि तलसम्म यसले ठूलो तरंग ल्याएको छ । राप र ताप सृजना गरेको छ ।  जुन स्वभाविक पनि हो ।  जनताले अब एमाओवादीले आफैंले आफूलाई कसरी ठोक्छ, हेर्नेवाला छन् ।

माघको चिसो जाडोमा ठोक्दा तापको मापन गर्न त्यति सजिलो भने छैन । अर्थात ठोकाइको झोक्का कुन् खालको हुन्छ र त्यसले कत्तिको कम्पन ल्याउँछ, त्यो हेर्न केही समय पर्खिनुपर्ने हुन्छ । सानो प्रकारको अकुपन्चर सेवाले अहिलेको बिकराल परिस्थितिको निदान गर्ला भनेर पत्याइहाल्यो भने अलि हतारो

हुनेछ । पार्टीलाई कुन् रोगले गाँजेको छ, सर्वप्रथम् त्यसको निदान नगरी सामान्य झारफुकमात्र गरेर उपचार गर्न लागियो भने त्यसको उपलब्धी शून्य हुनेछ । हामीले भन्ने गरेको महान नेपाली जनतालाई त्यो हिस्स बुढी खिस्स दाँत शिवाय केही हुने छैन । बिरामीले आफ्नो दुखार्इ र लक्षण बताउने हो । चिकित्सकको काम रोगको निदान गरी सही प्रकारको उपचार बिधि अपनाउने हो । निकै कडा रोग रहेछ भने सामान्य उपचारले निको नहुन सक्छ । अप्रेसन गर्नुपर्ने रोगीलाई सिटामोल ख्वाउन थालियो भने सही उपचार हुदैछ भन्न सकिन्न ।

पार्टीका अंगहरू चाहे ती जनबर्गीय संगठन वा जातीय, क्षेत्रीय मोर्चाहरू हुन्,  सबैमा रोगले ब्यापक संक्रमण गरेको छ । कतिपय ठाउँमा त त्यसले क्यान्सरको रुप लिइसकेको अवस्था छ । त्यसकारण यो ठोकठाक बिधि सामान्य प्रकारको र औपचारिक प्रकारको मात्र हुन गयो भने ‘केटाकेटी आएर गुलेली खेलाए’ सरहनै हुने छ । भुक्तभोगीहरू यसपटक पनि धेरै आशाबादी हुनु नपर्ने बताउन थालिसकेका छन् । सेलदेखि गाऊ कमिटी हुँदै पेरिसडाँडासम्म पुगेको महासंक्रमणको उपचारको निम्ति शतप्रतिशत निर्मम् नबनी आफैले आफैलाई ठोक्नु सम्भव छैन ।

नेतृत्व भनेको सामूहिकताको केन्द्रिकृत अभिव्यक्ति हो, जुन ब्यापक जनवाबको जगमा मात्र सुदृढ बन्न सक्छ, न कि कुनै अदृश्य शक्ति वा स्थायी प्रकारको सानो गुटको सहाराबाट । पार्टी केन्द्रका जेठा, माहिला र साहिंला तीनैतहका नेताका वरिपरी सानातिना भुरेटाकुरे जे जस्ता भए पनि स्थायी प्रकारका गुटहरू छन् । हेटौंडा महाधिवेशनले त्यसलाई निमिट्यान्न पार्न सकेन अर्थात त्यो दिसामा पहल नै गरिएन भन्दा पनि फरक पर्दैन । यी वा ती बिना नामका मुर्कट्टा गुटहरू न कुनै बिचार समूह हुन न पार्टी भित्रको संकटमोचनमा तिनको कुनै योगदान छ । जनताबाट कोसौं  टाढा उछिट्टिएपछिको सजाय कस्तो हुँदोरहेछ भन्ने सामान्य हेक्का अब आदरणीय प्रचन्ड, बाबुराम र नारायणकाजीहरूले राख्नु भएन भने एकपटक होइन हजारौं पटक ठोके पनि त्यो कामयावी हुने छैन ।

अब हुने भनिएको संगठनात्मक सम्मेलनमा ठोस प्रकारको ठोकठाक बिधिको प्रयोग हुने छैन भनेर अहिल्यै अनुमान गर्नु सही होइन । समयक्रममा त्यो देख्न भोग्न पाइन्छ । एकीकृत माओवादी जनताले बनाएको हो । युद्धकालभरी नेता र कार्यकर्ताको सुरक्षा गाँउबस्तीका जनताले गरेका थिए । जब हामी शान्तिप्रक्रिया हुँदै शहर पस्यौँ, हाम्रा जिउ सल्बलाए, जिब्रो रसायो, रहर दिन दुई गुणा रात चौगुणाको दरले बढ्यो । सबै कुरा बढेपछि बानी पनि नबिग्रने कुरा भएन । सवाल के हो भने कम्युनिस्टहरूले मिठो मसिनो खान नहुने, राम्रा कपडा लगाउन नहुने, अग्लो घरमा बस्न नहुने, चिल्ला गाडी चढ्न नहुने भन्ने होईन । मानिसले उच्चतम जीवनयापन गर्न पाउनु पर्ने भन्ने नै मार्क्सबादको लक्ष हो । साधनश्रोतको उच्चतम प्रयोग गरी सबैले समान प्रकारको सुबिधा उपभोग गर्न  पाउनुपर्छ भन्ने कुरामा विबाद नहोला । मनको रहर सापेक्ष हुन्छ । आवश्यकताहरू पनि सापेक्ष हुन्छन् । देश, काल र परिस्थितीको सही आँकलन नगरी मौकामा चौका हान्न थालियो भने त्यसले अनन्तकालसम्म पोल्छ । आफूलाई मात्र हैन यता सातपुस्ता पोल्छ उता पार्टी संगठन सबैतिर पोल्छ ।

नेता र नेतृत्वले आफ्नो रहरलाई जनताको रहरसँग गाँस्न सक्ने हो भने समस्या आउँदैन । जनताको जीवनस्तर जस्ताको त्यस्तै रहने, हिजो गरेका बाचाहरू पूरा गर्न नसकिएको अवस्था हो, आज । गाउँबस्ती घुम्दा जनताले हामीलाई १० वर्ष पाले, रुखो सुखो ख्वाएर । दुष्मनबाट सुरक्षा गरे । हामीले शहर पसेको १० महिना नपुग्दै सबै भुल्न पुग्यौँ । युद्धमा घाइते हजारौं योद्धाहरू आजसम्म जीवनमरणको दोसाँधमा छट्पटाइरहेका छन् । अझै पनि बेपत्ता परिवारले आफन्तहरुको बिछोडमा तड्पिरहनु परेको अवस्था छ । शहिद परिवार र तिनका छोराछोरीप्रतिको पार्टीको बेवास्ताले गर्दा हाकाहाकी उनीहरुले माओवादीको विपक्षमा भोटिङ गरेको कुराहरू आइरहेका छन् ।

सीमान्तकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन र उनीहरुले थाहा पाउने गरि राहत दिन हामीलाई के ले छेक्यो ?,  यो एक पेचिलो प्रश्न हो । दूर्गम बस्तीको कुरा मात्र होइन शहरकै बासिन्दालार्इ पनि ‘गणतन्त्र’ को भन्दा बढी सरोकार आफ्ना नेता बेला बेला टोलबस्तीमा आएर दु:ख सूख साटासाट गर्‍यो कि गरेन भन्ने कुरा सँग हुन्छ । आँखा अगाडिको हिजो बिहानको सुकुटे नेता राता रात् आज पत्याउनै नसकिने गरि फेरियो । उसको ब्यापार, आयश्रोत केही छैन । ठूला ठूला महल ठडिए, भत्केको बाटोमा आफ्नो नेताले चिल्ला गाडी गुडाउन थाल्यो, घरपरिवार नातापाता सबैको बस उठमा राम ! राम ! भन्ने गरी फेरबदल आयो । अनि  जनतासँगको सम्बन्ध टाढियो भनेर औंला भाँची भाँची एउटा इमान्दार कार्यकर्ताले आफ्नो नेताको आगाडि नतमस्तक भएर भन्दा उल्टै उस्ले हप्की खाने अवस्थाको परिकल्पना जनयुद्ध थिएन ।

हाम्रा आदरणीय नेताहरू सबैको भरिपूर्ण भएको हामी देख्न चाहन्छौ । कसैलाई पनि दु:ख नपरोस । तर नेताहरूसँगै जनताको अवस्थामा पनि सुधार ल्याउनसकेको भए आज यो ठोकाइको प्रसँग आउने थिएन । आफ्नो टाउकोमा आफैंले आगो झोस्ने कुराको प्रसंग अलि पुरानो भैसकेकोले अहिले ठोक्ने प्रसंगलाई चर्चामा ल्याउन खोजिएको पनि हो जस्तो लागेको छ । यस्तो शुभकार्यमा महान नेपाली जनताले हाम्रो गौरवशाली पार्टीलाई पूर्ण र निशर्त: सहयोग गर्नुपर्छ । ठोक्दा त्यस्को चोट निम्छराहरूको टाउकोमा पर्छ कि भनेर बहुत ख्याल भने गर्नैपर्छ । अझ यसलाई ब्यबस्थित बनाउन बुँदागत सुझाव दिँदा राम्रो हुने सल्लाह भैरबनाथ गणका जिउँदा शहिद मेरा एक मित्रले पनि दिएका छन् । उनलाई पनि के पिर रहेछ भने उनी निकै कडा ठोकाइ खाएका मान्छे पार्टीले फेरि उन्लार्इ नै ठोक्ला र राजु बस्नेतलाई पुन: दोस्रो पटक बढुवा  गर्ला भन्ने पिर । के गर्नु, त्यो पिर मलार्इ पनि नपर्ने कुरा भएन मेरै मित्रको जस्तो । बुँदागत सुझाव यस्तो थियो :

१) शान्तिप्रक्रिया अघि र पछि तल देखि माथिसम्म कसले के कति लाभको पद धारण गर्‍यो ?, त्यो छुट्ट्याउने ।

२) सेलदेखि गाउँ समितिसम्म र त्यो भन्दा माथि आन्तरिक जिम्मेवारीमा रहेर उसले खेलेको भूमिका र उसको कार्य क्षेत्र ।

३) लाभको पदमा र बाहिर जहाँ रहे पनि सबै तहका जिम्मेवारहरूको पहिले र अहिलेको चलअचल सम्पत्तिको निष्पक्ष पहिचान ।

४) श्रोत नखुलेको सम्पत्ति सबै जफत गरी घाइते, बेपत्ता शहिद परिवारलाई बितरण गरि २५ प्रतिशत पार्टीको सम्पत्तिको रुपमा दर्ज गर्ने ।

५) सबै तहका जम्मो कमिटीहरू भंग गरी निर्वाचित कमिटीहरू सानो चुस्त र सक्रिय बनाउने अनि विभागीय अनुगमनको ब्यबस्था गर्ने ।

६) झारपातहरू भन्दा पुराना इमान्दारहरूलाई जिम्मेवारी सुम्पने । खानपानको व्यबस्था पार्टीले नै गर्ने ।

लेखकः नेपाली जनप्रगतिशिल मञ्च, डेनमार्कका अध्यक्ष हुन् ।                                                                 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?