Comments Add Comment

पुनर्बिमाको लाइसेन्सका लागि चार कम्पनीले दिए निवेदन

४ जेठ, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनी सञ्चालन अनुमति (लाइसेन्स) को माग गर्दै चार कम्पनीहरुले निवदेन दर्ता गराएका छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चार कम्पनीको निवेदन परेको पुष्टि गरे ।

नयाँ पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने भन्दै नियामक निकाय बिमा समितिले वैशाख दोस्रो साता आवेदन खुला गरेको थियो । लाइसेन्सका लागि निवेदन दिन भोलिसम्मको समयसीमा तोकिएको छ । हाल मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ ।

कम्तिमा दुई वटा पुनर्बिमा कम्पनी आवश्यकता परेको भन्दे बिमा समितिले आवेदन खुला गरेको हो । नयाँ पुनर्बिमा कम्पनीको आवश्यकताका विषयमा समितिले अध्ययन समिति बनाएको थियो । अध्ययन समितिको सुझाव समेत समेटेर लाइसेन्स दिनका लागि ा समितिले आवेदन खुला गरेको बताएको थियो ।

बिमा समिति श्रोतका अनुसार काठमाडौं रि इन्स्योरेन्स, अन्नपूर्ण रिइन्स्यारेन्स र प्रुडेण्सियल रि इन्स्यारेन्स र हिमालय रिइन्स्योरेन्सले लाइसेन्स माग गर्दै निवेदन दिएका छन् । तर बढीमा एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिने समितिले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

समितिले नयाँ पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिने चर्चासँगै व्यावसायिक घरानादेखि बिमा क्षेत्रमै आवद्ध रहेका व्यक्तिहरुले पुनर्बीमा कम्पनी खोल्न सक्रियता देखाउँदै आएका छन् । तर क्रश होल्डिङ हुने गरी यस अघि नै पुनर्बिमा कम्पनीमा लगानी रहेकाहरुले भने प्रस्ताव पेश गर्न नपाउने बिमा समितिले बताएको छ ।

यो निर्णयले आवेदन दर्ता गर्ने तयारीमा बसेका केहि व्यवसायी घरानालाई असहज बनाइदिएको छ । प्रस्तावित पुनर्बीमा कम्पनीहरुमध्ये काठमाडौं रिमा बिमा क्षेत्रका विज्ञहरुको समूह छ । प्रस्तावित उक्त कम्पनीमा बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप साह, बिमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको छ ।

प्रस्तावित कम्पनीहरुको टिममा रहेका साह बैंकिङ तथा बिमा क्षेत्रमा राम्रो ज्ञान भएका व्यक्ति हुन् । उनी नियमनकारी निकायको अध्यक्षमात्रै होइन मुलुककै जेठो बैंक नेपाल बैंक र कृषि विकास बैंकको समेत प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।

टिमका अर्का सदस्य भट्टराई बिमा कम्पनीको नेपालकै पहिलो सीईओ हुन् । यस अघि बिमा समितिको अध्यक्षको दौडमा रहेका भट्टराई अहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रहेका छन् । चार्टर अकाउन्टेन्ट गुरागाईं नेपालको एकमात्रै पुनर्बीमा कम्पनीका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

उनी चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष र पूँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका पूर्व सञ्चालक समेत हुन् । अर्का सदस्य भट्ट पनि बैंक तथा बिमा क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् ।

उनी ज्योति विकास बैंक, आईएमई लाइफ र रेमिट टू नेपालका पूर्वसीईओ हुन् । प्रस्तावित यस कम्पनीका योजनाकार भट्टराई लगानीको प्रतिबद्धता समेत आइसकेको बताउँछन् । उनका अनुसार यस कम्पनीमा विदेशी साझेदारसँग पनि कुरा भइसकेको छ ।

उता अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्योरेन्समा भने विज्ञ भन्दा धेरै व्यावसायिक घरानाका व्यक्तिहरु रहेको बुझिएको छ । मंगलबारमात्रै हिमालय रिइन्स्यारेन्सले पनि निवेदन दर्ता गराएको छ । यी कम्पनीहरुको प्रस्तावित सञ्चालक तथा संस्थापकहरुमा कोको छन् भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment