Comments Add Comment

राजा फर्काउन कमल थापालाई ‘किक’ हान्ने तयारी

४ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रवादी शक्तिको नेतृत्व गर्न नसकेको ठहरसहित पुराना पञ्चहरुले नयाँ राजावादी दल खोल्ने गृहकार्य सुरु गरेका छन् । यसरी बनाइने ‘नयाँ शक्ति’मा पूर्वप्रधानसेनापति रुक्माङग कटवालसमेत सहभागी हुनेछन् । कमल थापालाई सहयोग गर्दै आएका पूर्वराजाले अबदेखि नयाँ दललाई सहयोग गर्ने छन् ।

ex-king-chand-and-lohani

अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका पदमसुन्दर लावतीसमेत मिलेर नयाँ राजावादी शक्ति बनाउन लागेका हुन् । तर, यसलाई इटलीको ‘फाइभ स्टार मुभमेन्ट’जस्तै जस्तै ह्वात्तै विकास गर्न अरुलाई समेत समेटेर अघि बढ्ने तयारी भैरहेको स्रोतले बतायो ।

‘यो नयाँ शक्तिमा कांग्रेस नेता खुमबहादुर खड्कासँग पनि छलफल चलिरहेको छ, रुक्माङग कटवाल पनि यसमा सहमत भएका छन्, संविधानविद भीमार्जुन आचार्य, लगायतसँग पनि छलफल चलेको छ ।’ स्रोतले अनलाइनखबरसँग भन्यो,- ‘कमल थापाभन्दा सक्षम र सिनियर व्यक्तिको नेतृत्वमा अब नयाँ पार्टी जन्मन्छ ।’

नेतृत्वमा विवाद

नयाँ पार्टीको अध्यक्ष कसलाई बनाउने भन्नेमा पूर्वराजासमक्ष लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी दुईजनाको नाम गएको छ । पदमसुन्दर लावतीले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ शक्ति बन्ने ज्ञानेन्द्रलाई बताएका छन् भने अर्को टोलीले डा. लोहनीको नाम लिएको छ ।

‘चन्दलाई अध्यक्ष बनाउँदा भारतलगायत अन्तरराष्ट्रिय सम्बन्ध जुटाउन सजिलो हुन्छ, स्रोतले अनलाइनखबरसँग भन्यो, तर उनी अलि ‘स्लो’ भएकाले लोहनीजस्तो विद्वानलाई अघि सार्ने हो कि भन्ने पनि छलफल चलिरहेको छ ।’

यसैवीच पूर्वराजा ज्ञानेन्द्रले यसै साता डा. लोहनी र पूर्वप्रधानमन्त्री चन्दसँग भेट गरेको बुझिएको छ । कमल थापाले ज्ञानेन्द्रसँग आर्थिक लाभ मात्रै लिएको तर, राजतन्त्रसम्बन्धी मुद्दालाई दह्रोसँग नसमातेको भन्दै नयाँ राजावादी पार्टी बनाउने र त्यसमा पूर्वराजाको समर्थन जुटाउने प्रयास सुरु गरिएको बताइएको छ । यसक्रममा पूर्वराजाले ‘कोही नहुँदा चोरलाई सघाउनुपरेको’ भनी दिएको प्रतिक्रिया पनि यतिबेला चर्चाको विषय बनेको छ ।

कमल थापाको कार्यालय कब्जा गर्ने दाबी

यसैवीच कमल थापाको विकल्पमा बनाउन लागिएको नयाँ दलको कार्यालय हाल राप्रपा नेपालको केन्द्रीय कार्यालय रहेकै भवनमा सञ्चालन हुने दाबी स्रोतले गर्‍यो । ‘कमल थापालाई त्यहाँबाट हटाइन्छ, स्रोतले भन्यो-‘उनका पार्टीका मान्छेहरु पनि नयाँ दलमा आउनेछन् ।’

राजावादीहरुले आफू दलमा संगठित हुन चाहे पनि कमल थापाको मातहतमा सिनियर नेताहरु जान नसकेको स्रोतको भनाइ छ । ‘कमल थापालाई अध्यक्ष मानेर चन्द र देवकोटाजस्ता नेताहरु बस्न सक्नुहुन्न, त्यसैले राजावादीको नयाँ शक्ति उनको नेतृत्वमा सम्भव छैन’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘थापाले राजालाई विवादमा पार्ने र पार्टीलाई क्लबजस्तो मात्रै बनाउने काम गरेकाले राजतन्त्रवादीहरुले छुट्टै विकल्प खोज्नुपरेको हो ।

भारतमा हालै आएको राजनीतिक परिवर्तन र नेपालमा गणतन्त्रवादी दलहरुप्रति जनतामा देखिएको चरम असन्तुष्टिका कारण चाँडै नै राजतन्त्र पुनस्थापना गर्न सकिने वस्तुगत आधार तयार भएको भन्दै यसको आत्मगत तयारीका लागि राजावादीहरुको नयाँ पार्टी खोल्न लागिएको स्रोतले अनलाइनखबरसँग बतायो ।

करेक्सन–यसअघि पाेष्ट गरिएकाे समाचारमा पत्रकार युवराज घिमिरेकाे नाम पर्न गएकाेमा सच्याइएकाे छ – सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment