Comments Add Comment

निर्देशकको तर्क : ‘श्रीमतीमा सरिता, यूवतीमा अनिता’

anita-aacharya
सिनेमाको सफलता र असफलताको बिषयमा खासै चासो नराख्ने नव-नायिका अनिता आचार्यको मन एकाएक बदलिएको थियो । ढुकढुक मनले उनको धड्कनको चाललाई एक्कासी बढायो । बिहिबार बेलुकी मण्डला थिएटरमा निर्देशक ऋषि लामिछाने र कलाकार राजन खतिवडासँग प्रदर्शनका लागि तयार भएको आफ्नो चलचित्र ‘सरी ल’ को बारेमा पत्रकारसँग कुरा गर्दै गर्दा अनिता अतालिएकी थिइन् ।
‘मलाई त एक मिडियामा दर्शक हलसम्म आउने आधार ‘सरी ल’मा के छ ?’ भन्ने प्रश्न सोझिएपछि एकाएक मन अतालिएको छ, अनिताले भनिन् ।’ सिनेमा क्षेत्रको बारेमा उनको वुझाई गतिलो थिएन । तर, निर्देशक ऋषि लामिछाने धेरै यूवती हेर्दा हेर्दै थकित भएका थिए । पत्रिकामा निर्माताले अनिताको फोटो देखेपछि उनलाई नै लिन भने । ऋषि यसपछि अनिताको पछि लागे, तर अनिताले बारम्बार सिनेमा नै नखेल्ने बताइन् । आखिर किन त, अनिताले भनिन्-‘सिनेमा क्षेत्रका बारेमा परिवारले सुनेका कुरा राम्रा थिएनन् । मलाई यो क्षेत्रमा जान मेरो परिवार र समाजले प्रेरित गरेन ।’
कुरामा कुरा अगाडि बढ्दै जाँदा, अनिताको रुपबाट निर्देशक लामिछाने मोहित नै बनेको देखियो । ऋषिले अनिताको सुन्दरतामा फुलबट्टा भर्दै भने-‘अनिताको आँखा, दात्त, नाक, ओठ सबै राम्रा छन् । तर, सबैभन्दा बढी राम्रो उनको मन छ ।’ ऋषिले यसो भन्दै गर्दा अनिता लाज लाग्यो भन्दै मुख छोप्थिन् ।
यती प्रशंसाले मात्र ऋषि थाकेनन् । फेरि थपे-‘अनिता मेरो नजरमा संसारकै सुन्दर यूवती हुन् ।’ एक हिरोइनका लागि घरमा श्रीमती भएका निर्देशकको बयान ज्यादा नै थियो । ऋषि फेरि सम्हालिए र थपे-‘श्रीमतीमा सरिता र यूवतीमा अनिता संसारकै सबैभन्दा सुन्दर छन् ।’ लामो श्वास फेरे ऋषिले, सायद यो वाक्यले सरिताको मन फुर्किन्छ होला ।

अनिता त सिनेमा सुरु हुनुभन्दा अघि बाट नै फुर्किएकी छिन् । निर्देशक ऋषि दुबिधामा परे, जब यो प्रश्नकर्ताले ‘सरी ल’ की अनिता र ‘हबल्दार सुन्तली’की शिल्पा पोख्रेलमा अब्बलता छुट्टयाउन आग्रह गर्‍यो । प्रश्न दुबिधाको थियो, ऋषि मुस्काए मात्र । अनि थपे-‘सुन्दरता र शालिनताको कुरामा अनिता धेरै अगाडि छिन् ।’ तर पात्रका हिसाबले दुई सिनेमामा दुई हिरोइन सबैभन्दा फिट हुन् ।’ rajan and suabsh
ऋषिको जवाफले अनिताको मन भरिएन । उनी, एकलाई रोज्न भन्दै थिइन्, तर ऋषिले मानेनन् । सायद, उनलाई सबैसँग काम गर्नुथियो । चलचित्रमा राजन खतिवडा अनिताको प्रेममा चुर्लुम्म डुबेका छन् । उनी पनि अनितालाई सुन्दर यूवतीको उपमा दिदै फुर्काउँदै थिए ।
यसैबिच, निर्माता कृष्णमान महर्जन आइपुगे । उनको मन थामिएको थिएन । कलाकारहरु सिनेमाको बज दर्शकसम्म नपुगेको बताउँदै गर्दा निर्माताको स्वर भिन्न सुनियो । अभाव अर्का कलाकार सुवास थापाको थियो, उनी पनि मण्डलामा देखिए ।
सुवास ‘विर्खेलाई चिन्छस्’ हिट भएपछि केही गम्भिर देखिएका छन् । उनले सिनेमा प्रचार र यसको तरिकाको कुरा गरे । जुन कुरा निर्माताका लागि खासै पचिहाल्ने थिएन । सुवास नेपालमा सिनेमा प्रचारको कुनै तरिका र योजना नभएको बताउँदै थिए । उनी, आफू मात्र होइन कुनै कलाकारमा पनि स्टारडमको दम देख्दैनन् । सुवासले यसो भन्दै गर्दा अनिता सेलिब्रेटी र कलाकारको परिभाषा खोज्दै थिइन् ।
निर्देशकले ‘फूलको आँखामा फूलै संसार’ भनेपछि मात्र अनिताले सिनेमा क्षेत्रलाई सकारात्मक देखेकी हुन् । निर्देशक ऋषि लामिछानेकी पत्नी सरिता लामिछाने अनितालाई यो क्षेत्रमा ल्याउने सशक्त पात्र हुन् । सरिताका श्रीमान्ले बनाउन लागेको सिनेमा भनेपछि मात्र अनिताको परिवारले उनलाई काम गर्न दिन राजी भएको थियो ।
प्रश्न खेले, जवाफ मडारिए । तर, पनि सबै यूनिटलाई थाहा थियो ‘सरी ल’को चर्चा दर्शकसम्म पुगेको छैन । आखिर, के त उपाय, खोजी सुरु भयो । राजनले एक साथीको जन्मदिनको केक भन्दै टेबुलमा राखिदिए । केकको स्वादले प्रचारको खोजी गर्‍यो । हप्ता दिनमा के गर्न सकिन्छ त, राम्रो सिनेमा दर्शकसम्म त पुग्नु पर्छ, सबैको एकै स्वर सुनियो । कात्तिक २१ गते सिनेमा लाग्दै गर्दा दर्शक हलसम्म नआए, करिअरको घन्टी कलाकारमा, लगानीको घन्टी निर्मातमा अनि नयाँ अफरको घन्टी निर्देशकमा बज्ने पक्का थियो ।
अनिता अतालिइन् । उनी आफ्नो कारणले कुनै पनि नकारात्मक चर्चा बजारमा नहोस् भन्ने चाहन्थिन् । सधै कुर्ता सुरुवाल लगाउने यी हिरोइनका लागि वन पिस स्कर्ट पनि पाच्य थिएन । आखिर, के उपायको खोजी गर्ला त यो यूनिटले । के एक सातामा यिनीहरुको दिमागमा मडारिएको चर्चाको बादल पानी बनेर बर्सेला, अनि के त्यसले दर्शकलाई भिजाउँला ? मण्डला थिएटरको भर्‍याङबाट ओर्लर्दै गर्दा मेरा मनमा भने यही प्रश्न खेलिरहेका थिए ।

प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment