Comments Add Comment

वीर अस्पतालमा बिरामीको कन्तबिजोग

Bir-hospital-(1)

१४ साउन, काठमाडौं । बुधबार दिउँसो वीर अस्पताल अगाडि खिया लागिसकेको फलामे बेच्नमा एक महिला पीडा सहन नसकेर छट्पटाइरहेकी थिइन् । लुगाको पोको सिरानी लाएर पल्टिरहेकी पीडाले छट्पटाइरहँदा उनकै अगाडि हातमा कालो पट्टी बाँधेका चिकित्सकहरु सेतो पोशाकमा गफ चुट्दै घुमिरहेका थिए ।

धादिङबाट नाति विकासको हात समातेर वीर अस्पताल पुगेकी ५५ वर्षीया खुसीमाया परियार उपचारका लागि वीर अस्पताल पुग्दा चिकित्सकले हप्ता दिनपछि आउन उर्दी जारी गरे । आवासीय चिकित्सकमात्र आन्दोलित भनिएको वीरका अन्य चिकित्सले पनि भर्ना हुन आएका विरामीलाई फर्काए ।

‘चितवनमा उपचार सम्भव नभएपछि निको हुने आशमा वीर अस्पताल आएँ, यहाँ त पानी खानु, चाँडै निको हुन्छ भनेर फर्काइदिए’, खुसीमायाले अनलाइनखबरसँग भनिन्, ‘पानी खानु भन्दै दुई प्याकेट जीवनजल दिएर हप्ता कटेपछि आउनू भने, औषधिसमेत नदिँदा अहिल्यै प्राण जालाजस्तो भइसक्यो ।’

हजुरआमा रोइकराई गरिरहँदा नाति विकास वीर अस्पतालतर्फ हेर्दै टोलाइरहेका थिए । ‘वीर अस्पतालमै उपचार हुन्छ भनेर हजुरआमालाई लिएर आएँ’, विकासले भने, ‘अब अन्त कहाँ लिएर जानु ?’

पासाङको पनि उस्तै पीडा

Bir-hospital-(9)दाहिने खुट्टाको बुढीऔंलाबाट शुरु भएको घाउ फैलिएपछि उपचार खोज्दै आएका मकवानपुरको हेटौंडाका पासाङ तामाङ वीर अस्पतालमा भर्ना भएको दुई दिन भइसक्यो ।

हेटौंडामा उपचार नभएपछि वीर अस्पताल आइपुगेका पासाङ घाउ दुखेर पीडा भएपछि अस्पताल प्राङ्गण बसेर तड्पिरहेका थिए । बेडभर्ना गरेपनि डाक्टरहरुले खुट्टाको उपचार नगरिदिएपछि उनको ब्यथा झनै बढेको छ । ‘औषधि पनि दिँदैनन्, उपचार पनि थालेनन् । उपचारका लागि खुट्टाको एक्सरे गर्नुपर्छ भनेका छन्’, पासाङले सुनाए, ‘आएकै दिन जाँच गरेका थिए, एक्सरे गर्न अझै दुई हप्ता कुर्नु भनेका छन् ।’

बेडमा बस्दा पनि उपचार नभएपछि उनी पीडा सहन नसकेर बैशाखीको सहारामा यताउता गरिरहन्छन् । ‘डाक्टरले उपचार थालेनन्, पीडा झन बढेको छ’, पासाङले भने, ‘एकैठाउँ बस्दा सहीनसक्नु हुन्छ, यताउता हिँडिरहृयो भने दुखाई कम भएकाले बाहिर आएको हुँ ।’

बिरामी धमाधम फर्कंदै

वीर अस्पतालमा भर्ना हुन पुगेका उनीहरुजस्तै अन्य विरामी पनि उपचार नपाएर फर्किरहेका थिए । अस्पतालको मूलगेटका एक सुरक्षागार्डले अस्पतालमा आउने विरामीको संख्या आधा घटेको बताए । ‘विरामी आउन त आउँछन् हजुर तर उपचार नपाएपछि निराश हुँदै फर्किन्छन्’, ती सुरक्षागार्डले भने, ‘अहिले त यहाँ आउने विरामीको संख्या आधा भन्दा बढी घटेको छ ।’

डाक्टर भन्छन्- अस्पतालै बिरामी छ

आन्दोलनरत आवासीय चिकित्सक डा. लक्ष्मण बास्कोटाले भने आफूहरुले अस्पतालको सबै सेवा बन्द नगरेको बताए । आवासीय चिकित्सकको मात्र आन्दोलन भएकाले अन्य चिकित्सकहरु बिरामीको उपचारमा लागिरहेको उनले दाबी गरे ।

‘यहाँका दुई सय ८० जना आवासीय चिकित्सक आन्दोलनमा छौं । आन्दोलन कसैका विरुद्ध होइन, थला पर्न लागेको वीर अस्पताल बचाउन हो’, डा. बास्कोटाले भने, ‘देशभरको रेफरल सेन्टर आफैं थला पर्दा बिरामीको बिजोग भएको छ, ठूलो आशाले यहाँ आएका विरामी वीरको दुदर्शा देखेर निराश हुनुपर्ने अवस्था छ ।’

अस्पतालमा सिटी स्क्यान नहुँदा बिरामीले हुर्मत व्यहोर्नुपरेको डाक्टर बास्कोटाको तर्क छ । ‘यहाँको सिटी बिग्रेको भन्दै हाम्रै साथीहरुले विरामीलाई निजी क्लिनिकमा पठाउने काम भएको छ’, डा. बास्कोटाले भने, ‘यहाँ सि आर्म हुनुपर्‍यो । अर्थोसेन्टर भएकाले डिजीटल एक्सरे सुविधा चाहिन्छ ।’

आवासीय चिकित्सकहरुले आफूहरुको आवासै नभएको बताउँदै राति ड्युटी गर्दा समस्या भएको बताएका छन् । चिकित्सकहरुले आफूहरुलाई आवास नबनाइदिएकाले राति ड्यूटी गर्नै कठीन भएको तर्क गर्दै आएका छन् ।

आन्दोलनरत चिकित्सकहरुले उपचारका लागि आउने बिरामीलाई नर्फकाएको दाबी गरिरहँदा धेरै विरामीले उपचार नपाएर फर्किरहेका देखिन्थे । इमर्जेन्सी, ओपिडी, विरामी भर्नासहितका सेवा जारी रहेको उनीहरुको दाबी थियो । सरकारले अहिलेसम्म आफूहरुको आन्दोलनबारे केही नभनेकाले माग पूरा नभएसम्म पछि नहट्ने निष्कर्श आवासीय चिकित्सकहरुको छ ।

आवासीय चिकित्सकहरुले वीर अस्पतालमा पूर्ति नभएका भिसी, रेक्टर र रजिष्ट्रारको पदपूर्ति गरेर उनीहरुलाई अस्पताल सुधार्न मौका दिनुपर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment