Comments Add Comment

व्यंग्य : एउटा अर्को आत्मकथा

श्याम बस्नेत  

बजारमा आजभोलि आत्मकथाहरू बग्रेल्ती निस्कन थालेका छन् । उहाँलाई पनि एउटा आत्मकथा लेख्ने रहर उहिले नै लागेको थियो रे तर कुन्नि किन हो संकोच लागेर आयो रे । आँटै आएन भन्नुहुन्छ । तर, अब उहाँका सारा संकोचहरू दूर भए रे  । आँटका भर्यांङ्गहरू खडा भए रे । त्यही भरयांग चढेर पाठकसमक्ष उहाँको आत्मकथाको ठेली आउँदो साता बजारमा आउँदैछ ।

पुरै आत्मकथा आउन अझै दुइचार दिन लाग्ने भएकोले त्यसका केही रोचक अंशहरू मात्र प्रस्तुत गर्ने जमर्को गरेको छु । पाठकवृन्द! यो उहाँको साँचो आत्मकथा हो  । सत्य घटनामा आधारित आत्मकथा हो । खूद आफैंले भोगेको आत्मकथा हो । सोह्रै आना सत्य आत्मकथा हो । धरोधर्म भाकै घट्ना हो । यति भन्दा पनि पत्याउनु हुन्न भने छाती चिरेर राम सीता देखाइदिन पनि तयार हुनुहुन्छ लेखकज्यू ।

 प्रमाण त न मसंग न उहाँसंग  केही पनि छैन । आत्मकथा लेख्दा प्रमाण जरुरी पनि हुँदैन भन्ने सर्वव्यापी मान्यता छ । त्यसैले प्रमाणतिर नलागी  उहाँको पुस्तकका महत्वपूर्ण अंशहरू उहाँकै भाषामा पढौं –

 कुरा २०६१ माघ १९ पछि को हो । एक दिन राजा ज्ञानेन्द्र ले मलाई भेट गर्न बोलाए । किन भनेर मैले सोधें । राजाले भने- ‘तपाईंसंग समसामयिक राजनीतिक विषयमा सल्लाह लिनुछ भने ।’
मैले भने- ‘तपाइलाई मेरो सल्लाह चाहिएको भए मेरो घरमा गोप्यरूपले आउनुस् ।’

मैले यति के भनेको थिएँ राजा रिसाएर घ्याप्पै फोन राखे । तर, बेलुका सात बजेतिर ऊनी मेरो घरमा दलबलसहित  आए, तर गोप्य रूपमा ।

मैले सीधा सीधा आँखा जुधाएर हात नजोडी भने- ‘ हेर्नुस् महाराज तपाईंको माघ १९ को  कदमलाई मैले स्वागत गरेकै हो । तर, अब तपाई आफैं एक्लै हिंड्ने चेष्टा गर्न थाल्नु भा’छ  । दलहरूलाई साथमा लिएर हिंड्नुस् कमसे कम काँग्रेस र एमालेलाई । अनि मात्र यो देशमा शान्ति आउँछ ।’

त्योबेला राजालाई आफ्नै घरमा बोलाएर यति कुरो भन्नु भनेको मुसाले बिरालोको घाँटीमा घन्टी बाँध्नु भन्दा सारो थियो । त्यो काम मबाट भयो, त्यो पनि राजाकै दलबल सामू । मेरो सबैले त्यतिखेर प्रशंशा गरे । साहसी,निडर, लोभ-लालचबाट मुक्त, नेपाल आमाका सच्चा सपूत । के-के भने के-के ।

०६२ सालको कार्तिक महिनामा गिरिजाप्रसाद कोइराला मैले बोलाएपछि मलाई भेट्न मेरै निवासमा आउनुभो । उहाँ थोरै हताश निराश रहेको मैले पाएँ । आन्दोलनले गति नलिएकोले हुनसक्छ उहाँको यस्तो मनोदशा भएको । कुरा चल्दै जाँदा उहाँले मसंग दाइ, यो देशमा जनआन्दोलनको उभार ल्याउन के गर्नु पर्ला भनेर सोध्नुभयो । खास सोध्नुपर्ने मैले थियो, तर उहाँले नै सोध्नु भो । मैले सरासरी भन्दिएँ- ‘हेर्नुस् गिरिजाजी ! राजाले प्रजातन्त्र माथि हमला गरेका छन् । तपाईहरू सात दलको स्थिति कान्ला मुनिको भ्यागुतो भन्दा केही फरक छैन । बुरुक्क उफ्रिने डिलमुनि झर्ने फेरि उफ्रिने अनि डिलमुनि झर्ने । त्यति हो तपाईहरूको काम ? उनलाई सबक सिकाउने हो भने  युद्धरत माओवादीलाई समेत समेटी नयाँ ढंगबाट जनआन्दोलनको उभार ल्याउनु पर्छ । अरू विकल्प छैन ।’

मेरो हप्काइ मिश्रित आवाज सुनेपछि गिरिजाबाबु ‘गुड आइडिया’ भन्दै उत्साहित हुनु भो । शायद यसअघि उहाँलाई यस्तो सल्लाह दिने आँट कसैले गरेका थिएनन् । त्यसपछि हामी दुबैले संगसंगै कफी पियौं । यो घट्ना पछि नै हो उहाँले बाह्रबुँदे सहमति  गरी माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मूलधारमा ल्याई निरंकुशताको अन्त्य गर्न सक्षम हुनु भएको । तर, उहाँले कहिल्यै पनि मलाई धन्यवाद दिनु भएन । खैर, मैले धन्यवाद पाउन पनि त यस्तो सल्लाह दिएको थिइँन नि । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको मायाले नै मलाई सदैव घचघच्याइ रह्यो ।

दोस्रो जनआन्दोलन सफल भएपछिको संविधानसभाको चुनाव घोषणा हुँदै स्थगित हुँदै गएको अवस्था थियो । यतिकैमा २०६४ चैत्र मसान्तमा चुनाव हुने तय भयो । संशय संशयका बीच पनि चुनाव हुने नै भयो । २०६४  फागुन महिनाको कुरा हो । ठूला सबै दलले आफ्नो दलको प्रष्ट बहुमत आउने घोषणा गरिसकेका थिए । यसमा काँग्रेस एमालेहरू नै थिए । माओवादी त्यो घोषणा गर्न डराइरहेको थियो । मैले अध्यक्ष प्रचण्डलाई फोन लगाएँ । ‘तपाईंसंग जरूरी काम छ भेट्न आउन सक्नुहुन्छ ?’ भनेर सोधें । उहाँले भन्नु भो – ‘म भोलि बिहान सात बजे तपाईंकै घरमा ! हुन्छ दाइ ?’ मैले हुन्छ भनिदिएँ । त्यसपछि भोलिपल्ट बिहानै उहाँ मलाई भेट्न मेरो घर आउनु भो । मैले अगाडि नै कफीको अर्डर दिइसकेको थिएँ । हामी दुवै कफीसँगै गफिन थाल्यौं । शुरुवात मैले गरें र भनें- ‘हैन अध्यक्षज्यू एमाले काँग्रेस दुइटैले चुनावमा हाम्रो बहुमत आउँछ भनेर घोषणा गरिसके । अनि तपाईं चैं खाली वाइसियललाई मार्च पास गराएर मात्रै हिंड्नु हुन्छ । चुनाव आइसक्यो ।’

शायद मेरो कुराको भेउ पाउन सक्नु भएन उहाँले । मलाई सोध्नु भो- के गरौँ त ? प्रचार-प्रसार, माइकिंग, आमसभा, घरदैलो सबै त गरिरहेकै  छौं । तिनले पनि त्यही नै गरेका छन् । एमाले काँग्रेसले पनि त्यहाँ भन्दा बढी त अरू त केही गरे जस्तो लाग्दैन ।’

मैले भनें- ‘हेर्नुस् अध्यक्षज्यू तपाइँको तयारी कमजोर भो मैले भनेकै होइन । खाली तपाईंको एउटा घोषणा मात्र बाँकी भो यो चुनावमा ।’

‘घोषणै घोषणा गर्दै यत्रा यत्रा उपलब्धी हासिल गरिसकेको मान्छेलाई के घोषणा बाँकी छ भन्नु भएको तपाईंले ?’ उहाँले छक्क पर्दै मलाई सोध्नु भो ।

मैले भने- ‘यसपालि बहुमत नभए पनि सबैभन्दा ठूलो दल तपाईंकै दल हुन्छ । हो यही कुरा तपाईं घोषणा गरिदिनुस्। त्यो राष्ट्रपतिवाला घोषणामा यसले सुनमा सुगन्धको काम गर्छ । अनि हेर्नुस् बैशाखको पहिलो हप्ता ।’

‘हो र भन्या ? यस्तो त अलि बढी नै हुन्छ कि ?’ हल्का निधार खुम्च्याउनु भो अनि सङ्कोच मान्दै भन्नु भो ।

तपाइँ घोषणा मात्रै गर्नुस् बाँकी काम मेरो भो भनेर आश्वस्त तुल्याउन खोजें । किनभने मलाई स्पष्ट थाहा थियो त्यो चुनावमा काँग्रेस एमालेको शर्मनाक पराजय हुन्छ अनि माओवादीको बहुमत आउँछ । नभएपनि सबैभन्दा ठूलो दल उही नै हुन्छ भनेर । त्यसपछि उहाँले पनि आगामी चुनावमा आफ्नो दलले बहुमत ल्याउने घोषणा गर्न थाल्नु भो ।नतीजा के भो, देश दुनियाँलाई थाहा छ ।

सेना समायोजन कसरी गर्ने भनेर नेताहरूको टाउको खाइरा बेला थ्यो त्यो । सही तिथिमिति त सम्झन सकिँन तर त्यति बेला प्रधानसेनापति एकजना जनजाती थिए । ऊनीसंग मेरो खास चिनापर्ची पनि थिएन । हाइ हल्लो पनि थिएन । मेरा एकजना ब्रिटिश आर्मी साथी छन् । उनले छोराको बिहे नेपालमै गर्ने भएछन् । निम्ता मलाई पनि गरे अनि ती सेनापतिलाई पनि गरेका रहेछन् । त्यो पार्टीमा मेरा ब्रिटिश आर्मी साथीले ऊनीसंग परिचय गराइदिए । हो त्यही परिचय नै नेपालको शान्ति प्रक्रियाको कोशे ढुङ्गो हुन पुग्यो भनेर लेख्न पाउनु मेरो अहोभाग्य हो ।

त्यो परिचय पछि उनको र मेरो भेट बाक्लिन थाल्यो । सेना समायोजन कसरी गर्ने भन्ने कुराले उनको दिमाग खाइराको स्थिति रहेछ । मैले उनलाई प्रष्टसंग सोधें- सेनाको मुड पहिलाको जस्तै निषेधकारी हो कि अलिकति लचकता अपनाउनु हुन्छ ?

उहाँले भन्नु भो- ‘पहिलाको कुरै नगर्नुस् । सेना अहिले लचकताकासाथ प्रस्तुत हुनेछ ।’

सेनालाई अर्को कुनै बिभाग वा निर्देशनालय वा महानिर्देशनालय खोल्नमा कुनै आपत्ति छ ? यति मैले के सोधेको थिएँ, मैले कुरा बुझें भन्दै उहाँ त खाँदाखाँदैको चिया समेत छोडेर हिंड्नु भो । शायद मन मनै यूरेका भन्दै चिच्याउनु भो होला । त्यही मोडालिटी अनुसार नै आज सेना समायोजन भाछ । देश द्वैध सेनाको स्थितिबाट मुक्त भाछ ।

अर्को एउटा प्रसंग । पहिलो संबिधानसभा चुनावमा थिलथिलो हुनेगरी हारेका माधवकुमार नेपाल एकदिन मकहाँ आए । अनुहारबाटै ऊनी द्विविधामा रहेको प्रष्टै देखिन्थ्यो । पत्रपत्रिकाले पनि उनलाई सभासद्को अफर आको तर दुविधामा भाको कुरा लेखिराख्या थिए । उनको अनुहार देख्ना साथै उनलाई सीधै त्यो पद स्वीकार गर्न सल्लाह दिएँ । प्रचण्ड को अफर भएर के भो त ? पछि उसैलाई सिध्याउनु पर्छ भनेपछि कानसम्म मुख पुर्याएर हास्तै विदा भए । त्यही सल्लाह उनको भाग्य खोल्ने ढोका सावित भयो ।

यदि मेरो सल्लाह उनले नमानेका भए … … .. मैले लेख्नै पर्दैन के हुन्थ्यो । पछि प्रधानमन्त्री हुनेबेलामा पनि संसदीय दलको नेता त झलनाथ हुन् उनलाई पो बनाउनु पर्छ । कहाँ यो दुई दुई ठाउँबाट हारेको मान्छेलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा पो निकाल्न थाले । मैले पनि आफ्नो अडान छोडिँन ।नछोड कान्छा, यही हो मौका भन्ने लागिरह्यो । जसको कारण सात सात महिना सम्म त कामचलाउ नै खाए ।

राष्ट्र, रास्ट्रियता, सार्वभौमिकता, रास्ट्रिय अखण्डता, लोकतन्त्र नै मेरो जीवनका आदर्श हुन । ती बाहेक लोभ लालच मोहमा कहिल्यै फस्न जानिएन । मेरो कर्तव्यको अगाडि स्वर्गैकै टुक्रा दिन्छु भन्यो भने पनि मलाई त्यो  अस्वीकार्य हुन्छ । विदेशी आक्रमणबाट देशलाई  बचाउन मैले खेलेको भूमिकाबाट नै कालापानीबाट विदेशी सेना भागेका हुन भन्ने कुरा जग जाहेरै छ । सुस्ताको त्यत्रो हजारौं हजार बिघा जमीन पनि मेरै पहलमा फिर्ता आको हो भन्ने कुरा त लेख्नै पर्दैन । मेरो नाम सुन्दै विदेशी सेनाको सातो अझै पनि जान्छ ।

 यो आत्मकथाका लेखक को हुनुहुन्छ, त्यो पत्ता लाउने जिम्मा हजूरहरूलाई नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment