Comments Add Comment

प्रचण्ड र वैद्यको सहकार्य अझै अनिश्चित

Prachanda-with-kiran

१२ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र बैद्य माओवादीको सहकार्य अनिश्चित बनेको छ ।

सहमतिकै आधारमा संविधान बनाउनुपर्ने भन्दै सडक आन्दोलनमा उत्रेको प्रचण्ड मोर्चाले बैद्य माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिसँग सहकार्य गरेको थियो ।

तर, आन्दोलनको नारालाई लिएर प्रचण्ड र बैद्य सँगै जान नसक्ने स्थिति छ । यद्यपि आइतबार संविधानसभामा भएको गडबडीपछि प्रचण्ड आफूहरुको नजिक आएको माओवादी सचिव देव गुरुङको विश्लेषण छ ।

आन्दोलनको नारामा बेमेल

‘बैद्यजी संविधानसभा विघटन गर भनौं भन्नुहुन्छ, जुन प्रचण्डले मान्नुभएको छैन’ ३० दलीय मोर्चाका एक नेताले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार बैद्यले प्रचण्डलाई संविधानसभा छाडेर आउन दबाव दिने गरेका छन् । ‘मोर्चाले प्रश्नावली समिति गठनको प्रक्रिया बहिस्कार गरिसकेको अवस्थामा संविधानसभा छाडी निस्केर आइज भन्दा गाह्रो हुन्छ’ स्रोतले भन्यो-यसले गर्दा तत्कालका लागि बैद्यसँगको सहकार्य अघि नबढ्ने देखियो ।’

बैद्य माओवादीका नेताहरुले पनि मुल नारामै मतभेद रहेकाले लामो सहकार्य नहुने बताउँदै आएका थिए ।

माघ ६ गतेको नेपाल बन्द कार्यक्रमलाई एउटै बनाउन उनीहरुले मोर्चाबन्दी गरे पनि सडकमा फरक-फरक नारा लगाए । ३० दलका नेता कार्यकर्ताले सहमतिमा संविधान जारी गर भन्दा बैद्य माओवादी कार्यकर्ताले भने संविधानसभा विघटनको माग गरेका थिए ।

प्रचण्ड आन्दोलन घोषणाको तयारीमा

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आज सडक आन्दोलनको घोषणा गर्दैछ । संविधानसभामा भएका १९ सहित ३० दलीय मोर्चाको बैठक दिउँसो २ बजे बोलाइएको छ ।

सरकार, सत्तारुढ पार्टी र सभामुखसँग वार्ता नगर्ने निर्णय गरेको मोर्चाले चरणवद्ध आन्दोलनको कार्यक्रम बनाउँदैछ । ‘प्रश्नावली समितिको प्रक्रियामा सहभागी नभएपछि अब गाउँ तहबाट आन्दोलन उठाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ’ एक नेताले भनेका छन् ।

प्रचण्ड मोर्चामा आवद्ध १९ दलको नाराबाजीका वीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गरेका थिए ।

७३ सदस्यीय समितिमा सत्तारुढ दलहरुको मात्र नाम दिएका छन् । सहमतिका लागि भन्दै समितिको बैठक ५ दिनपछि राखे पनि विपक्षीले वार्ता नगर्ने बताएको छ ।

गुरुङ भन्छन्- प्रचण्ड नजिक हुँँदैछन्

वैद्य माओवादीका सचिव देव गुरुङले संविधानसभामा माघ ११ को घटनापछि प्रचण्ड पक्ष आफूहरुको नजिक आउन थालेको बताए । यद्यपि सहकार्यका लागि थप छलफल गर्न बाँकी रहेकाले अहिल्यै केही भन्न नसकिने उनले बताए ।
‘उहाँ(प्रचण्ड)हरु हिजोसम्म संविधानसभाभित्रै केन्द्रित हुनुहुन्थ्यो,’ गुरुङले अनलाइनखबरसँग भने,’हिजोबाट नजिक आउने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर, यसबारे थप छलफल हुन बाँकी छ ।’

माघ ६ गते नेपाल बन्दका बेला केही साझा नारा तय गरिएको भए पनि आगामी दिनमा सहकार्य हुने, नहुनेबारे अहिल्यै भन्न नसकिने गुरुङले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment