+
+
Shares

तीन नेताले बनाए माघ ८ मै संविधान आउने अाधार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते १८:३३

sitaula-baburam-bisnu
५ भदौ, काठमाडौं । प्रमुख राजनीतिक दलका पछिल्ला छलफल र पहलकदमीबाट आगामी माघ ८ गते मुलुकले नयाँ संविधान पाउने संकेत देखिन थालेको छ ।

राज्यको पुनसंरचनाका विषयमा कांग्रेस र एमाले लचिलो बन्ने र शासकीय स्वरुप तथा निर्वाचन प्रणालीमा एमाओवादी लचिलो बन्ने वातावरण निर्माण भएपछि संविधान बन्ने आशा पलाएको हो ।

यसबीच कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानबाट पछि हट्न सक्ने संकेत गरेका छन् । उनले कांग्रेस एमाले ५/७ प्रदेशका अडानबाट पछि हट्नुपर्ने बताएका छन् ।

शासकीय स्वरुपमा माओवादी लचिलो देखिएपछि कांग्रेस एमालेभित्र संघीयताको स्वरुपका बारेमा छलफल शुरु भएको छ ।

अवसर गुमाउनु हुँदैन : प्रधानमन्त्री

कांग्रेस सभापतिसमेत रहेका सभापति सुशील कोइरालाले बुधवार आफ्नै निवास बालुवाटारमा पार्टी नेताहरुसँग छलफल चलाए । ‘यौ मौकालाई कांग्रेसले गुमाउनु हुँदैन, कांग्रेसकै नेतृत्वमा संविधान जारी गर्ने अवसर फेरि आउँदैन’ कोइरालाको भनाइ थियो ।

उनले एमाओवादी संविधान निर्माणका लागि जिम्मेवार देखिएकाले कांग्रेसको अडान के हुने भन्ने टुंगो लगाउन आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सभासद अर्जुननरसिंह केसीले बताए ।

ओलीको सक्रियता
एमाले अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यहरुसँग समूहगत छलफल गर्दै राज्य पुनसंरचनाको विषयमा पार्टीको बटमलाइन के बनाउने भन्ने छलफल गरेका छन् ।

कांग्रेस र एमाले एकल जातीय पहिचानका आधारमा राज्य पुनसंचरना गर्ने कुराको विपक्षमा छन् । पछिल्लो समयमा एमाओवादी लगायत अन्य दलले पनि एकल जातीय भनेका छैनन् ।

प्रदेशहरु एकल जातीय नहुने र मधेशमा एउटैमात्र प्रदेश नहुने तथा उत्तर दक्षिण जोडिएका प्रदेश हुनुपर्ने तीन बटमलाइनका आधारमा राज्य पुनसंरचनामा लचिलो बन्ने संकेत कांग्रेस एमालेले गरेका छन् ।

त्यो अवस्थामा शासकीय स्वरुपमा एमाओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा सुधारिएको संसदीय लोकतन्त्रको पक्षमा उभिन तयार भएको छ ।

यसै विषयमा छलफल गर्न अध्यक्ष अाेलीले अाजै पदाधिकारी बैठक बोलाएका छन् ।

तीन नेताको भूमिका

संविधानसभाका प्रमुख तीन समितिका सभापतिहरु बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला र बिष्णुप्रसाद पौडेलले आपसमा समन्वय गरेर संविधानका अन्तरवस्तुका विवादहरुलाई साँघुरो बनाउँदै लगेका छन् ।
तीन पार्टीका तीन प्रमुख नेताले नेतृत्व गरेका समितिमध्ये एमाले नेता पौडेलले अघिल्लो संविधानसभाका अभिलेख अध्ययन तथा निक्र्यौल गरी पठाइसकेका छन् ।

एमाओवादी नेता बाबुराम भट्टराईले सबै शक्तिसँग विवादित विषयमा छलफल गरी सकारात्मक वातावरण निर्माण गरेका छन् ।

बाबुरामले विवाद टुंग्याएर दिएपछि एक महिनाभित्रै संविधानको प्रारम्भिक मस्यौदा तयार गर्न आफ्नो समितिले सबै तयारी पूरा गरिसकेको मस्यौदा समितिका सभापति सिटौलाले बताए ।

जुन विन्दुमा कुरा नमिलेर अघिल्लो संविधानसभा भंग भएको थियो, त्यही बिन्दूबाट छलफल चलाउन दलहरु सहमत देखिएकाले संविधान बन्नेमा आफू विश्वस्त रहेको संवैधानिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बताएका छन् ।

एमाले नेता पौडेलले धेरै विषय भित्रभित्रै मिलिसकेको र केही विषयमा शीर्षतहमा छलफल चलिरहेकाले माघ ८ मा संविधान जारी हुने निश्चित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?