+
+
Shares

छोरीलाई जन्मन दिऔं !

छोरीको सकुशल र सुरक्षित हिसावले जन्मन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित तुल्याउने र लिङ्ग पहिचानका आधारमा करकाप र बलमिच्याइँले आमालाई मञ्जुर गराई छोरीको ‘भ्रुणहत्या’ गराउन जो कसैलाई छुट छैन । यस्तो गम्भीर सामाजिक अपराध रोक्न र उक्त अपराध गर्नेलाई कानूनी कठघरामा उभ्याई कडा सजाय दिलाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २५ गते १४:५८

ramnath khanalरामनाथ खनाल

तपाईले ‘साटोप्रथा’ को बारेमा सुन्नु भएको छ ? सुन्नुभएको छैन, अनभिज्ञ हुनुहुन्छ या दन्त्य कथाझैँ तपाईका बुवा, हजुरबुवाले यस प्रथाको बारेमा तपाईलाई सुनाउनुभएको थियो भने तपाईका हजुरबुवाको समयको बिहावारी गर्ने लोक प्रचलनको अब नाति पुस्तामा पुग्दा नपुग्दै पुनरावृत्ति हुने भएको छ ।

नेपालको ग्रामीण भेगमा आज भन्दा करिव ७०-८० बर्ष अगाडि ‘साटोप्रथा’ प्रचलनमा थियो । समाजमा छोरीहरुको सङ्ख्या न्यून भएर छोराको विहावारी चलाउन समस्या भएपछि आफ्नो छोराको बिहे गर्दा साटो रुवरुप केटी पक्षलाई केटा पक्षबाट साटो दिनुपर्ने र उक्त साटो स्वीकृत भएपछि मात्र विहेबारी हुने तथा आफ्नो तर्फबाट ‘छोरीचेली’ साटो दिन नसक्ने भएमा छोराको विहावारी नै नहुने अवस्था नेपाली समाजबाट हटेको धेरै समय भएको छैन ।

लिङ्ग पहिचान गरी आमाको गर्भमा छोरी देखिएपछि ‘भ्रुणहत्या’ (एभोर्सन) गर्ने प्रचलन नेपाली समाजमा आक्रामक ढङ्गले देखिएपछि आगामी दिनमा नेपाली समाजमा छोरीको अभाव खड्किएर विहावारी गर्न समेत असहज हुने स्थिति आएमा पुरातन ‘साटोप्रथा’ को पुनरागमन हुन नसक्ला भन्न सकिन्न ।

विश्वव्यापीरुपमा नै केटाको तुलनामा केटीको जन्मने सङ्ख्या दर अली बढी हुन्छ । नेपालको कूल जनसंख्यामध्ये केही बढी प्रतिशत संख्या महिलाको नै रहेको छ । हालका दिनमा पनि छोरी जन्मनेको संख्या नै बढी नै रहेको पाइन्छ ।

नेपाली समाजमा छोरीलाई विहावारी गरेर अर्काको घरमा पठाउनुपर्ने तथा छोराले घर व्यवहार सम्हाल्ने, कुल धान्ने र परपम्परा जोगाउने मान्यता, संस्कारका रुपमा विकसित भएको र घरायसी जिम्मेवारीमा पनि लोग्नेमान्छेकै भूमिका महत्वपूर्ण ठानिने हुँदा ‘छोरा नै जन्मियोस्’ भन्ने चाहना अत्यधिक रहेको पाइन्छ ।

पुरातन समयमा छोरा र छोरीलाई जन्मिएपछि गर्ने व्यवहारमा नै भिन्नता हुने कारण तथा नवजात शिशु हेरचाहमा छोरालाई विशेष महत्व दिने र छोरीलाई कम महत्व दिने गर्दा शिशु मृत्युदरमध्ये छोरीको मृत्यु हुने सङ्ख्या अधीक रहने गर्दथ्यो, जसका कारणले गर्दा छोराको सङ्ख्या बढ्न गएको थियो । हाल आएर सन्तान जन्माउने दम्पतिमा जवरजस्त रुपमा छोराको चाहना अधीक रहने कारण गर्भाधारण गरेको केही हप्तामा ‘अल्ट्रासाउण्ड’ -भिडियो एक्स रे) मार्फत छोरा या छोरीको लिङ्ग पहिचान गर्ने र गर्भमा छोरी भएको पाएमा तुरुन्त ‘भ्रुणहत्या’ (एभोर्सन) गर्ने प्रवृत्ति बढेका कारण शहरी क्षेत्रमा छोरी जन्मने संख्या पछिल्लो केही वर्ष यता अत्यन्त न्यून रहेको पाइएको छ ।

उच्चतम प्रविधिको विकाससँगै स्वाथ्य क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि र प्रविकिो नविनतम् उपयोगमार्फत आजभोलि मानिसहरु आफूलाई सामान्य विवेकबाट समेत च्यूत गराउन थालेका छन् । विवाहिता दम्पतिको सन्तान चाहना प्राकृतिक कुरा हो । जैविक प्रकृया मार्फत सन्तान उत्पादन हुने हुँदा गर्भमा रहेको भ्रुण सकुशल जन्मन पाउनु प्राकृतिक अधिकारभित्रै पर्दछ । अवाञ्छित रुपमा करकापमा परेर, करणी वा जवरजस्त बलात्कारमा परी गर्भ रहन गएमा, भ्रुण विकलाङ् भएको पाइएमा र असामान्य अवस्था भएमा तथा उक्त भ्रुणबाट आमाको स्वास्थ्यमा प्रतिकूल अवस्था पर्न जाने भएमा चिकित्सकको सल्लाह अथवा सिफारिसमा १२ हप्तासम्म भ्रुण तुहाउन अथवा गर्भपतन गर्न सकिने कानूनी प्रावधान छ । तर बग्रेल्ती खुलेका, कतिपय अवस्थामा सामान्य दर्ता बाहेक अन्य सुरक्षित गर्भपतन सम्बन्धी सामान्य प्रकृयासमेत पूरा नगरेका संस्था एवम् स्वास्थ्य विभागले जथाभावीरुपमा गर्भपतन गर्ने अनुमति प्रदान गर्दा अधिकांश मानिसहरुले लिङ्ग पहिचान गरी ‘भ्रुणहत्या’ गर्ने तथा परिवार नियोजनको उपयोगी साधनको रुपमा नै ‘गर्भपतन’लाई लिने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

नेपालमा ‘गर्भपतन’, भ्रुणहत्या लाई कानुनले पनि बर्जित गरेको तथा समाजिकरुपमा गम्भीर अपराधको रुपमा हेरिने भएता पनि यो भयावह र डरलाग्दो हिसावले नै अगाडि आएको छ जसका कारणबाट छोरीले प्राकृतिक रुपमा जन्मन नपाउने एवम् छोरी भएकै कारणले गर्दा धर्तीमा पाइला टेक्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।

सामान्य विवेकको दायरामा आफुलाई सन्तुलित गराउने हो भने छोरा जन्माउन पनि महिलाको नै आवश्यकता पर्दछ । त्यही छोरी पछि महिला बन्दछिन् र सृष्टि प्रकृयाले निरन्तरता पाउँछ । यसरी सृष्टि, सभ्यता र संस्कारसँग जोडिएको नारीशक्तिलाई हेयभावले हेर्नु कदापि न्यायोचित हुन सक्दैन । छोरीको सकुशल र सुरक्षित हिसावले जन्मन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित तुल्याउने र लिङ्ग पहिचानका आधारमा करकाप र बलमिच्याइँले आमालाई मञ्जुर गराई छोरीको ‘भ्रुणहत्या’ गराउन जो कसैलाई छुट छैन । यस्तो कानूनी तथा गम्भिर सामाजिक अपराध रोक्न र उक्त अपराध गर्नेहरुलाई कानूनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिलाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ ।

गैरकानूनी ढङ्ले सञ्चालनमा आएका तथा सेवा सञ्चालनको न्यूनतम मापदण्ड पुरा नगरेका एवम् कानुनको बरखिलाप र मातृस्वास्थ्यको प्रतिकुल हुने गरी गर्भपतन जस्तो गम्भीर प्रकृतिको विषयलाई गर्भ नियन्त्रणको साधनको रुपमा अवलम्वन गर्ने कुराको अन्त्यका लागि सरोकारवालाहरुले बेलैमा ध्यान पुर्याउनुपर्ने भएको छ ।

आफ्नो गर्भमा आएको सन्तानलाई सुरिक्षत हिसावले जन्म दिन पाउनु आमाको प्राकृतिक अधिकारको विषय हो । समाजमा छोराको कर्तव्य बढी महसुस गर्ने तथा आवश्यकता बोध गर्ने र छोरीलाई कम महत्व प्रदान गर्नु हुँदैन । आजको बदलिएको दुनियाँ र बदलिँदो परिवेशमा छोरा सरहन नै छोरीको भूमिका देख्नुपर्दछ भने प्राकृतिक हिसावले, सृष्टि सञ्चालनको निरन्तरताका लागि छोरीको जन्म अपरिहार्य छ । यो प्राकृतिक तथ्यलाई मध्यनजर गर्दै हामी आधुनिक युगका विकसित मानिश भन्न रुचाउनेहरुले बेलैमा बुद्धि पुर्याउनु पर्ने भएको छ ।

समाजमा छोराले गर्न नसकेका कार्यहरु छोरीले पुरा गरेका कयौँ दृष्टान्त छन् । सबै छोराले बाबुआमाप्रतिको कर्तव्य तथा दायित्वबोध गर्ने भए वृद्धाश्रममा कयौँ आमाबुबा नुनीलो आँशु पिएर दिन रात काट्नु पर्ने थिएन । छोराले घरबाट लखेटेका आमाबाबुलाई छोरीले स्नेहपूर्वक स्याहार सम्हार गरेको र सम्हालेको घटना हाम्रो समाजमा प्रशस्त भेटिन्छन् । हामीलाई समाज सञ्चालनका लागि श्रीमती चाहिने, स्नेह लालित्यका लागि आमा चाहिने, भाउजू, बुहारीको आवश्यकता महसुस हुने, तर छोरी जन्मँदा किन नाक खुम्च्याउनुपर्ने ? ती सबै सामाजिक नाता सम्बन्धको जग त्यही ‘छोरी’ होइन र ?

अतः आफ्नो विवेकलाई बन्धक नबनाऔँ । योग्य तथा उत्कृष्ट समाज निर्माणका लागि छोरा सरह नै छोरीको जन्मन पाउने प्राकृतिक अधिकार सुरक्षित गरौँ । छोरी बिनाको यो समाज रहन किमार्थ सम्भव छैन । सबै चेतनशील छौँ, छोरीलाई जन्मन दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?