+
+
Shares
विष्णु पौडेलसँग वार्ता :

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

म आत्मविश्वासका साथ भन्छु- म नै नयाँको प्रतिनिधि हुँ। म हरेक दिन नयाँ कुरा सोच्छु, हरेक वर्ष नयाँ काम गर्छु र त्यसको नयाँ नतिजा आउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १२:१९

२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ ।

सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज जित निकाल्ने दाबी प्रस्तुत गरे। कतिसम्म भने, विगतका कुनै पनि चुनावभन्दा यसपटक सहज महसुस गरिरहेको पनि उनले बताए । पौडेलसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको संवादको सम्पादित अंश:

चुनावी अभियान कसरी चलाइरहनुभएको छ ?

हाम्रो चुनावी अभियान धेरै व्यवस्थित, योजनाबद्ध र सङ्गठित छ। हामीले हिजो के काम गर्‍यौँ र भोलि के गर्छौँ भन्ने कुरा जनतालाई बताइरहेका छौँ। जनतालाई सधैँ शिरमा राखेर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले जनताका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै चुनावी अभियानमा जुटिरहेका छौँ ।

जनताका सुझाव र अपेक्षाहरू कस्ता पाउनुभएको छ ?

मतदाताको ठूलो चासो राजनीतिक स्थायित्व कसरी हुन्छ भन्नेमा छ। छिटो–छिटो सरकार बदलिने अवस्थाको अन्त्य होस् भन्ने उहाँहरूको चाहना छ। स्थिरता भएन भने देश विकास हुँदो रहेनछ भन्ने गहिरो अनुभूति जनतामा छ ।

तपाईं आफैँ पनि नीति निर्माणको तहमा हुनुहुन्छ, राजनीतिक स्थायित्वको कुनै समाधान देख्नुहुन्छ ?

वर्तमान संवैधानिक प्रबन्धअन्तर्गत कुनै एउटा लोकप्रिय दललाई पनि बहुमत प्राप्त गर्न गाह्रो हुँदो रहेछ भन्ने हाम्रो निकट विगतको अनुभवले देखाएको छ । त्यसैले, राजनीतिक स्थायित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली अपडेट गर्न, संविधान संशोधन गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।

निर्वाचन प्रणाली सच्याउन संविधान संशोधन गर्न एमाले तयार छ ?

संविधान संशोधन गर्नुपर्छ भन्ने एमालेको निचोड नै हो। तर संशोधन गर्दा राज्यका संरचनाहरूमा जुन प्रकारको समावेशी प्रतिनिधित्वको प्रणाली छ, त्यो कुरा सुनिश्चित गर्नुपर्छ। र सँगसँगै राजनीतिक स्थायित्वका निम्ति पनि बलियो आधार तयार गर्नुपर्छ भन्ने लाग्छ ।

संविधान संशोधन गरेर एमाले पश्चगामी यात्रामा निस्क्यो भन्ने विगतमा पनि कुरा उठेको थियो नि ?

आरोप थियो, सत्य थिएन। प्रचार हो, वास्तविकता थिएन । हामी ‘प्रोग्रेसिभ’ हुन सक्दै सक्दैनौँ भन्ने होइन, हामी अग्रगामी शक्ति हौँ। समाजको अग्रगामी रूपान्तरण हाम्रो अभीष्ट हो । संविधान संशोधन गर्दा हामीले राज्यका संरचना र संसद्‌मा रहेको समावेशी प्रतिनिधित्वलाई कुनै पनि हालतमा खुम्च्याउनेछैनौँ। समाजको विविधता प्रतिबिम्बित हुने कुरालाई सुनिश्चित गर्दै राजनीतिक स्थायित्वका लागि बलियो आधार तयार गर्ने हाम्रो उद्देश्य हो ।

कतिपय शक्तिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेका छन् । विगतमा एमालेले पनि त्यस्तो कुरा उठाएको थियो। के एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबारे पनि सोच्न सक्छ ?

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिजस्ता विषय संसद्को क्षेत्राधिकारका विषय भए। संसद्को संरचना कस्तो बन्छ, त्यसले यो कुरा तय गर्ने कुरा भयो। मलाई के लाग्छ भने हामीले संसदीय प्रणालीको विकल्प खोज्नुपर्ने होइन, यसैलाई अझ बढी प्रोग्रेसिभ बनाउनुपर्छ। समाजको विविधता सुनिश्चित गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा अगाडि बढ्नुपर्छ।

प्रत्यक्ष निर्वाचिततिर लाग्दा समावेशी व्यवस्थालाई असर गर्छ भन्ने हो?

समानुपातिक समावेशितालाई खुम्च्याउने कुरा सोच्न पनि सकिँदैन। त्यो कल्पनाभन्दा बाहिरको कुरा हो। र त्यस कोणबाट छलफल गर्ने प्रयासमा हाम्रो सहमति हुँदैन।

अब चुनावकै कुरा गरौँ। तपाईंले विगतमा गरेका कुन–कुन कामले गर्दा फेरि तपाईंलाई भोट दिने? यसपटक मैले गाउँ–टोलमा पुग्दा एकदमै फरक अनुभूति गरेको छु। फरक आस्थाका मतदाता र कार्यकर्तासँग भेट्दा पनि कसैले ‘तपाईंले कहिल्यै केही गर्नुभएन’ भनेर आलोचना गरेको मैले सुनेको छैन। विगतका चुनावहरूभन्दा यसपटक सर्वथा नयाँ अनुभूति गरेको छु।

मेरो बारेमा आलोचनाहरू हुन सक्लान्, टिप्पणीहरू हुन सक्लान्। तर गरेन र गर्न सक्दैन भन्ने एक जना पनि मान्छे मैले भेटेको छैन। जहाँसम्म के गरियो भन्ने विषयमा मेरो ठम्याइ के छ भने भौतिक पूर्वाधार, मानवीय विकास, शिक्षा र स्वास्थ्यको दृष्टिकोणले हामीले यो निर्वाचन क्षेत्रलाई देशकै अग्रणी बनाएका छौँ। राज्यका लगानी र प्रतिफलका दृष्टिकोणबाट विवरणहरू प्रस्तुत गर्दा लामो समय लिन्छ।

सङ्क्षेपमा विवरण सुनाइदिनुस् न ।

हामीले गरेका केही प्रतिनिधि आयोजनाबारे चर्चा गर्न चाहन्छु– हाम्रै आँगनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। नेपालमै पहिलोपटक बुटवल–बेलहिया सिक्स लेन सडक सुरु गर्‍यौँ, जसले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका एक्सप्रेस–वे बन्न सक्छन् भन्ने मानक स्थापित गर्‍यो। आज बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक पनि त्यही स्तरमा बनाउँदै छौँ। बुटवल भएर गोरुसिङ्गे जाने सडकलाई त अझ त्योभन्दा उन्नत स्तरमा काम गर्दै छौँ ।

हिजो कुनै बेला यस्तो स्थिति थियो– कुनै एउटा वडामा एक मिटर कालोपत्रे थिएन। आज कयौँ वडाहरूमा एक मिटर कच्ची बाटो छैन । बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेका छौँ ।

स्वास्थ्य क्षेत्रमा देशकै सबैभन्दा ठूलो १२ सय शय्याको १२ तले प्रादेशिक अस्पताल बनाइरहेका छौँ। हाम्रो दाबी छ– यो अस्पताललाई पूर्वाधारले मात्रै ठूलो बनाउँदैनौँ। उपकरण र जनशक्तिको व्यवस्था गरेर यहाँका मानिसहरू उपचारका लागि राजधानी वा विदेश जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो। हुने/नहुने, धनी/गरिब सबैले समान उपचार पाउने गरी व्यवस्था गर्दै छौँ। सरकारी स्वामित्वको मेडिकल कलेज बनाउँदै छौँ । पालिका तहमा बन्ने आधारभूत अस्पतालहरू पनि औसतभन्दा राम्रा बनाएका छौँ ।

शिक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्‍यौँ। यो विश्वविद्यालयको आकर्षण अन्तर्राष्ट्रिय जगत्मा पनि भइरहेको छ। हामीले यो विश्वविद्यालयलाई ‘बुद्धिजम’ मा फोकस भएको, तर बहुविषयका रूपमा विकसित गर्दै छौँ। आज यहाँका सामुदायिक विद्यालयहरू (जस्तैः कालिका मावि, कान्ति मावि) मा ८–१० हजार विद्यार्थी पढ्छन्, जुन निजी बोर्डिङ स्कुलभन्दा पनि उत्कृष्ट छन्। पर्यटनको क्षेत्रमा ‘ग्रेटर लुम्बिनी’ को अवधारणा अगाडि बढाइरहेका छौँ ।

तर यत्रो वर्ष नेतृत्व गर्नुभयो, अब छोड्दिनुपर्छ। अब नयाँलाई पालो दिनुपर्छ भनिँदै छ नि ?

म आत्मविश्वासका साथ भन्छु- म नै नयाँको प्रतिनिधि हुँ। म हरेक दिन नयाँ कुरा सोच्छु, हरेक वर्ष नयाँ काम गर्छु र त्यसको नयाँ नतिजा आउँछ । तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउँदै छौँ, जुन यो क्षेत्रको विकासमा नयाँ मानक बन्नेछ। यस हिसाबले नयाँ सोच, नयाँ काम र नयाँ परिणाम निकाल्दै छौँ। हिजो जस्तो रुपन्देही थियो, त्यस्तो होइन, आजको नयाँ रुपन्देही बनाउने हो। भोलि अझ नयाँ रुपन्देही बनाउने हो ।

जहाँसम्म धेरै चोटी भयो, अब छोड्नुपर्छ भन्ने कुरा छ, के युनिभर्सिटी पढ्दै गरेको विद्यार्थीलाई ‘तैँले यति पढिसकिस्, अब बीचमै छोड्’ भन्न मिल्छ? कसैले मास्टर्स सक्यो, ‘अब पीएचडी गर्न पाउँदैनस्’ भन्न मिल्छ ? जहिलेसम्म जनताले पत्याउँछन् र ममा देशको सेवा गर्ने कन्फिडेन्स रहन्छ, तबसम्म म लागिरहन्छु ।

यहाँ भएका कामहरूको लामै सूची सुनाउनुभयो । त्यसमा धेरैको समर्थन होला, कतिले असहमति जनाउलान् । तर बेरोजगारी, विदेश पलायनजस्ता समस्यालाई त तपाईं पनि अस्वीकार गर्न सक्नुहुन्न होला नि ?

राष्ट्रिय सन्दर्भमा आन्तरिक रोजगारीका अवसर र जनशक्तिबीच ग्याप छ। पक्कै पनि हामीले रोजगारीकेन्द्रित नीति र योजना ल्याउनु आवश्यक छ। त्यही भएर हामीले यहाँ स्थानीय तहमा शिक्षा र स्वास्थ्यका लागि बाहिर जान नपर्ने वातावरण बनाउँदै छौँ ।

स्वरोजगारी सिर्जना गर्ने गरी स्थानीय तहमा पहल गरिरहेका छौँ। हाम्रो ठाउँलाई आईटी, इन्डस्ट्री र टुरिजमको हब बनाउँदै छौँ । कालिका पथ हेर्नुस् । हिजो कस्तो थियो ? आज व्यावसायिक केन्द्र बनेको छ।  मोतीपुर औद्योगिक क्षेत्र बनाइरहेका छौँ, जहाँ बहुराष्ट्रिय कम्पनीहरूलाई बोलाइरहेका छौँ। अनुकूल औद्योगिक वातावरण बनाएर हामी यहाँ प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सक्छौँ ।

नयाँ कि पुरानो भन्ने बहसमा होइन, यहाँ आफूले गरेको कामका आधारमा चुनाव जित्छु भन्ने लागेको हो ?

मैले आफूलाई पुरानो ठान्दिनँ । मेरो विचार, योजना, काम र नतिजा कुनै पनि पुरानो छैन । देशका १६५ निर्वाचन क्षेत्रसँग तुलना गरेर हेर्ने हो भने यो क्षेत्रलाई हामीले विचार, काम र परिणामका हिसाबले नयाँ बनाइरहेका छौँ ।

तर सुकुम्बासी र खानेपानीजस्ता पुराना समस्याहरू त अझै समाधान भएका छैनन् नि ?

सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी आधार, सुदृढ सङ्गठनात्मक संरचना, आवश्यक जनशक्ति व्यवस्थापन र प्रभावकारी कार्यसम्पादन आवश्यक थियो ।

हामीले यसबीचमा कानुन संशोधन गर्‍यौँ, आयोग बनायौँ । यही जिल्लामा मात्रै ३५–४० हजार घरधुरीको नापजाँचको काम सम्पन्न भइसकेको थियो । केही ठाउँमा बाँकी थियो, केही ठाउँमा लालपुर्जा वितरणको काम सुरु भइसकेको थियो । यसैबीचमा २३–२४ भदौको घटनाबाट सरकार बदलियो । नयाँ सरकारले भूमि आयोग विघटन गर्‍यो र काम रोकियो ।

काम रोकिएपछि आयोगका साथीहरू सर्वोच्च अदालत जानुभयो। सर्वोच्चले आयोगलाई पुनर्स्थापित गरिदिएको छ। लामो समयदेखि यो पेन्डिङ एजेन्डाका रूपमा छ, तर दिगो र भरपर्दो समाधानको सम्मुखमा आइपुगेका छौँ। अब केही महिनाभित्रै यो समस्याको स्थायी समाधान निस्किन्छ भन्ने मलाई विश्वास छ ।

खानेपानीको सन्दर्भमा, बुटवलमा आगामी ५० वर्षसम्मको आवश्यकता पूरा हुने गरी शुद्ध र पर्याप्त पानी हरेक घरमा पुग्ने गरी काम गरिरहेका छौँ। थोरै काम बाँकी छ ।

झुम्साखोला खानेपानी आयोजनाको काम अन्तिम चरणमा छ। केही प्राविधिक कठिनाइले ढिलाइ भए पनि यो आर्थिक वर्षभित्रै झुम्साको पानी बुटवल झर्छ र मानिसहरूले धाराको पानी सिधै पिउन सक्नेछन् ।

प्रतिस्पर्धी उम्मेदवारहरूबारे केही भन्नुहुन्छ ?

मैदानमा हुनुभएका सबै उम्मेदवारहरू मेरा प्रिय साथीहरू हुनुहुन्छ । उहाँहरूप्रति मेरो हार्दिक सम्मान छ । संविधानले दिएको लोकतान्त्रिक अधिकारअन्तर्गत प्रतिस्पर्धामा छौँ । हामी स्वस्थ प्रतिस्पर्धा गर्छौँ । म साथीहरू र पार्टीहरूका प्रति नकारात्मक टिप्पणी गर्न चाहन्नँ ।

अन्त्यमा, चुनाव जितेर गएपछि तपाईं मन्त्री बन्नुहोला भन्ने त नयाँ कुरा भएन । बढुवाबारे सोच्नुभएको छ ?

यो प्रश्न अलि ‘अर्ली’ भयो (हाँस्दै)। अहिले बढुवा–घटुवा, मन्त्रीभन्दा पनि आज म प्रतिनिधिसभा सदस्य पदको प्रत्याशी हुँ । म निर्वाचन क्षेत्रका प्रत्येक मतदाताका बीचमा पुग्दै छु । उहाँहरूको विश्वास जित्ने अभियानमा छु । र जस्तो स्नेह पाइरहेको छु, यसपटक मैले अलि कम्फर्टेबल पाइरहेको छु । मैले विभिन्न प्रकारका निर्वाचनहरू लडेँ । २०६४ सालको निर्वाचन एमालेका विरुद्ध सुनामीजस्तै थियो । त्यो चुनावमा पनि मैले यहाँका जनताको विश्वास जित्न सकेको छु ।

२०७९ सालको चुनाव मेरो जीवनको सबभन्दा चुनौतीपूर्ण थियो । मैले धेरै उकालो तय गर्नुपर्छ भन्ने मनोविज्ञानका साथ त्यो चुनावमा गएको थिएँ । नभन्दै, नतिजा पनि त्यस्तै आयो ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?