२ जेठ, मोरङ । भूटानी शरणार्थीहरुको चापले एक समय झापा र मोरङका शरणार्थी शिविरमा निकै ठूलो चहल-पहल देखिन्थ्यो । अहिले शरणार्थी यी शिविरहरु अमेरिका क्यानडा लगायतका देशमा पुगिसकेका छन् ।
झापा र मोरङका यी शिविरहरु अहिले सुनसान छन् । शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।
झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरुमा करिब १ लाख भूटानी शरणार्थीहरुको बसोबास थियो । मोरङको पथरीमा १५ हजार बढी शरणार्थीहरु थिए ।
सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीहरुलाई भुटान फर्काउन नेपाल सरकारले पटक-पकट भुटानसँग वार्ता गर्यो । तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन । त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरु अमेरिका लगायतका तेस्रो मुलुकमा सारिएका छन् ।
अहिले सीमित संख्यामा मात्रै शिविरमा शरणार्थीहरु बसोबास गरिरहेका छन्, जसले गर्दा शिविर प्रायः खाली देखिन्छन् ।
शरणार्थी शिविरहरुमा बाँसले बारेर माटो छापिएका आकर्षक छाप्रा बनाइएका छन् । खरले छाएका यी घरहरु बाक्लै रहेकाले एक समय यहाँ शहरमा जस्तै चहल-पहल देखिन्थ्यो । जंगलको छेउमा रहेका बस्तीहरुमा मानिसहरुको निकै ठूलो भीड लाग्थ्यो । झापाका बिर्तामोड, दमक र मोरङ पथरी बजार शरणार्थीका कारण आर्थिक हिसाबले पनि फस्टाएका थिए । छेऊछाऊका वस्तीमा श्रम बजार निकै फस्टाएको थियो । तर, अहिले झापा र मोरङमा यो चहल-पहल लगभग सकिएको छ ।
खाली रहेका शिविरहरुमा यतिबेला रुख रोप्ने र जंगलको विकास गर्ने तयारी भइरहेको छ । यी शिविरहरु प्रायः जंगलसँग जोडिएकाले यसलाई सामुदायिक वनमा परिणत गर्न लागिएको हो ।
यसैवीच भूकम्पबाट विस्तापित भएका नेपालीहरुलाई अस्थायी बसोबासका रुपमा यी शिविरहरुलाई प्रयोग गर्न सकिने झापाका सभासद केशव बूढाथोकीले नयाँ बहस सुरु गरेका छन् ।
यो पनि पढ्नुहोस्