Comments Add Comment

अमेरिका जानुअघि मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका जानुअघि फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालै मात्र एमालेका दुई मन्त्री हेरफेर गरेका कोइरालाले कांग्रेसका मन्त्री पनि हेरफेर र थप गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार बाँकी मन्त्रालयमा एमालेले पनि भाग खोजेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । रक्षासँगै सहकारी तथा गरिबी निवारण र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय प्रधानमन्त्रीसँग छ भने शान्ति मन्त्रीको कार्यभार कानुनमन्त्रीले सम्हाल्दै आएका छन् ।

मन्त्री को हुने भन्नेबारे कांग्रेस नेताबीच चर्चा सुरु भएको छ । बहालवाला मन्त्रीहरुले नै तपाई लाइनमा हुनुहुन्छ भन्दै फोन गरेको एक नेताले अनलाइनखबरसँग बताए ।

स्रोतका अनुसार देउवा पक्षकी शिक्षामन्त्री चित्रलेखा यादवको भूमिकाप्रति नेताहरु सन्तुष्ट छैन । उनलाई सरकारबाट फिर्ता बोलाउने प्रवल सम्भावना रहेको देउवा पक्षकै एक कांग्रेस नेताले अनलाइनखबरलाई बताए । उनको स्थानमा अजुर्ननरसिंह केसी जाने चर्चा चले पनि निश्चित भएको छैन ।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पनि मन्त्री बनाउने सभापति कोइरालाको तयारी छ ।

एमालेसँग वार्ता मिले उनले कुनै मन्त्रालय पाउनेछन् । एमालेले बाँकी चार मन्त्रालयमा आफ्नो पनि मन्त्री हुनु पर्ने अडान लिएको छ ।

एमालेसँग सहमति नभए बडूलाई विना विभागीय मन्त्री बनाएर भए पनि सरकारमा लैजाने सम्भावना रहेको कांग्रेस नेता बताउँछन् । यस्तै रक्षामन्त्रीमा आनन्दप्रसाद ढुंगानाको नाम कांग्रेसजनमा चर्चा छ ।

यद्यपि कांग्रेसका केही नेताले भने प्रधानमन्त्री अमेरिका जानु अघि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून रहेको बताएका छन् ।

सरकार सञ्चालनबारे कांग्रेस र एमाले नेताहरुबीच मंगलबार अबेरसम्म पनि बालुवाटारमा छलफल दुईपक्षीय छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment