Comments Add Comment

बहस : भूकम्पपीडितलाई भुटानी र माओवादी शिविरको आश्रय

२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पबाट ६ लाख बढी घरपरिवार विस्थापित भएका छन् । पीडितहरुलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने माग भइरहेको छ । र, सरकारले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् उनीहरुलाई अस्थायी शिविरमा राख्ने घोषणा गरिसकेको छ ।

भूकम्पपीडितलाई कहाँ राख्ने ? वर्षायाम लाग्नै आँटेको छ । सरकारले अहिलेसम्म भूकम्प पीडितलाई राख्ने अस्थायी शिविरहरु ‘लोकेट’ गर्न सकेको छैन । तर, यहीबेला पीडितलाई केही समयका लागि पूर्वी नेपालका भुटानी शरणार्थी शिविरहरु र माओवादी पूर्वलडाकूका शिविरमा राख्नुपर्ने विकल्पसमेत अघि सारिएको छ ।

मोरको पथरी सनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविर, जुन यतिबेला रित्तो छ ।
मोरङको पथरी-शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविर, जुन यतिबेला रित्तो छ ।

झापा क्षेत्र नं ५ का कांग्रेस सभासद केशव बुढाथोकीले अनलाइनखबरसँग भने- ‘यो सबैभन्दा सजिलो विकल्प हो । रसुवामा जस्तापाता पुर्‍याउनुभन्दा शरणार्थी शिविर मर्मत गरेर बस्न सजिलो छ ।’

भूकम्पका कारण पहाडमा घरबारबिहीन भएकाहरुलाई तत्कालका लागि झापा र मोरङमा रहेका भुटानी शिविरहरुमा सार्न सकिने सभासद बुढाथोकीले बताए । ‘ती शिविरहरुमा सामान्य मर्मत सम्भार गरेर बस्न सकिन्छ’ उनले भने-‘त्यहाँ पानी, शौचालयलगायतका सबै संरचना छन् ।’

बुढाथोकीका अनुसार शरणार्थी शिविरहरुमा झण्डै ४० हजार परिवारलाई राख्न सकिन्छ ।

झापाका ६ वटा र मोरङको एक गरी सात शरणार्थी शिविरहरुमा एक लाख बढी भुटानी शरणार्थी बस्दै आएका थिए । उनीहरुमध्ये झण्डै ८० हजार तेस्रो मुलुकमा पुनर्वास भइसकेका छन् । अब करिव २० हजार मात्रै शरणार्थीहरु बाँकी छन् । उनीहरु मध्ये केही तेस्रो मुलुकमा जाने चरणमा छन् ।

विद्यालय पनि रोजगारी पनि

शरणार्थी शिविरहरुमा बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने भौतिक संरचनासमेत छन् । भूकम्प प्रभावितहरुलाई भुटानी शरणार्थी शिविरहरुमा राखे नजिकका क्षेत्रमा रोजगारीहरु पनि पाउन सहज छ । खासगरी उनीहरुले तराईमा कृषिका र निर्माणमा मजदुरीको काम समेत गर्न सक्नेछन् ।

लडाकू शिविर अर्को विकल्प

त्यसैगरी माओवादी पूर्वलडाकूहरुले प्रयोग गरेका शिविरहरुलाई  पनि अर्को विकल्पका रुपमा अघि सारिएको छ ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकूहरुलाई देशका विभिन्न स्थानमा २८ वटा शिविर बनाएर राखिएको थियो । लडाकूहरुको बहिर्गमन र नेपाली सेनामा समायोजन गरेपछि ती शिविरहरु अहिले सरकारको मातहतमा आएका छन् ।

पूर्व लडाकूहरुको शिविरमा रहेको घर । लडाकूहरु समायोजन र बर्हिगमनमा गएपछि ती शिविरहरु अहिले खाली छन्
पूर्व लडाकूहरुको शिविरमा रहेको घर । लडाकूहरु समायोजन र बर्हिगमनमा गएपछि ती शिविरहरु अहिले खाली छन्

माओवादी नेता एवं पूर्वडेपुटी कमाण्डर चन्द्रदेव खनाल बलदेवका अनुसार पूर्वलडाकूहरुको शिविरमा १० हजार घर परिवारलाई आश्रय दिन सकिने अवस्था छ ।

भूकम्प प्रभावितका उद्धार तथा पुनःनिर्माणमा सघाउन नुवाकोट पुगेका बलदेवले अनलाइनखबरसँग भने- ‘हामी २० हजार लडाकूहरु शिविरमा खुकुलोसँग बसेका थियौं, अहिले त्यहाँ भूकम्पबाट विस्थापितलाई राख्ने हो भने राम्रो हुन्छ ।’

वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण ६ लाख बढी परिवार घरबारबिहीन भएका छन् । सिन्धुपाल्चोक, गोरखा, दोलखा, नुवाकोट, रसुवा लगायतका जिल्लाका कतिपय बस्तीहरु नै खाली गर्नुपर्ने अवस्थामा छ । एकातिर पहिरोको खतरा छ भने अर्कोतिर भूकम्पले जमिनै चिरा चिरा परेकाले मानिसहरु सार्न खोजेका छन् ।

विश्लेषण : कस्तो होला भूटानी र माओवादी शिविरको प्रभाव ?

रसुवा, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाका भूकम्पपीडित परिवारजनलाई झापा र मोरङका शरणार्थी शिविरमा लैजाने हो भने त्यहाँ गएका मध्ये सबै नागरिक पहाडमा नर्फकने सम्भावना हुन्छ । अस्थायीरुपमा बस्न गएका अधिकांश पीडितहरुले उतै जग्गाजमीन किनेर त्यहीँ सेटल हुने सम्भावना बढ्छ ।

यसले गर्दा छरिएको बस्तीलाई एकीकृत वस्तीमा राख्ने सरकारी योजनामा पनि यसले सघाऊ पुर्‍याउन सक्छ । र पहाडी जनताको व्यवस्थापन हुन्छ ।

नयाँ ठाउँमा शिविर बनाउँदा भौतिक संरचना निर्माणको झण्झट ब्यहोर्नुपर्छ । भूटानी शरणार्थी शिविर र लडाकू क्याम्पमा भूकम्प पीडितहरू जाने हो भने बनिरहेका घरमा थपक्कै बस्न सकिने सुविधा छ

तामाङ बाहुल्य यी जिल्लाका पीडितहरु देशका विभिन्न भागमा छरिएपछि नेपालको जनसंख्याको अवस्थितिमा पनि यसले प्रभाव पार्न सक्छ । मध्यमाञ्चलका पहाडी जिल्लासँगको जनजीवन र नाता झापादेखि कैलालीसम्म विस्तार हुन सक्छ र यसबाट नेपालीहरुमा एकताको भावना विकास हुन सक्छ ।

भूकम्प पीडित पहाडी समुदायका मानिसलाई मधेसका जनताले सहयोग र आश्रय दिनेछन्, जसबाट पहाड र मधेसको एकता एवं समावेशिता अझ बलियो बन्नेछ ।

भुटानबाट शरणार्थीहरु भागेर आउँदा झापा र मोरङका जनताले उनीहरुलाई आश्रय दिएका थिए । अब आफ्नै देशका भूकम्पपीडित नागरिक त्यहाँ जाने हो भने झापा र मोरङका जनताले उनीहरुलाई खुला दिलले सहयोग गर्ने निश्चित छ ।

साथै तराई र यातायातको सुविधा भएका ठाउँमा पीडितहरुको शिविर सञ्चालन गर्दा उनीहरुलाई राहतलगायतका सहयोगहरु पुर्‍याउन पनि सहज हुनेछ । पहाडमै बस्ने हो भने वषर्ामा यातायात अवरुद्ध हुँदा ठूलो समस्या सिर्जना हुन सक्छ ।

चुनौतीहरु

तर, रसुवा, सिन्धुपाल्चोक लगायतका जिल्लाका मानिसहरुलाई झापासम्म बसाइँ सार्नु निकै चूनौतीपूर्ण विषय हो । यसका लागि वषर्ायाम नलाग्दै काम थालिएन भने पहिरो आदिका कारण बाटोको समस्या पर्न सक्छ ।

पहाड र हिमालको शीतल हावापानीमा बसेका मानिसहरुलाई तराईको गर्मीमा र असहज हुने सम्भावना रहन्छ । आफ्ना नातागोता पनि नपुग्ने टाढाको जिल्लामा शिविर सञ्चालन गर्दा पीडित र उनीहरुका नातेदार दुबैले असहज महसुस गर्ने सम्भावना रहन्छ ।

शिविर सञ्चालनमा भूकम्प पीडितहरुको ईच्छा महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सुदुर पूर्व वा सुदुर पश्चिमसम्म लैजानका लागि सरकारले कन्भिन्स गर्नुपर्ने हुन्छ ।

चितवन र बारा उपयुक्त विकल्प

क्षेत्रगत हिसाबले हेर्दा राजधानी आसपासका जिल्लाका पीडितहरुलाई सकेसम्म चितवन, बारा, पर्सालगायतका जिल्लामा अस्थायी शिविर खडा गरेर राख्नु बढी व्यवहारिक देखिन्छ ।

चितवनको शक्तिखोर शिविर तथा बाराको डुमरवानामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउने ठाउँमा जंगल फँडानी गर्नुपर्ने आवश्वकता छ त्यही ठाउँमा तत्कालका लागि पीडितहरुको शिविर बनाइयो भने एक काम दुई पन्थ हुन सक्छ । मध्यपहाडका पीडितहरुले धेरै टाढासम्म जानु पनि पर्दैन ।

यद्यपि भूकम्प पीडितलाई अस्थायी शिविरमा राख्ने प्रधानमन्त्री सुशील कोइरालाको घोषणाले वषर्ायाम लाग्न आँट्दा पनि सार्थकता पाउन सकिरहेको छैन ।’

तर, डुमरवाना वा अन्य नयाँ ठाउँमा शिविर बनाउँदा भौतिक संरचना निर्माणको झण्झट ब्यहोर्नुपर्छ । भूटानी शरणार्थी शिविर र लडाकू क्याम्पमा जाने हो भने बनिरहेका घरमा थपक्कै बस्न सकिने सुविधा छ, जुन तत्कालका लागि कम खर्चिलो र व्यवहारिक उपाय हुन सक्छ ।
यातायातको सुविधा भएकाले झापा मोरङ र कैलाली कुनै टाढाको भूगोल पनि होइन ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment