Comments Add Comment

ग्यास पसलमा यस्तो देखियो 

gas line-1नारायण पंगेनी

१५ माघ, काठमाडौ । झण्डै एक महिनादेखि राजधानीमा खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताहरुले बच्चा बोकेर लाइनमा लाग्दा पनि उता सिलिन्डर पाएका छैनन् । तर, आयल निगमका नयाँ हाकिमले चाँहि बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै मिडियाले आतंक फैलाएको आरोप लगाएका छन् ।

बिहीबार नेपाल आयल निगम नजिकैको बबरमहलस्थित नेपाल तथा ओम ग्यासको डिलर अगाडि सैंयौं रित्ता सिलिण्डर लामबद्ध देखिन्थे । बबरमहलदेखि बानेश्वर एरियाका डिलरहरुबाट ग्यास उपलब्ध हुने भनिएपछि बिहानैदेखि उपभोक्ताहरु लाइन लागेका थिए ।

महिनौंपछि ग्यास पाइने आशमा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताहरु दिनभरि उभिँदा पनि ग्यास नपाएपछि आक्रोशित देखिन्थे । उनीहरु भन्दै थिए, ‘नयाँ सिलिण्डर किन्नचाँहि पाइने, साट्नचाँहि किन नपाइने ?’

बिहान ६ बजेदेखि लाइन बसेर पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने उपभोक्ताहरुलाई चिन्ता थियो । ‘बिहानै ६ बजे नै लाइनमा आएर बसेको थिएँ, बबरमहल बसन्तमार्गकी उपभोक्ता रोजिना महर्जनले निराश हुँदै भनिन्, ‘पसलेले अहिलेसम्म ग्यास झरेको छैन भन्छ, पाइने हो कि होइन, थाहा छैन ।’ रित्ता सिलिण्डरको लाइनमा अधिकांश महिला र केटाकेटी थिए । केही महिला बच्चा काखीमा च्यापेर लाइनमा बसेका थिए ।

gas line-4नेपाल आयल निगमले जारी गरेको सार्वजनिक सूचना अनुसार बिहीबार नयाँ बानेश्वर, बत्तिसपुतली, कोटेश्वर, शंखमुल, माइतीघर, बुद्धनगर तथा बबरमहल क्षेत्रमा साविककै ग्यास पसलबाटै ग्यास लिन सकिने जनाएको थियो ।

बिहीबारदेखि सुरु गरिएको यो अभियान माघ २७ गतेसम्म जारी रहने निगमले जनाएको छ । यो अभियानअन्तरगत बिहीबार करिब ५० प्रतिशत उपभोक्ताले ग्यास पाएको बिक्रेताहरुको दाबी छ ।
gas line-2
सकेन नेशनल ट्रेडिङले

सरकारले भने उपभोक्तालाई आवश्यक ग्यासभन्दा पनि बढी ग्यास आपूर्ति भइरहेको बताउँदै आएको छ । आवश्यक भन्दा बढी ग्यास आपूर्ति भइरहेको बताइए पनि डिलरहरुले भने कम्पनीबाट ग्यास नआएको भन्दै ग्यास दिइरहेका छैनन् ।

खाना पकाउने एलपी ग्यास नपाएर महिनौंदेखि घरमा चुल्हो बाल्न नपाएका उपभोक्ताहरुको आक्रोश उस्तै छ । ग्यासको आपूर्ति आवश्यक भन्दा बढी भइरहेको छ भने उपभोक्ताहरुले ग्यास किन पाउने नसकेका हुन् त भन्ने सवर्त्र चासोको विषय बनेको छ ।

महिनौदेखि उपभोक्ताले सहजरुपमा खाना पकाउने ग्यास पाउन नसकेको भन्दै सरकारको आलोचना भएपछि सरकारले नै ग्यास वितरण गर्ने घोषणा गर्यो ।

नेशनल ट्रेडिङबाट तीन दिन ग्यास बाँड्ने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा आफैले रिबन काटेका थिए । गएको आइतबारदेखि तीन दिन ग्यास वितरण गर्ने भनिए पनि उपभोक्ताको माग थेग्न नसकेपछि दुई दिनमै नेशनल ट्रेडिङले वितरण कार्य रोकिदियो ।

अहिले पुनः नजिकका डिलरहरुबाटै ग्यास वितरण गर्ने अभियान सञ्चालन गरिएको छ । उक्त अभियान सञ्चालन गरिएपछि नजिकका ग्यास डिलरहरुमा पनि उपभोक्ताको भिड उस्तै छ ।

gas line-5हाकिमको दोष मिडियामाथि

घरमा चुल्हो नबलेपछि उपभोक्ताहरु भौतारिँदै छन् । तर सरोकारवाला सरकारी अधिकारीहरु भने ग्यास अभाव नभएको दाबी गर्छन् । ग्यास आवश्यकता भन्दा पनि बढी आपूर्ति भइरहेकाले कोही आन्दोलित हुनुपर्ने आवश्यकता नभएको नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक गोपालबहादुर खड्का बताउँछन् ।

बुधवारमात्रै आयल निगमको कार्यकारी निर्देशकको कुर्सीमा बसेका खड्काले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै मिडियाले ग्यास अभाव भएको भनी आतंकित पार्ने काम गरेको आरोप लगाए ।

‘कहिँ कतै भएको लामो लाइनको फोटो लिएर न्युज च्यानल र पत्रपत्रिकाले आतंकित पार्ने काम गरेका छन्,’ खड्काले भने, ‘कृपया पत्रकार मित्रहरु, त्यस्तो नगरिदिनु होला, मेरो आग्रह छ ।’

चुल्हो नबलेपछि राजनीति

महिनौदेखि ग्यास नपाएको पीडा उपभोक्तालाई त छँदैछ । तर, उपभोक्ताका नाममा राजनीति गर्ने दलहरु पनि सिलिन्डर लिएर सडकमा आउन थालेका छन् । यसैवीच एमाओवादी समर्थित विद्यार्थीहरु बुधवार रित्ता सिलिण्डरसहित आयल निगम अघि प्रदर्शनमा उत्रिए ।

उपभोक्ताले सहजरुपमा ग्यास पाउन नसकेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काठमाडौ र पोखराको ग्यास डिपोबाटै ग्यास कब्जा गर्ने काम पनि गरेका छन् । विप्लव माओवादीले बिहीबार ग्यास सहज उपलब्ध गराउन माग गर्दै राजधानीमा प्रदर्शनसमेत गरेको छ । उनीहरुले निगमका कार्यकारी निर्देशकसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उता सत्तापक्षकै नेकपा एमालेको विहीबार बसेको स्थायी कमिटी बैठकले ग्यास सहजरुपमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

gas line-6

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

याे पनि पढ्नुस् 

खाना पकाउने ग्यास माग्दै विप्लव माओवादी सडकमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment