+
+
Shares

चार दलको बैठक बालुवाटारमा जारी, सहमतिको सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १:००

२३ पुस, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन चार दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा व्यस्त छन् ।

सत्तापक्ष र प्रतिपक्षी नेताहरु आ-आफ्नो अडानमा रहेकाले आजै सहमति हुने सम्भावना फितलो रहेको एक नेताले बताए ।
बैठक चलिरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्ड केहीबेर अर्को भेटघाटमा सहभागी हुने बालुवाटारबाट आफ्नो निवास लाजिम्पाट पुगेका थिए ।

प्रचण्ड रिसाएर बैठकबाट हिँडेको केहीले प्रचार गरे पनि वपास्तविकता त्यस्तो नरहेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए । ‘लाजिम्पाटमा अर्को पूर्वनिर्धारित भेटघाटमा जानुभएको हो,’खड्काले भने, ‘अहिले बालुवाटारमा फर्किइसक्नुभयो ।’

बैठकमा सहभागी एमाले उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले एमाओवादी र मधेसवादी दलहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरिएको सञ्चारकर्मीलाई जानकारी दिएका छन् । तर, विपक्षीले आन्दोलन फिर्ता लिन नमानेको उनले बताए ।

मंगलबार बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा शासकीय स्वरुपमा लचिलो हुने संकेत दिइएको थियो । प्रधानमन्त्रीले विन विन सिचुएसनमा सहमति खोज्ने आश्वासन विपक्षी नेताहरुलाई दिएका थिए ।

तर, बुधबारको बैठकमा प्रदेशहरुको संख्याका विषयमा दलहरु आ-आफ्नो अडानमा देखिएको स्रोतले बतायो ।
प्रधानमन्त्री निवासमा भेला भएका चारदलका शीर्षनेताहरुले छुट्टाछु्टै दलगत छलफलसमेत गरिरहेको स्रोतले बतायो ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको समयसीमा सोमबारै सकिए पनि नेताहरुले सहमति जुटाउन सकेका छैनन् । शीर्ष नेताले आज निर्णायक छलफल गरी समाधान निकाल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?