Comments Add Comment

शीतलनिवासभित्र पस्न सकेनन् राष्ट्रपति

१३ वैशाख, काठमाडौं । राजधानी र मोफसलका करिब २० लाख मानिसजस्तै राष्ट्रपति डा. रामवरण यादव पनि आफ्ना सुरक्षाकर्मी र सहयोगीसँगै शनिबार रातभरि त्रिपालमुनि सुते ।

Rambaran-yadav-Presedent-ofशीतल निवासको भान्सा घर लगायत कतिपय ठाउँमा क्षती पुगे पनि भवन भने सग्लै छ । तर, विभिन्न ठाउँमा चर्किएको र राणाकालमा बनाइएको पुरानो भवन भएकाले शीतलनिवासभित्र ढुक्कसँग बस्न गाह्रो भएको शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो ।

‘नयाँ घरजस्तो पुरानो घरमा चर्केको अवस्थामा बस्न सकिँदैन,’ राष्ट्रपति कार्यालयका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘शीतलनिवास पुरानो भवन भएकाले राष्ट्रपतिज्यूले पनि चौरीमै रात कटाउनुभएको हो ।’

आइतबार बिहान पनि राष्ट्रपति शीतलनिवासभित्र नगई प्राङ्गणमा टाँगिएको त्रिपालमै बसेका छन् । त्यहीँ बैठक बसेर राष्ट्रपति डा. यादव उपत्यकाको क्षतिग्रस्त इलाकाको भ्रमणमा निस्कने तयारीमा लागेको शीतलनिवास स्रोतले अनलाइनखबरलाई बतायो ।

चौरीमा राष्ट्रपतिसँगै सर्वसाधारण

शनिबार राति राष्ट्रपति कार्यालय अगाडिको खाली चौरीमा करिब १ हजार सर्वसाधारणले रात कटाएका थिए । खाली ठाउँ भएकाले सर्वसाधारणलाई खुल्ला गरिदिन राष्ट्रपतिले भनेपछि सुरक्षाकर्मीले चौरीमा आश्रय दिएका थिए ।

राष्ट्रपति कार्यालयको चौरीमा आश्रय लिएका सर्वसाधारणलाई नेपाली सेनाका जवानले खाना पकाएर खुवाएका थिए ।

बालुवाटार चर्कियो, सिंहदरबारलाई केही भएन

शीतलनिवासमा राष्ट्रपतिले त्रिपालमुनि रात कटाए पनि प्रधानमन्त्री सुशील कोइराला विदेशमा भएकाले उनले यसरी रात कटाउनुपरेन । तर, भूकम्पको धक्काले बालुवाटारको तीन नम्बर गेट र दक्षिणी गेट भत्काएको छ । प्रधानन्यायाधीशको आवासगृहपट्टकिो गेट पनि भत्किएको छ ।

त्यसैगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र क्षति खासै भएको छैन । सिंहदरबार परिसरको पुतलीसडकपट्टकिो पर्खाल भत्किएको छ ।

चन्द्रसमशेर राणाका पालामा बनेको सिंहदरबारले ११९० सालको भूकम्प धानेजस्तै ०७२ सालको भूकम्प पनि थेगेको छ ।

मल्लकालीन सभ्यता ढल्यो, राणाकालीन चर्कियो

मल्ल कालमा र त्यसअघिपछि बनेका दरबार र मन्दिरहरु खण्डहर बने पनि राणाकालका बनेका काठमाडौंका भव्य महलहरु भने सुरक्षित अवस्थामै छन् । तर, पुराना घर भएकाले त्यस्ता घरहरुमा भूकम्पको जोखिम बढेको छ ।

नेपालमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालयहरु, नेपाल राष्ट्र बैंक, काठमाडौं महानगरपालिका, सडक विभाग, महालेखा परीक्षकको कार्यालय लगायतका महत्वपूर्ण प्रशासनिक केन्द्रहरु अहिलेसम्म राणाकालीन पुरानै भवनमा सञ्चालित रहँदै आएका छन् । यी भवनहरु भूकम्पबाट नढले पनि त्यहाँ पुनः सरकारी कार्यालय सञ्चालन गर्न जोखिम बढेको छ ।

राष्ट्रपति कार्यालयसमेत शीतलनिवासबाटै सञ्चालन गर्न सकिने नसकिने अनिश्चित भएको स्रोतले बतायो ।

नेपालका प्राचीन सभ्यताका रुपमा रहेका धरहरा, हनुमानढोका, काष्ठमण्डप आदि भत्किएका छन् भने भक्तपुर र ललितपुरका प्राचीन सभ्यता खण्डहर बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment