Comments Add Comment

‘चपली गर्ल’ विनिता उपन्यासकार बन्दै

Binita-baral

१२ मंसिर, काठमाडौं । ‘चपली हाइट’मा काम गरेपछि चलचित्र दुनियाँमा चर्चामा आएकी नायिका विनिता बरालको परिचय अब तरकारी खेतीमा मात्रै सीमित हुनेछैन । अर्गानिक कृषिमा लागेकी विनिता अब उपन्यासकारका रुपमा चर्चामा आउन लागेकी छिन् ।

विनिताले लेखेको उपन्यास ‘जुइनो’ को अहिले सम्पादन र कभर डिजाइन भइरहेको छ । ‘दुई महिनापछि बजारमा आउँछ, अहिले भाषा हेर्ने र कभर डिजाइन गर्ने काम भइरहेको छ’ अनलाइनखबरसँग कुरा गर्दै विनिताले भनिन् ।

खाडीमा बगाएको पसिना यहीँ बगाउने हो भने लाखौं कमाउन सकिन्छ- विनिता

‘जुइनो’ घाँस काट्दा मुठा बाँधिन प्रयोग गरिने हरियो घाँस बाटेर बनाइने डोरी हो । आफ्नो उपन्यास कृषिमा आधारित प्रेमकथा भएकाले नाम पनि कृषि केन्दि्रत राखेको विनिताले अनलाइनखबरलाई बताइन् ।

विनिताको दाबी अनुसार उपन्यास पढ्ने पाठकले विदेश नगई देशमै केही गर्नुपर्ने रहेछ भन्ने बुझ्छन् । उनले उपन्यासमा आफ्नै देशमा बसेर केही गर्न सकिने सन्देश दिन खोजेकी छन् ।

आम युवा पुस्ताको देशको माटोसँग जुइनो गाँसियोस् भनेर पनि उनले यो नाम राखेकी हुन् । ‘मैले आम युवाहरुलाई यही देशमा बसेर कृषिका लागि केही गर्न आग्रह गरेकी छु’-उनले भनिन् ।

विनिताको बुझाइमा अहिले युवाहरुका लागि कमाइ गर्ने माध्यम कृषि नै उपयुक्त विकल्प हो ।

कृषिलाई व्यवसायीकरण गर्न सकिएमा देशको अर्थतन्त्रमा समेत सुधार ल्याउन सकिने उनको विश्वास छ । ‘देशको अर्थतन्त्र बलियो भएपछि नागरिक पनि आर्थिकरुपमा सम्वृद्ध हुनेछन्’-उनले भनिन् ।

काठमाडौंको दुई ठाउँमा तरकारी फार्म खोलेकी विनिताको फार्म हाउसमा अहिले काउली, धनियाँ, मुला, गान्टे मुला, रायोको साग उत्पादन हुन्छ ।

अहिलेसम्म गरेको मध्ये सबैभन्दा धेरै सन्तुष्टि यही कामबाट पाएको अनुभव गरेकी छिन् उनले । ‘आफ्नै देशको माटोमा काम गर्दा छुट्टै आनन्द आउँदो रहेछ’ विनिताको भनाइ छ ।

अहिले नेपालका धेरै तन्नेरीहरुले खाडी राष्ट्रमा गएर पसिना बगाएको विनितालाई मन परेको छैन । आग्रहको भाषामा उनी भन्छिन्-‘खाडीमा बगाएको पसिना यहीँ बगाउने हो भने लाखौं कमाउन सकिन्छ ।’

गाई पालन सर्‍यो

मंसिरदेखि नै गाईपालन समेत सुरु गर्ने योजना बनाएकी बिनिता उपन्यासका कारण गाईपालन सरेको बताउँछिन् । तर, केही समयपछि गाई पालन सुरु गर्ने उनको योजना छ ।

खेतीपातीमा लागे पनि अभिनय कर्मलाई निरन्तरता दिने उनको योजना छँदैछ ।

नयाँ निर्देशक शिव शर्माको निर्देशन रहेको ‘उमंग’ मा मुख्य भुमिका निर्वाह गरेकी विनिता राम्रो भूमिका पाएमात्रै फिल्म खेल्ने बताउँछिन् । ‘जस्तोसुकै विषयमा अब काम गर्दिँन, छानेर मात्रै खेल्छु’-उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment