Comments Add Comment

आत्महत्या गर्ने मुलुकको सूचीमा नेपाल आठौं

प्रतिकात्मक तस्विर । स्रोतः एजेन्सी
प्रतिकात्मक तस्विर । स्रोतः एजेन्सी

२७ भदौ, काठमाण्डौ । विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिला भन्दा पुरुषहरु नै बढी छन् । ७० वर्ष कटेकाहरुमा बढी यो समस्या देखिएको छ ।
विश्वमा आत्महत्या सम्बन्धी उदेकलाग्दा तथ्यहरु भेटिएका छन् । स्वीटजरल्याण्डमा आत्महत्यामा सहयोग गर्ने र आत्महत्या गर्न पाउनुपर्ने (राइट टु डाइ)को वकालत गर्ने संस्थासमेत छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्याभन्दा बढी छ ।
विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधाजसोले आत्महत्या गर्ने गरेको संगठनले जनाएको छ ।
विश्वमा हुने आत्महत्या सम्बन्धी पहिलो विस्तृत अध्यनन प्रतिवेदन तयार पारेको विश्व स्वास्थ्य संगठनले जेनेभामा एक कार्यक्रमबीच उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । पछिल्लो एक दशकमा विश्वका १ सय ७२ देशको आत्महत्याको तथ्याङ्क विश्लेषण  गरी यो प्रतिवेदन तयार गरिएको हो ।
SUICIDE-REPORT-OF-WHOप्रतिवेदन अनुसार सन् २०१२ मा विश्वमा ८ लाख ४ हजार जनाले ज्यान गुमाए । यो आधारमा विश्वमा आत्महत्याको दर ११.४ प्रतिलाख रहेको छ । अर्थात् हरेक एक लाख जनामा ११.४ जनाले आत्महत्या गर्छन् ।
आत्महत्याको दर महिलामा भन्दा पुरुषमा दोब्बर देखिएको छ । पुरुषमा आत्महत्याको दर प्रतिलाखमा १५ जना छ भने महिलामा हरेक एक लाखमा ८ जनाले आत्महत्या गर्ने गरेका छन् ।
कतिपय धनी देशमा भने पुरुषहरुमा आत्महत्याको दर महिलामा भन्दा तेब्बर बढी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सन् २०२० सम्ममा हरेक मूलुकमा आत्महत्याको दर १० प्रतिशतले घटाउने लक्ष्य प्रस्तुत गर्दै संगठनले विभिन्नखाले जटिल तत्वहरुका कारण आत्महत्या एक मुख्य तथा रोक्न सकिने स्वास्थ्य समस्या भएपनि सम्बन्धित निकायले सम्बोधन गर्न नसकेको जनाएको छ ।
समग्रमा धनी देशहरुमा आत्महत्याको दर गरीब देशमा भन्दाबढी रहेको तथ्यांकले देखाएको छ । गरीब देशमा आत्महत्याको दर प्रतिलाखमा ११.२ छ भने धनी देशमा प्रतिलाखमा १२.७ छ ।
बढी आत्महत्या हुने देशहरु
विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो, जहाँ हरेक १ लाखमा ४४.२ को दरले आत्महत्या गर्छन् । दोस्रोमा प्रतिलाख ३८.५ सहित उत्तर कोरिया छ । तेस्रोमा दक्षिण कोरिया (२८.९) श्रीलंका (२८.८) सहित चौथो र पाँचांै स्थानमा लिथुआनिया (२८.२) छन् ।
त्यस्तै छैटौँ  स्थानमा सुरिनेम (२७.८) र सातौँ स्थानमा मोजाम्बिक  (२७.७ ) रहेका छन् । नेपाल र तान्जानिया दुबै संयुक्त रुपमा बढी आत्महत्या हुने मुलुकको सूचिमा आठौँ स्थानमा रहेको प्रतिवेदनमा देखाइएको छ ।
बढी आत्महत्या गर्ने दसौँ स्थानमा बुरुण्डी रहेको छ । जसको आत्महत्या दर २३.१ छ ।
नेपालको अवस्था के छ ?
आठौं स्थानमा रहेको नेपालमा प्रतिएकलाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार सन् २०१२ मा नेपालमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिलाको संख्या २४ सय ६८ र पुरुषको संख्या ३१ सय ४ रहेको छ ।
आत्महत्याको दर ७० वर्षभन्दा बढी उमेरका मानिसमा धेरै छ । सो उमेर समूहकाप्रति लाख जनामा आत्महत्याको दर ८२.२ रहेको छ । सबैभन्दा कम ५ देखि १४ वर्ष उमेर समूहमा प्रतिलाखमा दुई जना रहेको छ ।
नेपालमा सन् २००० देखि २०१२ सम्मको अवधिमा उमेर मानक आत्महत्याको दर भने घटेको पाइएको छ । सन् २००० मा प्रतिलाख ३३.५ रहेको दर सन् २०१२ मा २४.९ रहेको छ ।
प्रतिवेदन अनुसार ७० वर्ष वा सो भन्दा बढी उमेरका मानिसमा आत्महत्याको दर सबैभन्दा उच्च छ । तर, केही देशमा भने युवाहरुमा समेत आत्महत्याको दर उच्च पाइएको छ । तथ्यांक अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवायुवतीमा मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या रहेको पाइएको छ ।
मुख्य चुनौतीः सेलिब्रेटीको आत्महत्या
विश्व स्वास्थ्य संगठनका अनुसार सेलिब्रेटीहरुको आत्महत्याको खबरलाई संचार माध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्ने विषय आत्महत्या न्यूनीकरणमा मुख्य चुनौती बनेको छ । सेलिब्रेटीहरुको आत्महत्याको खबर प्र्रमुखताका साथ प्रशारण हुँदा आत्महत्यासमेत ग्लामरको एउटा पाटो बनेको र यसले सर्वसाधारणलाई समेत चर्चा कमाउनका लागि आत्महत्या गर्न प्रेरित गर्ने गरेको ठहर विश्व स्वास्थ्य संगठनको रहेको छ ।
रिपोर्टअनुसार विश्वमा आत्महत्याका पीडितहरु प्रायः सीमान्तकृत समूहका छन् जसमा यसको बचावटको उपायसम्म पहुँच छैन ।
विष पिएर मर्नेहरु बढी
आत्महत्या गर्नका लागि प्रयोग गर्ने साधनमध्ये विष सेवन -खासगरी किरा मार्न प्रयोग गरिने विष) ग्रामीण समुदायमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । त्यस्तै झुण्डिने र आफैलाई गोली वा हतियार प्रहार गर्ने पनि आत्महत्याका माध्यम बनेका छन् । यस्ता माध्यमहरुमा जोखिमयुक्त व्यक्तिको पहुँचलाई बन्देज गरिएमा आत्महत्याको दर घट्ने ठम्याइ पनि संगठनको रहेको छ ।
भारत आत्महत्याको राजधानी
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भारत यस्तो देश हो, जहाँ विश्वका सबैभन्दा धेरै मानिसले आत्महत्या गर्दछन् । सन् २०१२ मा भारतमा २ लाख ५८ हजार ७५ जनाले आत्महत्या गरे । त्यसमध्ये पुरुषको संख्या १ लाख ५८ हजार ९८ र महिलाको संख्या ९९ हजार ९ सय ७७ रहेको छ ।
डब्लएचओका अनुसार दक्षिण तथा पूर्वी एशिया क्षेत्र विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र हो । विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत आत्महत्या यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकका जनताले गर्ने गर्छन् । यस क्षेत्रका कृषिमा आधारित जनताले आत्महत्या गर्ने मुख्य साधन भनेको विषादिको सेवन रहेको छ ।

जापानमा घट्दै, तर दिनमा ७० जना
जापान ‘हाइ प्रोफाइल’ आत्महत्याका कारणबाट पीडित छ । आत्महत्या जापानी संस्कृतिको एक अंग समेत बनेको छ । सामुराइ संस्कृतिमा आत्महत्यालाई पवित्र तथा महत्वपूर्ण समेत मान्ने परम्परागत सोच छ ।
पछिल्लो समय जापानमा चर्चित व्यक्तित्वहरुले समेत आत्महत्या गर्न थालेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । जापानको अर्थतन्त्र धरासायी भएसँगै रोजगार गुमेका कारण सन् १९९० को अन्त्यतिर त्यहाँ आत्महत्याको दर निकै उच्च भएको थियो । त्यसबेला वर्षेनी ३२ हजार मानिसले आत्महत्या गर्थे । सन् २००७ मा जापानमा ३३ हजार ९३ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या घटाउने प्रयास
आउँदो १० वर्षमा आत्महत्यालाई २० प्रतिशतले घटाउने लक्ष्य तय गर्दै जापान सरकारले त्यसका लागि २२० मिलियन अमेरिकी डलर बजेट घोषणा गर्‍यो ।
सो मार्फत सर्वसाधारणलाई परामर्श दिइनुका साथै मानिसहरुलाई आत्महत्या गर्न प्रेरित गर्ने वेबसाइटहरुमाथि समेत निगरानी बढाइएको छ । यसले केही सकारात्मक नतिजा समेत दिएको छ । सन् २०१२ मा जापानमा आत्महत्या गर्नेको संख्या १९९७ पछि पहिलोपटक ३० हजारभन्दा घटी भयो ।
सो वर्ष त्यहाँ २७ हजार ७ सय ७६ जनाले आत्महत्या गरे । सन् २०१३ मा यो संख्या अझै घटेर २७ हजार २८३ मा झर्यो ।
समस्या समाधान गर्न नसकेपछि समस्याबाट भाग्न आत्महत्याको बाटो रोज्ने तथा समाजको पितृसत्तात्मक सोचका कारण युवाहरुमा पर्ने दबावले जापानी युवाहरु -खासगरी २० देखि ४४ वर्षका) मा आत्महत्याको दर उच्च छ ।
ज्ापानमा हरेक दिन ७० जनाले आत्महत्या गर्छन् । आत्महत्याको यो दर प्रतिलाखमा अमेरिकाको भन्दा दोब्बर हो । जबकि अमेरिकाको जनसंख्या जापानको भन्दा दोब्बर छ ।
जापानमा जनसंख्या बुढ्यौलीतर्फ उन्मुख भएको र त्यसका कारण डिप्रेसन, एक्लोपना तथा विभिन्नखाले गम्भीर स्वास्थ्य समस्याका कारण पनि पाका मानिसहरुमा आत्महत्याको दर बढेको बताइन्छ ।
स्वीटजरल्याण्डको ‘आत्महत्या पर्यटन’ फस्टाउँदो
स्वीटजरल्याण्डमा आत्महत्या पर्यटन मौलाउँदै गएको एक प्रतिवेदनले देखाएको छ । त्यहाँको सहमतिमा गरिने आत्महत्या सम्बन्धी कानून अस्पष्ट भएका कारण विश्वका विभिन्न देशका मानिसहरु आत्महत्या गर्ने एकमात्र उद्देश्यका लागि स्वीटजरल्याण्डको जुरिच पुग्ने गरेका अध्ययनको निष्कर्ष छ ।
स्वीटजरल्याण्डमा गएर आत्महत्या गर्ने त्यस्ता विदेशीलाई आत्महत्या पर्यटक भनिएको छ ।
सन् २००८ देखि २०१२ को अवधिमा स्वीटजरल्याण्डमा ६ सय ११ जना आत्महत्या पर्यटकले आफ्नो ज्यान सुम्पिएका छन् । त्यसरी स्वीटजरल्याण्डमा आएर आत्महत्या गर्ने विदेशीहरु विभिन्न ३१ देशका थिए, जसमध्ये बढी बेलायती र जर्मन छन् ।
प्रतिवेदनमा भनिएको छ,’बेलायतीहरुका लागि अरुको सहयोगमा गरिने आत्महत्याका लागि स्वीटजरल्याण्ड पर्याय बनेको छ । मर्न पाउने अधिकारको वकालत गर्ने विभिन्न ६ संगठनहरुले स्वीटजरल्याण्डमा मानिसहरुलाई आत्महत्याका लागि सहयोग गर्छन् र यसरी ६ सय भन्दा बढी मानिसहरुले यस्ता संगठनको सहयोगमा वर्षेनी त्यहाँ आत्महत्या गर्छन्, जसमध्ये डेढदेखि २ सय आत्महत्या पर्यटक हुन्छन् ।’
चार वर्षको अवधिमा स्वीटजरल्याण्डमा भएका सहायताजन्य आत्महत्याका ६ सय ११ घटनामध्ये ५८ प्रतिशत महिला थिए । यसरी आत्महत्या गर्ने पर्यटकहरु २३ देखि ९७ वर्षको रोगी थिए र उनीहरुको औषत उमेर भने ६९ वर्ष छ । यसरी आत्महत्या गर्नेहरुमा क्यान्सर, मस्तिष्क रोग, मुटु तथा नसा रोग जस्ता जटिल रोग थिए ।
स्वीटजरल्याण्डको मर्न पाउने अधिकारको वकालत गर्ने संस्था डिग्नीटासका अनुसार ४ जनाबाहेक अरु सबैलाई सोडियम पेन्टोबार्बिटल नाम रसायन प्रयोग गरी मृत्युशैयामा पुर्‍याइएको थियो ।
स्वीटजरल्याण्डमा डाक्टरले कतिपय अवस्थामा मानिसलाई स्वेच्छिक मृत्युवरण गर्न सहयोग गर्न पाउने कानूनी व्यवस्था भए पनि अन्य अवस्थामा अरु मानिसले कुनै मानिसलाई आत्महत्या वा स्वेच्छिक मृत्युका लागि सहयोग गर्न पाउने नपाउने विषयमा कानूनी अस्पष्टता रहेको छ ।
यसैको फाइदा मर्न पाउने अधिकार (राइट टू डाइ) को वकालत गर्ने संस्थाहरुले लिएका छन् र त्यहाँ आत्महत्या पर्यटन मौलाउँदै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment