Comments Add Comment

एनआरएन भवनका लागि जापानबाट ७२ लाख रुपैयाँ संकलन

Ghale-2

टोक्यो । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि जापानका चारवटा शहरमा गरी जम्मा ७२ लाख रुपैयाँ संकलन गरिएको छ ।

एनआरएन आइसीसी अध्यक्ष शेष घलेको उपस्थीतिमा आइतबारदेखि बुधबारसम्म क्रमशः नागोया, ओशाका, फुकुओका र टोक्योमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको एनआरएन जापानले जनाएको छ ।

जसअनुसार नागोयामा १४ लाख, ओशाकामा २१ लाख, फुकुओकामा ७ लाख र टोक्योमा ३० लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ संकलन भएको छ । यसअघि बिभिन्न चरणमा एनआरएन भवन निर्माणका लागि जापानमा एक करोड रुपैयाँभन्दा बढि रकम संकलन भइसकेको थियो ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा चारवटै शहरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घले सहभागी हुनुभयो । उहाँले एनआरएन भवन निर्माणका लागि आफु अभियान नै संचालन गरी बिश्वका बिभिन्न मुलुकमा यात्रा गर्नुको कारण खुलाउँदै हातेमालो गर्न आह्वान गर्नुभयो ।

पैसामात्र उदेश्य नभएको भन्दै उहाँले बिश्वभरका नेपालीको भावना संकलन गरेरै त्यसैको एकताको प्रतिकका रुपमा काठमाण्डौमा भवन बनाउने पवित्र उदेश्यले यस्तो अभियान संचालन गरिएको बताउनुभयो ।

टोक्योमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले अहिलेसम्म करिव १९ करोडको प्रतिबद्धता आइसकेको जानकारी दिँदै त्यसमध्ये करिव ७ करोड रुपैयाँ गैरआवासीय नेपाली संघको खातामा जम्मा भइसकेको जानकारी दिनुभयो ।

१३ करोड रुपैयाँको लागतमा काठमाण्डौको मुटु बालुवाटारमा जग्गा खरिद गरिएको र आगामी मार्च ९ तारिखमा प्रधानमन्त्री सुशील कोइरालाले भवन शिलन्यास गर्ने जानकारी दिँदै उहाँले सो कार्यक्रममा सहभागिताका लागि निम्तासमेत दिनुभयो ।

जापानका लागि नेपाली राजदूत महामहिम डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको संचालन एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका पदाधिकारीहरु, टोक्योका स्थानीय समुदायका अगुवा लगायतको उपस्थीति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment