Comments Add Comment

आन्तरिक र वाहृय शक्तिकेन्द्रसँग कांग्रेस एमालेको टक्कर

मात्रिका पौडेल

१४ माघ, काठमाडौं । संविधानसभाबाट प्रश्नावली समिति गठन भएपछि नेपाललाई सहयोग गर्ने दातृनिकायका प्रतिनिधिहरुको अनौपचारिक छलफल राजधानीको एक होटलमा भयो ।

Subash-nembangउनीहरुले कांग्रेस एमालेको दबावमा संविधानसभा अध्यक्षले गल्ती गरेको निष्कर्ष निकालेको चर्चा कुटनीतिक वृत्तमा चलिरहेको छ ।

त्यसअघि भारत, अमेरिका, युरोपेली युनियन र राष्ट्रसंघका प्रतिनिधिले समेत एक स्वरमा प्रक्रिया अघि नबढाउन दबाव दिएका थिए ।
उनीहरुले एमाओवादी नेतृत्वको मोर्चालाई १०/१५ दिनसम्म पर्खिनका लागि राष्ट्रपति रामवरण यादवदेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ सम्मलाई दबाव दिएका थिए ।

राष्ट्रपति रामवरण यादव स्वयंले प्रधानमन्त्री सुशील कोइरालालाई प्रक्रिया रोक्न दिएको दबाब काम लागेन । उनले माघ १० गते राति सभाध्यक्ष नेम्वाङलाई पनि फोन गरेरै रोक्न आग्रह गरेको स्रोतले जनाएको छ ।

अघिपछि सानातिना निर्णय र नियुक्तिमा समेत विदेशीहरु के भन्छन् भनेर मुख ताक्ने कांग्रेस एमालेले यसपटक यति ठूलो विषयमा किन विदेशी शक्ति र स्वयं आफू अनुुकूलका राष्ट्रपतिको दबाव समेत टेरेनन् ?

यो प्रश्नको उत्तर अहिलेसम्म कतैबाट आएको छैन । ‘यसपटक अचम्म भयो, कांग्रेस एमालेका नेताले भारत अमेरिका, युरोपेली युनियन कसैको पनि कुरा सुन्न चाहेनन्’ नेम्वाङले कांग्रेस एमालेकै मध्यमस्तरका नेताहरुसँगको अनौपचारिक छलफलमा भनेको प्रसंग हो यो ।

राष्ट्रपति यादव कुनै पनि हालतमा प्रक्रियामा जानु हुँदैन भन्नेमा थिए । उनले प्रधानमन्त्रीले आफ्नो कुरा नबुझेपछि कृष्ण सिटौलालगायत कांग्रेस नेताहरुलाई चेतावनीकै शैलीमा एक्लै अघि नबढ्न सुझाएका थिए । तर, कांग्रेस एमालेले देशभित्र र देशबाहिरका शक्तिकेन्द्रको कुरा नसुनी अघि बढ्न खोजे ।

‘राष्ट्रपति निकै असन्तुष्ट छन्, विदेशी राजदूतले त पराजित महशुस गरेको भारतीय दूतावासको कार्यक्रममा सहजै अनुमान लगाउन सकिन्थ्यो’ स्रोत भन्छ ।

अहिले कांग्रेस एमालेसँग एमाओवादी नेतृत्वको मात्र होइन, कुटनीतिक नियोगका प्रमुखहरुको पनि संवाद छैन ।
राष्ट्रपतिसँग अघिल्लो दिनको भेट छलेका एमाले अध्यक्ष ओलीले सोमवार गएर भेटे पनि गरम कुरा भएको स्रोतले जनाएको छ ।

आन्तरिक र बाहृय शक्तिकेन्द्रको सुझाव विपरीत अघि बढेका कांग्रेस एमालेले अब भने विपक्षीसँगको वार्ता र वाहृय शक्तिलाई कन्भिन्स गर्ने प्रक्रिया सँगै अघि बढाउने बताएका छन् ।

‘अब सन्तुलनको अवस्था आएको छ, विपक्षीसँग पनि छलफल हुन्छ, विदेशीहरुलाई पनि आश्वस्त पार्ने बेला आउँदैछ’ कांग्रेसका एक नेताले भने ‘प्रश्नावली समिति नबनेको भए हामी तल पथ्र्यौं, अहिले केही बिग्रिएको छैन’ ।

सोमवार भारतीय राजदूतले ओली र प्रचण्डलाई सँगै राखे पनि दुई नेताबीच हार्दिकतापूर्ण व्यवहार समेत भएन । ‘अमरेशकुमार सिंहले दुईजनाबीच बोलचाल गराउन खोजे, तर उनीहरुले एक अर्कालाई हेरेनन्’ प्रत्यक्षदर्शी एक नेताले भने ।

ओलीनिकट स्रोतका अनुसार प्रचण्ड र ओलीबीच व्यक्तिगतरुपमा राम्रै सम्बन्ध छ । तर, बाहिर प्रचण्डले ओलीप्रति कठोर टिप्पणी गरेकाले अझै एक दुई दिन उनीहरुबीच भेटघाट हुने छैन ।

कांग्रेसका केही मन्त्री र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्पर्क गरिरहेका छन् । ‘दलहरु संवादबाट टाढा छैनन्, चाँडै वार्ता हुने बुझेको छु’ नेम्वाङले भने ।

दलहरुबीच अब वार्ताको शुरुवात कहाँबाट हुन्छ त ? एमाले नेता माधवकुमार नेपालले बिजय गच्छदारको प्रस्तावबाट सहमतिको सूत्र खोज्न सकिने धारणा राखेलगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि गच्छदारको प्रस्ताव सहमतिको बिन्दू हुन सक्ने बताए ।

तर, गच्छदार आफैंले चाहिँ आफ्नै मोर्चाभित्रको अप्ठ्यारोका कारण त्यो प्रस्तावको ‘पेटेन्ट राइट’ लिने आँट गरिसकेका छैनन् । ‘प्रश्नावली समिति गठन नगरेका भए गच्छदारको प्रस्ताव वार्ताको प्रस्थान विन्दू हुन सक्थ्यो, तर अब त्यो चरणबाट अघि बढि सक्यो’ प्रचण्ड मोर्चाका एक नेताले भने ।

गच्छदारले सभाध्यक्ष नेम्वाङलाई केही पहिलेदेखि नै दललहरु मिलेनन् भने आफूले अन्तिम घडीमा सहमतिको पोको फुकाउने बताउँदै आएका थिए । माघ ८ गते राति पनि कुरा नमिलेपछि नेम्वाङले गच्छदारलाई सोधे-खोई त तपाईको पोको ?

त्यसपछि गच्छदारले दलहरुको बैठक अब मेरो प्रस्ताव राख्छु, यसमा मिल्न सकिन्छ भन्दै तीन विकल्प दिएका थिए । उनको विकल्प थियो-न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपलाई  एकसाथ मस्यौदा समितिमा पठाउँ । ‘संघीयताका सन्दर्भमा ६ देखि ९ प्रदेश बनाउने, प्रदेशको नाम प्रदेश सभाले राख्ने र सीमांकन विज्ञलाई दिने होइन राजनीतिक तहबाटै बढीमा डेढ महिनामा टुंगो लगाउने भनेर जाउँ’ उनको प्रस्ताव थियो ।

गच्छदारको प्रस्तावलाई कांग्रेस एमालेले तत्कालै स्वीकार गरेपछि प्रचण्ड मोर्चाका नेताहरुमा चिसो पस्यो । उनीहरुले मोर्चामा छलफल गरेपछि त्यसमा पनि समय चाहिन्छ भनेपछि गच्छदारको प्रस्ताव अलपत्र परेको थियो ।

अब त्यही प्रस्तावबाट वार्ता शुरु गर्ने हो भने मात्र दलहरुबीच सहमतिको सम्भावना हुने कांग्रेस एमालेका नेताहरुको दाबी छ । तर, ‘इगो’का कारण अहिले गच्छदारको प्रस्ताव नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment