७ मंसिर, काठमाडौं । ढुंगा, गिट्टी, बालुवालगायत खानी तथा खनिज पदार्थको संरक्षण र उत्खननमा संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र अधिकार क्षेत्रबारेको प्रश्न संसदीय समितिमा उठेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको छलफलमा यो विषय उठेको हो ।
संविधानले खानी तथा खनिज पदार्थसम्बन्धी विषयलाई तीनै तहको अधिकार सूचीमा राखेको छ । खनिज पदार्थको उत्खनन, अन्वेषण तथा व्यवस्थापनसँग सम्बन्धित अधिकार संघ, प्रदेश र स्थानीय तहबीच बाँडिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी तयार विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यसमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुनुपर्ने सुझाएका छन् ।
भूगर्भशास्त्री डा. कविराज पौडेल भन्छन्, ‘हामीसित ढुंगा, गिट्टी, बालुवाको ठूलो भण्डार छ । त्यसलाई उपयोग गर्ने कुरा खानी विभागमा आएर ठोक्किएर मात्रै भ्याउँदै भ्याउँदैन । यसकारण यसको विस्तार भएर अधिकार स्थानीय तहसम्म जानैपर्छ ।’
हालको खानी विभाग संघ सरकार मातहत छ । यो विभागमा सीमित जनशक्ति हुने र स्थानीय तह र प्रदेशले अधिकार नपाउने वा काम गर्न नसक्ने हो भने स्रोतको सही उपयोग गर्न नसकिने उनको भनाइ छ ।
‘स्थानीय सरकारलाई इम्पावर गर्ने भनिएको छ । तर घुम्दै फिर्दै विभागमै आएर ठोकिन्छ,’ डा. पौडेल थप्छन्, ‘प्रस्तावित विधेयकमा पनि स्थानीय तहमा दक्ष जनशक्ति नभएमा वा उनीहरूको अनुरोधमा विभागमा भनिने छ भनिएको छ । यसले प्रष्ट गर्दैन । अब प्रष्टसित प्रदेश र स्थानीय तहमा जानुपर्ने बेला भयो ।’
अर्का भूगर्भशास्त्री डा. पुरुषोत्तमप्रसाद अधिकारी पनि ढुंगा, गिट्टी र बालुवाको उपयोग अधिकार संघमा केन्द्रिकृत नगर्न सुझाउँछन् ।
‘रोडा, ढुंगाको इस्यु खानी विभागले मात्रै सम्बोधन गर्न सक्दैन,’ उनले भने । तीन वटै सरकारले प्राकृतिक स्रोतको उपयोग गरेर आफूलाई अगाडि बढाउने समान अधिकार पाउनुपर्ने र यही मर्मअनुसार संविधानमा समेत व्यवस्था गरिएको उल्लेख गर्दै उनले थपे, ‘नेपालको रिसोर्स त्यही हो । त्यसलाई लिएर हामी अगाडि बढ्नुपर्छ ।’
डा. अधिकारीका अनुसार निर्माण सामग्रीका खानीको व्यवस्थापन, उत्पादन र आपूर्तिमा प्रदेश सरकारलाई सक्रिय भूमिका दिनुपर्छ । यसका लागि प्रदेशस्तरमा संस्थागत संरचना विकास गर्न उनको सुझाव छ ।
यस क्रममा उनले नेपालबाट भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बंगालदेखि बंगलादेशसम्म निर्माण सामग्री आपूर्ति गर्न सकिने सम्भावना औंल्याए ।
उनले भने, ‘बंगलादेशले आफ्नो कन्स्ट्रक्सनको लागि स्टोन अरू ठाउँबाट डलरमा किन्छ । जबकि, बंगलादेश र हाम्रोबीचमा २५ किलोमिटरको दुरी छ । यसकारण हामीले त्यहाँ रोडा, ढुंगाहरू सप्लाइ गर्न सक्छौं ।’
बंगलादेशको अलावा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा समेत नेपालबाट ढुंगा, गिट्टी, बालुवा पठाउन सकिने उनको राय छ । यस निम्ति तीन तहको अधिकारबीच स्पष्ट अधिकार बाँडफाँट र प्रष्ट संरचना बनाइनुपर्ने उनको आग्रह छ ।
‘सातै वटा प्रदेश वाइज कर्पोरेसन जस्तो बनाएर खानी सञ्चालन, उत्पादन र सप्लाइ गर्न आवश्यक छ । यो विषय हामीले २०४० सालदेखि उठाउँदै आएका छौं । सरकारले यसमा ध्यान पुर्याओस् ।’
उनका अनुसार निर्माण सामग्रीको खानी विकासलाई उत्खनन अनुमति दिने प्रक्रियामा सीमित नगरी उत्पादन, बजार, ढुवानी र औद्योगिक विकाससँग जोड्ने गरी ऐन बन्न आवश्यक छ ।
निजी क्षेत्रको भूमिका के ?
खानी क्षेत्रका परामर्शदाता अर्जुन भट्टराई खानी क्षेत्रको विकासका लागि रणनीतिक तथा महत्वपूर्ण खनिज पदार्थको पहिचान, व्यवस्थापन र उत्पादनसम्बन्धी कानुनी व्यवस्था स्पष्ट गर्न सुझाउँछन् । साथै, खनिजको खोज तथा उत्खननमा निजी क्षेत्रको भूमिका स्पष्ट गर्न आवश्यक देख्छन् ।
‘सरकारले मात्रै गर्नेभन्दा विकासको गति कम पर्न सक्छ । किनभने, हामीले देखिसकेका छौं, हेटौंडा सिमेन्टको स्थिति के छ ? उदयपुर सिमेन्ट उद्योगको स्थिति के छ ?,’ उनी भन्छन्, ‘रणनीतिक र सामरिक खनिज सबै सरकारले मात्रै उत्खनन गर्दा यसै रिजर्भ भएर रहन सक्छ ।’
रणनीतिक र सामरिक खनिजलाई छुट्टाछुट्टै वर्गीकरण गर्ने र यसमा कुन तहको सरकारले के गर्ने र त्यसमा निजी क्षेत्रको भूमिका पनि स्पष्ट गर्न उनको आग्रह छ ।
विज्ञहरूको सुझावलाई सरकारले स्वागत गरेको छ । प्रस्तावित विधेयकमा संघीय सरकार, प्रदेश र स्थानीय तहको जिम्मेवारीलाई विभाजन गरिएको बताउँछन् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत ।
‘यो विधेयक तर्जुमा गर्न धेरै ढिला भएको हो । संविधान जारी भइसकेपछि र संघीयता कार्यान्वयनमा आइसकेपछि धेरै ऐन–कानुनहरू फेरिए । तर हाम्रा मन्त्रालयका केही ऐन कानुनहरू फेरिन सकेका थिएनन् । त्यसमध्ये यो पनि एउटा हो,’ सहसचिव बस्नेतले संसदीय समितिको बैठकमा भने ।
यस क्रममा उनले प्रस्तुत विधेयकलाई संघीयता कार्यान्वयनको एउटा मूल मर्मसँग जोडेर हेरिएको बताए । ‘यो केन्द्रीकृत शासन प्रणालीकै रूपमा रहँदा जसरी हामीले खानी प्रशासन नियमन गरिराखेका थियौं । अब संविधानका अधिकार बाँडफाँट गर्नुपर्छ,’ उनले भने, ‘तीनै तहको एकल अधिकार र साझा अधिकार सूची कार्यान्वयन गर्ने सन्दर्भमा सकेसम्म मिलाउने प्रयास प्रस्तुत विधेयकमा गरिएको छ ।’
उनका अनुसार संघीय सरकारले उत्खननको काम गर्नेछ । स्थानीय सरकारले संरक्षण मात्रै गर्नेछन् । प्रदेश सरकारले अन्वेषणको काम गर्नेछ ।
स्थनीय सरकार सञ्चालन ऐन २०७४ जारी हुँदा त्यसमा साधारण निर्माणमुखी खनिजहरू परेका छन् । त्यहाँ परेको विषयलाई अर्को ऐनमा दोहोर्याउन आवश्यक नठानेर राखिएको उनले प्रष्टीकरण दिए ।
तर, विज्ञहरूले माग गरेअनुसार स्थानीय तह र प्रदेशको अधिकार सूचीमा रहेका खानी तथा खनिज पदार्थको व्यवस्थापनसम्बन्धी भूमिकालाई उनले स्पष्ट पारेनन् । बरु खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुने संवैधानिक व्यवस्था रहेको र यसअनुसार विधेयक प्रस्तुत गरिएको जवाफ दिए ।
साथै, खानी तथा खनिज पदार्थको व्यवस्थापन, उत्पादन र आपूर्तिमा निजी क्षेत्रको सहभागिताको प्रष्टताबारेको प्रश्नमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बस्नेत मौन रहे ।
विज्ञले खोजे लगानीको सुरक्षा
खानी तथा खनिज पदार्थको अन्वेषण र उत्खननमा लगानी आकर्षित गर्न कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाउनुपर्ने विषय पनि छलफलमा उठ्यो । खानी उद्योगको प्रकृति, भौगोलिक अवस्था, अन्वेषणको जटिलता र लगानीको आकारअनुसार अनुमति अवधि निर्धारण गर्नुपर्ने राय विज्ञहरूले राखे ।
तर, सरकारले खानीको अनुमति लिएर वर्षौंसम्म काम नगर्ने र क्षेत्र ओगटेर बस्ने प्रवृत्ति रोक्न चाहेको र यस निम्ति अनुमतिसम्बन्धी समयसीमा आवश्यक रहेको तर्क गरेको छ ।
भूगर्भशास्त्री डा. अधिकारी खानीको प्रकृति, भूगोल, पहुँच र खनिजको सम्भावित भण्डार पहिचान गर्न लाग्ने समय फरक हुने भएकाले अन्वेषण अवधि छोट्याउँदा समस्या हुनसक्ने बताउँछन् ।
‘कतिपय खानी क्षेत्र दुर्गम स्थानमा छन् । त्यहाँ पुग्न सडक तथा अन्य पूर्वाधार उपलब्ध नहुन सक्छन्,’ उनी भन्छन्, ‘कतिपय क्षेत्रमा भूगर्भीय अवस्था जटिल हुने भएकाले खनिजको भण्डार, गुणस्तर र उत्खननको आर्थिक सम्भाव्यता पहिचान गर्न लामो समय लाग्न सक्छ ।’
उनका अनुसार अन्वेषणका लागि अनुमति पाएपछि अध्ययन, परीक्षण, नमुना संकलन, भौगर्भिक विश्लेषण, सम्भावित भण्डारको मूल्यांकन र आर्थिक सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै खानी उत्खननमा लगानी गर्ने वा नगर्ने निर्णय गर्न सकिन्छ ।
अन्वेषण पूरा गर्न पर्याप्त समय नदिँदा खानीको वास्तविक सम्भाव्यता पहिचान हुन नसक्ने र लगानीकर्ताले जोखिम बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।
खानी क्षेत्रका परामर्शदाता भट्टराई पनि खानी उद्योगको प्रकृति अन्य उद्योगभन्दा फरक हुने भएकाले विधेयकमा खानी उद्योगको स्पष्ट परिभाषा र सञ्चालनसम्बन्धी व्यवस्था आवश्यक रहेको बताउँछन् ।
‘कतिपय खनिज पदार्थको भण्डार सानो भए पनि त्यसको मूल्य उच्च हुनसक्छ । बहुमूल्य पत्थर जस्ता खनिजको उत्पादन परिमाण कम भए पनि लगानी ठूलो हुनसक्छ,’ उनी भन्छन्, ‘त्यसैले खानी उद्योगको वर्गीकरण दैनिक उत्पादनको परिमाणका आधारमा मात्रै गर्नु उपयुक्त हुँदैन ।’
खानी उद्योगको वर्गीकरण गर्दा लगानीको आकार, खनिजको प्रकृति, उत्पादनको मूल्य, प्रविधि र आर्थिक सम्भावनालाई समेत आधार बनाउनुपर्ने भट्टराईको सुझाव छ ।
‘विशेषगरी दुर्गम क्षेत्रमा रहेका खानीको उत्खनन गर्न पहुँचमार्ग निर्माण नै ठूलो चुनौती हुने गरेको छ,’ उनी भन्छन्, ‘खानी क्षेत्रमा सडक नहुँदा खनिज पदार्थ उत्खनन गर्न आवश्यक उपकरण पुर्याउन र उत्पादित सामग्री बजारसम्म लैजान कठिनाइ हुने गरेको छ ।’
खानी उद्योगको उत्खनन अनुमति अवधि पनि खानीको वास्तविक भण्डार, उत्पादन क्षमता, लगानी र उद्योगको आयुका आधारमा निर्धारण गर्नुपर्ने उनको प्रस्ताव छ । सबै खानीलाई एउटै निश्चित अवधिको अनुमति दिने व्यवस्था व्यावहारिक नहुने र यसो गरिए लगानी आर्कषित नहुने उनको भनाइ छ ।
उनका अनुसार अनुमतिप्राप्त खानी उद्योग सञ्चालन भइरहेका बेला सामान्य उजुरी, हल्ला वा सतही रूपमा देखिएको अवस्थाका आधारमा उत्खनन रोक्ने निर्णय गरिँदा लगानीकर्ताले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था पनि छ ।
‘उद्योगको लगानी, उत्पादन र रोजगारीमा असर पर्ने भएकाले खानी उद्योग बन्द गर्ने वा अनुमति रद्द गर्ने निर्णय गर्दा स्पष्ट आधार, प्रक्रिया र सुनुवाइको व्यवस्था हुनुपर्छ,’ उनले भने ।
भूगर्भशास्त्री डा. कविराज पौडेल खानी तथा खनिज पदार्थको अनुसन्धान, अध्ययन र शैक्षिक गतिविधिमा प्रशासनिक झन्झट कम गर्नुपर्ने सुझाउँछन् ।
प्रस्तावित विधेयकमा भूगर्भीय सर्वेक्षण, खनिज पदार्थको अध्ययन, भूकम्प मापन, अनुसन्धान, उपकरण प्रयोग तथा नमुना संकलनसम्बन्धी गतिविधिका लागिसमेत अनुमति आवश्यक पर्ने व्यवस्था छ ।
तर, यसले विश्वविद्यालयका विद्यार्थीले स्नातक, स्नातकोत्तर वा विद्यावारिधिका लागि खनिज पदार्थको अध्ययन गर्दा सानो नमुना संकलन गर्नेलाई अप्ठ्यारो पर्न सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।
लाइसेन्स ओगट्न नदिने सरकारी चाहना
सरकार खानी अन्वेषण तथा उत्खननका लागि अनुमति लिएर वर्षौंसम्म काम नगर्ने प्रवृत्ति रोक्न चाहन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत आफूहरू खानी क्षेत्रको उपयोग सुनिश्चित गर्न र वास्तविक लगानीकर्तालाई अवसर दिन अनुमति प्रणाली व्यवस्थित गर्नुपर्ने पक्षमा रहेको बताउँछन् । उनी भन्छन्, ‘खानी अन्वेषण तथा उत्खननका लागि अनुमति लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्तिले अन्य लगानीकर्तालाई अवसरबाट वञ्चित गराउँछ ।’
उनका अनुसार कतिपय कम्पनीले खानी क्षेत्रको अनुमति लिएर काम नगर्ने, क्षेत्र ओगटेर बस्ने र वास्तविक रूपमा खानी विकास गर्न चाहनेलाई प्रवेश गर्न नदिने अवस्था छ । त्यस्तो प्रवृत्ति रोक्न अनुमति प्रणालीलाई व्यवस्थित गर्ने र अन्वेषण तथा उत्खननका लागि निश्चित समयसीमा तोक्ने प्रस्ताव विधेयकमा गरिएको छ ।
खानी क्षेत्रको अनुमति लिने तर काम नगर्ने प्रवृत्ति रोक्न सरकारले समयसीमा निर्धारण गर्नु आवश्यक रहेको बस्नेतले बताए । सरकारले खानी उद्योगको विकासलाई प्राथमिकता दिए पनि अनुमति लिएर निष्क्रिय रहने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको तर्क छ ।
विधेयकमा प्रस्ताव गरिएको समयसीमा सबै खानीका लागि व्यावहारिक नहुने भए त्यसलाई छलफलबाट सुधार गर्न सकिने सहसचिव बस्नेतको जवाफ छ ।
प्रतिक्रिया 4