Comments Add Comment

प्रधानमन्त्री राहत कोषमा ३४ करोड २८ लाख बाँकी

२३ भदौ, काठमाडौं । देशैभरि बाढी र पहिराेबाट पीडित बनेकाहरूले उचित राहत नपाएकाे गुनासाे गरिरहेका बेला सरकारले भने विभिन्न दाताहरूले दिएकाे रकमबाट काेषमा हाल ३४ कराेड २८ लाख रूपैयाँ रहेकाे तथ्य सार्वजनिक गरेकाे छ ।

क्षतिकाे विवरण

तीन महिनाको अवधिमा देशका विभिन्न स्थानमा बाढी पहिरोमा परी २ सय ६० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी २ सय ५४ जना बेपत्ता भएका र उनीहरुलाई जीवित भेटाउने सम्भावना नरहेको सरकारले प्रष्ट पारेको छ ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको सोमवारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले पेश गरेको विवरणअनुसार बाढी पहिरोमा परी ४२ जिल्लामा मृत्यु हुने र वेपत्ता हुनेसमेत गरी ५ सय भन्दा बढीको मानवीय क्षति भएको छ। १ सय ६० घाइते भएका छन् ।

सरकारी तथ्यांक अनुसार ८ हजार ४ सय ८८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।  आंशिक क्षति भएका घरको संख्या २३ हजार भन्दा बढी छ । यस क्रममा ७ अर्ब ७८ करोड ८५ लाख ६७ हजार रुपैया बराबरको भौतिक क्षति भएको अनुमान सरकारको छ ।

समितिका सभापति शेरधन राईले बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सरकारले उपलव्ध गराएको बताए । उनले विवरण हेरेपछि राहत नपुगेका ठाउँमा उपलव्ध गराउन सरकारलाई निर्देशन दिने बताए ।

प्रधानमन्त्री साढे २ घण्टा समितिमा

समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम पूरै समय अर्थात अढाइ घण्टा बसेर सभासदका कुरा सुनेका थिए । सभापति राईले भने-प्रधानमन्त्री विरामीको पर्वाह नगरी पूरै समय बसेर विवरण दिनुभयो र अरुका कुरा पनि सुन्नुभयो ।’

कति बाँडियाे राहत ?
सरकारले समितिलाई दिएको विवरण अनुसार हालसम्म बाढी पहिरो पीडितलाई नगद राहत- ६ करोड ७ लाख १८ हजार ५ सय २७ रुपैँया बितरण गरिएको छ ।

त्यस्तै खाद्यान राहत- ६ करोड १४ लाख ६० हजार रुपैंयाँ बराबरको तिवरण गरिएको र गैर खाद्यमा लत्ताकपडा लगायतका सामाग्री ४ करोड ७५ लाख ८७ हजार ५ सय रुपैँयाको वितरण गरिएको सरकारले जनाएको छ ।

अब १ लाख ३२ हजार ५ सय जनालाई दश दिनलाई खान पुग्ने खाद्यान्न बचत रहेको जानकारी प्रधानमन्त्रीले गराएका छन् । त्यस्तै लत्ता कपडाका लागि राहतवापत ११ करोड २६ लाख १० हजार रुपैयाँ बराबरकाे सामाग्री जिल्लामा निकासा भइसकेको छ ।

प्रधानमन्त्री कोषमा ३४ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा भदौ १९ गतेसम्म प्राप्त ३४ करोड २८ लाख रुपैयाँ नगद रकम रहेको छ । यो रकम बिभिन्न व्यक्ति र संस्थाबाट प्राप्त भएको प्रधानमन्त्रीले जानकारी दिए ।

राहतका लागि गृहमन्त्रालयमार्फत दुईपटक गरी २६ करोड २६ लाख निकासा भएको जानकारी समेत आएको सभापति राईले अनलाइनखबरलाई बताए ।

तर, सरकारले काेषमा कराेडाैं बचत रहेकाे जनाए पनि पीडितले भने उचित राहत नपाएकाे गुनासाे गर्न छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment