Comments Add Comment

विप्लवले पार्टी फुटाएपछि प्रचण्डलाई चोट

Prachanda-and-biplap

११ मंसिर, काठमाडौं । वैद्य माओवादीबाट नेत्रविक्रम चन्दले विद्रोह गरेपछि एमाओवादीका कार्यकर्तासमेत पार्टी छाड्ने अभियानमा लागेका छन् ।

प्रचण्ड र वैद्यको पार्टीमा रहेका केही उग्र क्रान्तिकारीहरु विप्लवको समूहमा प्रवेश गर्न थालेका हुन् । धादिङको गजुरी ब्यारेक ब्रेक गर्ने कमाण्डर प्रकाश खनाल शैलेसले विहीबार एमाओवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खनाल एमाओवादीका चितवन जिल्ला कमिटी सदस्य हुन् ।

विप्लवले नयाँ समूह बनाउने खबरपछि एमाओवादी परित्याग गरेको घोषण गर्दै खनालले भनेका छन्- ‘आज नेपालमा क्रान्तिकारी आन्दोलनको नयाँ सम्भावना र पहल सुरु भएका कारण म अत्यन्त हषिर्त छु ।’

एमाओवादीको चितवन जिल्ला कमिटीमा अत्यधीक मत ल्याएर निर्वाचित भएका खनालले विप्लवको धारालाई सहयोग र समर्थन गर्नु आफ्नो कर्तव्य भएको बताउँदै एमाओवादी परित्याग गरेको घोषणा गरेका छन् ।

Prakash-khanal
प्रकाश खनाल शैलेसले विहीबार जारी गरेको विज्ञप्ति

खनालले जनयुद्धलाई उचाइमा पुर्‍याउन पार्टी शान्ति प्रक्रियामा आएको तर, केही नेताहरुले गद्दारी गरेको आरोप लगाएका छन् । वैद्य माओवादीले क्रान्तिकारी झण्डा उठाए पनि अघि बढ्न नसकेको उनले बताएका छन् ।

विप्लव समूहका एक नेताले अनलाइनखबरलाई दिएको जानकारीअनुसार चितवनका प्रकाश खनालजस्तै देशैभरिबाट एमाओवादीका कार्यकर्ताले सम्पर्क गरेर आफूहरु पनि विद्रोह गर्न तयार रहेको बताउन थालेका छन् ।

वैद्य समूहबाट मात्रै नभई एमाओवादीबाट समेत कार्यकर्ताहरु आफ्नो समूहमा आउने भएपछि विप्लव समूहका उत्साह छाएको स्रोतले बतायो ।
यसैवीच मंसिर १५ गते एमाओवादीका चितवनका केही कार्यकर्ताले औपचारिकरुपमा पार्टी छाडेको घोषणा गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

वैद्य समूहको बैठक अलपत्र

विप्लव समूहले बैठक छाडेर हिँडेपछि वैद्य माओवादीले बोलाएको केन्द्रीय समितिको पूर्ण बैठक वीचैमा अलपत्र परेको छ । बैठक अघि बढाउने वा वीचैमा स्थगन गर्ने भन्नेमा वैद्य समूहका नेताहरु अन्योलमा परेका छन् ।

विप्लवप्रति सहानुभूति राख्ने कुलबहादुर केसी सोनाम लगायतका नेताहरु झनै दोधारमा परेको स्रोतले बतायो । पम्फा भुसाल र सूर्य सुवेदी पथिकको भूमिका कारण पार्टी फुटेको भन्दै सोनामलगायतका नेताहरु किंकर्तव्यबिमूढ बनेको स्रोतले बतायो ।  धर्मेन्द्र बास्तोला भने विप्वल समूहमा खुलेर लागि सकेका छन् ।

बाबु-छोरा बाँडिए

aashare-kaka
असारे काका र उनका छोरा महेश्वर

वैद्य माओवादीमा रहेका ईश्वरी दाहाल (असारे काका) विप्लव समूहमा लागेका छन् । काकाका छोरा एवं पत्रकार महेश्वर दाहाल भने पितालाई साथ नदिई वैद्य समूहमै रहेका छन् ।

वैद्य माओवादीका केही पोलिटब्युरो सदस्यदेखि केन्द्रीय सदस्यसम्म विप्लव समूहतर्फ लागेका छन् । पछिल्लो पटक पोलिटब्युरोबाट धर्मेन्द्र बास्तोलाले संस्थापन पक्ष छाडेर विप्लव पक्षमा गएका हुन् ।

एक दर्जन बैकल्पिक केन्द्रीय सदस्य पनि विप्लव समूहमा लागेका छन् । संस्थापनमै रहेका भनिएका पूर्वसभासद्समेत रहेका वेपत्ता योद्धा परिवार समाजका संयोजक तथा वैकल्पिक केन्द्रीय सदस्य एकराज भण्डारी, रुपा चौधरी, नेपबहादुर कुँवर, शंकर खड्का पनि विप्लव समूहमा लागेका छन् ।

विप्लवले राजधानी छाडे

यसैवीच नेकपा-माओवादी नेतृत्वसँग सम्बन्ध विच्छेदको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नयाँ रणनीति तय गर्न काठमाडौ बाहिर निस्किएका छन् ।

आगामी फागुन १ गते भित्र संघर्षको थालनी गर्ने उद्देश्यसहित विप्लव समूह नयाँ रणनीति बनाउन राजधानी बाहिर गएको हो । सशस्त्र क्रान्तिको विकल्प नभएको भन्दै विद्रोहमा जानुपर्ने घोषणा गरेको विप्लव समूहले राजधानीमा असुरक्षाको कारण जनाउँदै उपत्यका बाहिर गएको बताइएको छ ।

दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समिति बनाउने विप्लव समूहको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment