Comments Add Comment

पण्डितज्यू, बिहानी सेवा त बन्द भएछ नि !

Lalitpur-Yatayat-Office

नारायण पंगेनी

१२ जेठ, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रस्तावमा सरकारले धेरै चाप हुने कार्यालयमा बिहानी सेवा सञ्चालन गरेको थियो । तर, वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि कर्मचारीहरु बिहानै कार्यालयमा हाजिर हुन छाडेका छन् ।

सेवाग्राहीको अधीक चाप हुने भन्दै जिल्ला प्रशासन, मालपोत, नापी, यातायातलगायतका कार्यालयहरुमा बिहान ६ बजेदेखि कार्यालय सेवा दिन थालिएको हो । तर, बिहान ९ बजेसम्म सेवाग्रही नै नआउने गरेको भन्दै कर्मचारीहरुले भूकम्प आउनुअघि देखि नै ढीलासुस्ती गरिरहेका थिए ।

जबर्जस्तरुपमा सेवा दिएजस्तो गरेका ती कार्यालयका कर्मचारीहरुलाई भूकम्पले सहज बाहना बनाइदिएको छ । भूकम्पपछि यस्ता बिहानी सेवाहरु अघोषितरुपमा बन्द भएका छन् ।

दिउँसो पनि आलटाल

अधीक सेवाग्राही आउने यस्ता कार्यालयहरुले बिहानको अतिरिक्त सेवा मात्र होइन, दिउँसोको कार्यालय समयमा समेत भूकम्पको त्रासदी कायमै रहेको भन्दै राम्रोसँग सेवा प्रवाह गरेका छैनन् ।

सरकारले सबै कर्मचारीलाई आ-आफ्नो पूर्ववत काममा फर्किन आहृवान गरे पनि सरकारी कर्मचारीहरुले यसमा खासै चासो दिएका छैनन् ।

यातायात कार्यालय जेठ १७ सम्म बन्द

Umesh-Basnet
उमेश बस्नेत

सबैभन्दा बढी सेवा दिने ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयले जेठ १७ गतेसम्म लाइसेन्स नवीकरण बाहेक अन्य सेवा दिन नसकिने बताएको छ ।

यातायात कार्यालयको हालसालै बनेको भवनमा भूकम्पको कुनै असर छैन । इन्जिनियर आएर त्यहाँ हरियो स्टिकर टाँसिदिएका छन् । तर, कार्यालयका प्रमुख उमेश बस्नेत भने त्रासदीपूर्ण अवस्था कायमै रहेकाले सबै सेवा दिन नसकिएको बताउँछन् ।

दिउँसो एक बजेतिर कार्यालयमा पुग्दा आफ्नै कार्यकक्षमा भेटिएका बस्नेतले धेरै चाप हुने कार्यालय भएकाले भागदौड हुँदा धेरै क्षति हुन सक्ने भएकाले सबै सेवा दिन नसकिएको बताए ।

प्रत्येक दिन ३ हजार/३५ सय सेवाग्रहीहरुले सेवा लिने यो कार्यालयबाट अहिले प्रत्येक दिन ७/८ सय जनाले सवारी चालक अनुमतिपत्र -लाइसेन्स)का लागि फारम भर्छन् भने ५ सय नयाँ लाइसेन्स लिने गर्दछन् ।

तर, अहिले भूकम्पको त्रासदी रहेको भन्दै लाइसेन्स नवीकरण बाहेकका सबै सेवा रोकिएपछि सेवाग्राहीहरु त्यसै फर्किन बाध्य छन् ।

ट्रायल लिने ठाउँमा राहत सामग्री

सवारी चालक अनुमति पत्रका लागि ट्रायल लिने ठाउँमा भूकम्प पीडितहरुका लागि ल्याएका राहत सामग्रीहरु थन्किएका छन् । यातायातको ट्रायल लिने गरिएको बग्गीखानामा राहत सामग्री तथा राहत ल्याएका गाडीहरु छन् ।

त्यसैले ट्रायल लिने ठाउँसमेत नभएकाले ट्रायल सेन्टरको खोजी भइरहेको यातायात कार्यालय प्रमुख बस्नेतले बताए । सार्वजनिक हितलाई ध्यान दिएर नै काम रोकिएको बस्नेतको दाबी छ ।

यातायात कार्यालयमा जस्तै मालपोत र नापी कार्यालयमा पनि बिहानी सेवाहरु अघोषितरुपमा बन्द भएका छन् । तर, दिउँसोको सेवा भने मालपोतमा सुचारु हुन थालेको छ । यद्यपि मालपोत, नापी, जिल्ला प्रशासन तथा राहदानी विभाग भूकम्प अघिको जस्तो सहज भइसकेको छैन ।

चाँडै प्रभावकारी हुन्छ : प्रवक्ता

यसैवीच सरकारी कार्यालयमा बिहानी सेवा अघोषित रुपमा बन्द भएको बारे चासो राख्दा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बिहानी सेवा चाँडै प्रभावकारी हुने बताए ।

‘कतिपय कार्यालयका कर्मचारीहरु राहत र उद्धारका क्रममा अन्यत्र खटिएका छन्, कतिपय कार्यालयका भवनहरु पनि भत्केका छन्,’ प्रवक्ता अधिकारीले अनलाइनखरसँग भने- ‘भूकम्पको प्रभाव सेवा प्रभावमा देखिएकै छ, यतिबेला अनुगमन पनि केही कमजोर हुन पुगेको छ, तर, अब चाँडै नै विहानी सेवा प्रभावकारी हुनेछ र पहिलेकै अवस्थामा आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment