Comments Add Comment

मध्यराति खन्तीले घर भत्काउँदै डिभोर्स र अंशबण्डा !

मात्रिका पौडेल

वैशाख १२ को विनाशकारी महाभूकम्प लगत्तै उपत्यका र मध्य पहाडका विभिन्न गाउँ बस्तीको स्थलगत रिपोर्टिङ तथा राहत वितरणका क्रममा केही यस्ता प्रवृति देखिए, जुन राहतका नाममा हुने विकृतिका मानक बन्दैछन् ।
Gaule
पछिल्लोपटक नुवाकोट र रामेछापका केही गाउँमा गएका बेला त्यहाँ एकाघरका छोरा-बुहारी रातारात छुट्टिएर भिन्न हुने लहर नै चलेको प्रमाण फेला पर्‍यो । धेरै राहत थाप्नका लागि अंशबण्डाका घरायसी कागज बोकेर गाविस सचिवसम्म पुग्नेहरुको संख्या यथेष्ट पाइयो ।

अझ रोचक कुरा त केसम्म भेटियो भने, वर्षौंदेखि मिलेर बसेका श्रीमान- श्रीमतीबीच भूकम्पको विपत्तिपछि नाटकीय रुपमा सम्बन्ध बिच्छेदका नक्कली कागजसमेत बन्न थालेका छन् । विपत्तिका बेला वर्षौदेखि छुट्टएिर बसेकाहरु समेत एउटै पालमुनि बस्दा पुनर्मिलन भएका बेला रातारात डिभोर्स भएका कागजहरु बनिरहेका छन् गाउँमा ।

भूकम्पको विनाशलीलाका कारण मान्छेहरु आफ्नो दैनिक सामान्य जीवनमा समेत फर्किन नसकेका बेला रातारात चूल्हो फुट्ने र सम्बन्ध बिच्छेदका कागज बन्ने कुरा सामान्य अवस्थामा कल्पना गर्न पनि सकिँदैन । तर, अधिकांश भूकम्प प्रभावित गाउँ बस्तीमा केही यस्तै प्रवृति देखिएका छन् ।

द्रव्य पिचास बन्न थाले

किन यस्तो भइरहेको छ ? ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको अनुभवलाई मान्ने हो भने, राहतलाई अधिकार बनाएर यसैमा जीवन धान्न खोज्ने प्रवृतिले मान्छेलाई यस्तो बाटोमा लैजाँदैछ ।

मैले आफैं स्थलगत अध्ययन गरेर निकालेको निष्कर्ष पनि यही हो कि-राहत पाउने लोभमा कतिपय मान्छे द्रव्य पिचाश बन्ने गलत बाटोमा लम्किँदैछन् ।

यो त एउटा आम प्रवृति भयो । यस्ता धेरै विकृति मैले आफ्नै आँखा अगाडि देखेको छु । रामेछापको एउटा गाउँमा पुग्दा त्यहाँ दलीय संयन्त्रका प्रतिनिधिहरुबीचमै विवाद थियो । एकजना व्यक्तिले रातारात एउटा घर परिवारलाई पाँच घरमा बाँडेछन् ।

उनका पाँच भाइ छोरा सगोलमा भए पनि एक परिवारको १५ हजारका दरले जस्तापाता किन्न पैसा पाइन्छ भनेपछि ७५ हजार कुम्ल्याउने लोभमा ५ घरको विवरण टिपाएछन् । उनको हकमा के गर्ने भन्नेमा गाविस सचिवसहितको बैठकमा दलका प्रतिनिधिहरु विभाजित भइरहेका थिए ।

थोत्रो लालपूर्जा बोकेर गाउँ फर्के

रामेछापकै अर्को एक गाउँमा एकजना अपरिचित युवा राहत माग्दै गाविस कार्यालयमा पुगे । उनलाई अधिकांशले चिनेनन् । पछि उनले ऊ त्यहीँ थियो मेरो घर भनेपछि उनी कसका छोरा हुन् भन्ने पत्ता लाग्यो ।

मात्रिका पौडेल
मात्रिका पौडेल

गाउँ छाडेर काठमाडौंमा बस्न थालेको १०/१२ वर्षपछि भूकम्पले उनलाई गाउँमा पुर्‍यायो । तर, पीडित गाउँलेको राहतका लागि होइन, आफैं राहत थाप्ने लोभमा पुगेका रहेछन् उनी । अन्ततः बलजफ्ती गर्दै उनले एक बोरा चामल र एउटा त्रिपाल बोकेर काठमाडौं फर्किँदा सर्वस्व गुमाएका गाउँलेहरु धिक्कार्न बाध्य भए ।

ती युवा एक प्रतिनिधि उदाहरण थिए । बसाइँ सरे पनि केही पाखो पखेरोको लालपूर्जा बाँकी रहेका र उहिल्यै गाउँ छाडेर हिँडिसकेकाहरु पनि राहत र सहुलियत ऋण पाउने लोभमा गाउँ फर्किएर वास्तविक पीडित गाउँलेको भाग खोस्न उद्यत भएका छन् ।

ऊ त्यहाँ थियो मेरो घर भन्ने देखि भाङटार खोरियाको थोत्रो लालपूर्जा बोक्नेसम्मका सुकिला-मुकिलाहरु काठमाडौं लगायतका शहरका घर छाडेर अहिले गाउँमा गोठ बनाएर बस्न थालेका छन् । लाजै नमानी तिनै मान्छेहरु राहतको लाइनमा झगडा गर्न पुगेका दृष्य पनि आँखै अगाडि देखियो ।

जो चोर उसको ठूलो स्वर

रामेछाप दुरागाउँका गंगावहादुर सुनुवारको यो भनाइ निकै मर्मस्पर्शी छ-यस्तो दुख्याहा ठाउँमा बसिन्न भन्दै शहर पसे । यो गाउँको विकासमा हामीले आफ्नो गाँस काटेर सहयोग गर्‍यौं । यही गाउँ भनेर बस्दा हाम्रो भएभरको सम्पत्ति अहिले स्वाहा भयो । तर, विपत्तिको बेला सघाउन आउलान् भनेको त उल्टै तीनै मान्छे हाम्रो भाग खोस्न महापीडित बनेर आइपुगेका छन् । उनीहरुको स्वर ठूलो छ, उनीहरु नै हामीलाई हप्कीदप्की गर्छन् ।

गाउँको उहिल्यै छाडेको पाखो धितो राखेर बैंकबाट ऋण पाइन्छ भन्ने भ्रममा पनि कतिपय शहरबासीहरु गाउँ फर्केका छन् । तर, उनीहरुलाई त्यो ऋण भूकम्पले सबै घर भत्किएका र त्यहीँ ठाउँमा बनाउनेहरुले मात्र किस्तामा पाउने भन्ने सामान्य ज्ञान पनि देखिएन ।

गरीखाने हात मागीखाने भए

भूकम्पको विपत्तिपछि तत्काल गाँसबासका लागि सरकार र सहयोगीहरुले पठाएको राहतलाई अधिकार मान्ने र त्यसैमा लुछाचँडी गर्ने अर्को गलत संस्कार पनि गाउँ बस्तीमा भित्रिएको छ । अब राहत बाँड्ने काम तत्कालका लागि बन्द गरेर अस्थायी बसोबासतिर ध्यान नदिने हो भने गरीखाने हातहरु मागीखानेमा परिणत हुँदैछन् ।

खेतबारीमा पसिना बगाएर मुरी उमार्ने बेलामा मान्छेहरु मानो उठाउन राहत केन्द्रमा धाउन थालेका छन् । मेलापात, बस्तुभाउ छाडेर राहत माग्न घण्टौं लाइन लाग्ने विकृति पनि भित्रिएको छ । भत्किएका घरको भग्नावशेषबाट मालसामान र अन्नपात निकाल्न छाडेर उनीहरु कसले कहाँ राहत ल्याउँछ भन्दै गाविसको पटांगिनीमा दिनभरि ढुकेर बस्न थालेका छन् ।

राहत भन्दा धेरै रक्सी खपत

१५ किलो राहतको चामल लिनका लागि दिन बिताउने र घर फर्किने बेलासम्म भट्टीमा १५ सयको रक्सी सुइँक्याउने विकृति रामेछापको क्षेत्रीय सदरमुकाम मानिने धोबी बजारमा मैले आँखै अगाडि देखेँ । एउटा त्रिपाल लिन ५ घण्टासम्म पर्खिएका गाउँलेले धोबीको एउटै होटलमा १० हजारको रक्सी सिध्याए । अचेल गाउँघरमा रक्सीको खोलो यसरी बग्न थालेको छ कि, राहत भन्दा बढी रक्सी खपत हुँदैछ ।

गाउँघरमा रक्सी बनाउने कोदो सकिएर वैकल्पिक उपाय खोज्न थालेका छन् रक्सी बनाउनेहरुले । अझ भीआइपी पीडितहरुको त कुरै बेग्लै छ । राहतका लाइनमा बस्न गएकामध्ये एउटा टोलीले रामेछापको ढाँडेबेंसीको एउटै होटलमा दुई कार्टुन सानमिगेल वियर सिध्याएछन् ।

मैले पाएँ कोही भन्दैन

स्वयंसेवकहरु आफ्नो लागि मानो र छानो बोकेरै गाउँ बस्ती पसेका छन् । तर, कतिपय गाउँलेहरु आफूलाई सघाउन आएकालाई साथ दिनुको साटो राहत किन ल्याएनौं भन्दै जाइलाग्ने प्रवृति देखिएको छ

राहतले गाउँलेहरुलाई मानसिक रुपमा यतिसम्म दरिद्र बनाउन थालेछ कि, मैले आफ्नै हातले त्रिपाल, कम्बल, खाद्यान्न र पैसा समेत दिएकी एक महिलाले एक सातापछि पुग्दा मैसँग भनिन्-मैले अहिलेसम्म राहतका नाममा एक गेडो चामल पनि पाइन हजुर १ सबैले दोहोर्‍याएर पाए तर मैले अहिलेसम्म केही पाइन ।

मैले पाएँ र खाएँ भन्ने प्रायः कोही भेटिँदैनन् । दुई तीनपटक राहत पाएकाहरु पनि आँखामा आँशु देखाउँदै दरिद्रता प्रकट गर्न सक्ने कलाकार भइसकेका छन् । घरमा ६० मूरी धान जोगाउन सफल रामेछाप सैंपूका एकजना बाजे ७ किलो चामल थाप्न झगडा गरिरहेका पनि भेटिए । वास्तवमा गरीखाने सम्पन्न व्यक्तिहरुलाई पनि राहतले गरिव बनाएको विकृति पनि देखियो ।

राहतले जाँगर हरायो

राहतले मान्छेलाई मानसिक दरिद्र मात्र होइन अल्छेसमेत बनाउन थालेको छ । ललितपूरकी सभासद सुशीला नेपालको एउटै भनाइले यसलाई पुष्टि गर्छ । उनका अनुसार स्वयंसेवक टोलीले डुकुछापका एक स्थानीयको घर पन्छाइदिएपछि तीनले बारीको मकै गोडिदेऊ भनिछन् । उनका श्रीमान चाहिँ छिमेकीको घरमा तास खेल्दै थिए भने छोरा टिभीमा रेस्लिङ हेर्दै थिए ।

सद्दे घर भत्काउँदै पीडितको सूचीमा

नुवाकोटका थप्रेकमा घर भत्किएका घर छिमेकीले धमाधम राहत पाउन थालेपछि सद्दे घर भएका एकजना घरधनीलाई साह्रै रीस उठेछ । उनले मध्यरातमा खन्ती लगाएर आफ्नो घरको भित्ता भत्काएछन् र भोलिपल्टै बिहानै गाविसमा गएर भनेछन्-मेरो घर पनि भत्कियो, लौ राहत देऊ ।

घर सद्दे भएकाले भत्किएकालाई आश्रय दिनुपर्नेमा उल्टै सद्दे घर भत्काएर पीडितको सूचीमा नाम लेखाउने चरम विकृति पनि गाउँघरमा भित्रिएको रहेछ । यस्ता प्रवृतिले गर्दा गाविस सचिवहरुले गाउँमा काम गर्न गाह्रो देखियो । दलीय संयन्त्रका मान्छे पनि हैरानीमा परे ।

परिचयपत्रमा महाभारत

अब भूकम्प पीडितको परिचयपत्र बनाउन सबैभन्दा महाभारत छ । गैर पीडितनै सबैभन्दा पहिले पीडितको सूचीमा आफ्नो नाम लेखाउन पाखुरा सुर्किंदै सचिवलाई झम्टिन पुग्छन् । रातारातका सम्बन्ध बिच्छेद, अंशबण्डा, शहरबाट गाउँ र्फक अभियान, आफ्नै घर भत्काउने प्रवृति यी सबै परिचयपत्र बनाउनका लागि हुन् भन्ने प्रष्टै छ ।

स्वयंसेवकलाई आपत

शहरदेखि गाउँसम्म बिभिन्न राजनीतिक दल र स्वयंसेवी संस्थाहरुले पीडितलाई सघाउन स्वयंसेवक परिचालन गरेका छन् । स्वयंसेवकहरु आफ्नो लागि मानो र छानो बोकेरै गाउँ बस्ती पसेका छन् । तर, कतिपय गाउँलेहरु आफूलाई सघाउन आएका स्वयंसेवकलाई साथ दिनुको साटो राहत किन ल्याएनौं भन्दै जाइलाग्ने प्रवृति पनि देखिएको छ ।

पालभित्र बसेर दिउँसै चिसो बियर तन्काउने, लोकदोहोरी घन्काउने र जुवातासमा रमाउनेहरुको एउटा रैथाने समूह छ, शहरमा । अनि तिनीहरु नै भन्छन्-सरकारले हामीलाई हेरेन, नेताहरु चोर हुन् ।

आफ्नो घरका भग्नावशेष पन्छाउन आएका दलका कार्यकर्तालाई भत्ता खाएर आएका भन्दै अपमान गर्ने प्रवृतिले जनतालाई कता लैजादै छ ?

करोडपति मगन्ते,  करोडपति सुकुम्बासी

अब शहरका वास्तविक पीडितहरुलाई पालबाट अस्थायी घरमा फर्काउने, पूर्ववत काममा लगाउने, राहतका नाममा दरिद्र नबनाउने र स्वेच्छाले पालमा बसेकाहरुलाई आ आफ्नो ठाउँमा फर्काउने काम तत्काल नगर्ने हो भने राजधानी उपत्यका करोडपति मगन्तेहरुको शहर हुने खतरा छ ।

यही मौकामा सार्वजनिक जग्गा कब्जा गरेर टहरा बनाउने गिरोह पनि सल्बलाउन थालेको छ । विपत्तिका नाममा सरकारी सम्पत्ति कब्जा गर्ने प्रवृति नरोक्ने हो भने राजधानीमा करोडपति सुकुम्बासीहरुकिो नयाँ बस्ती बस्नेछ ।

आफ्नो थातथलो नै गुमाएर आएका सिन्धुपाल्चोक लगायत जिल्लाका पीडितहरुलाई पुनर्वासको व्यवस्था गरेर अन्यलाई सार्वजनिक जग्गाबाट लखेट्न ढिला गर्नुहुँदैन । जो हाम्रो केही छैन भन्दै सार्वजनिक जग्गामा गोठ बनाएर बसेका छन्, तीनलाई घर भत्काउने श्रम शिविरमा लगाउने हो भने को को टिक्छन् थाहा भइहाल्छ ।

यसो गरे कसो होला ?

भूकम्प अघि भत्किएका घरलाई पनि भूकम्पले भत्कायो भनेर सिफारिस गराउन बाध्य पार्ने प्रवृति रोक्दै एउटै मापदण्डबाट वितरण गरे सहज हुन सक्छ

भूकम्पबाट तहस-नहस भएका विशेष गरि मोटरबाटो नपुगेका हिमाली र उच्च पहाडी गाउँहरमा सरकारले सिधै खाद्यान्न लगायत अत्यावश्यक सामाग्री पठाउनुपर्छ । त्यहाँका जोखिमपूर्ण बस्तीका मान्छेलाई गासबास र रोजगारीको ग्यारेन्टीसहित पुनर्वासको योजना बनाउनुपर्छ ।

गाउँनै जोखिममा पर्ने गरी चिरिएका ठाउँमा विज्ञहरुको टेाली हेलिकोप्टरबाटै लगेर विस्तृत अध्ययन गराउनुपर्छ । ती बस्ती बस्न योग्य भए गाउँलाई भरोसा दिलाउनुपर्छ, नभए सार्नुपर्छ । तर, अब जनतालाई मानसिक दरिद्र, आशे र लोभीपापी बनाउनु हुँदैन भन्ने देखियो ।

सरकारले गाउँघरका ढुंगामाटाका घर सबैलाई एकै ठाउँमा हालेर परिवार गणना गरे उपयुक्त हुन्छ । आखिर गाउँतिरका माटेघर प्रायः सबै भत्किएका र चर्किएका छन् । जति ठाडा छन् ती पनि बस्न योग्य छैनन् । भूकम्प अघि भत्किएका घरलाई पनि भूकम्पले भत्कायो भनेर सिफारिस गराउन बाध्य पार्ने प्रवृति रोक्दै एउटै मापदण्डबाट वितरण गरे सहज हुन सक्छ ।

यो पनि पढ्नुहोस्

घरबेटी जुवा खेल्ने, स्वयंसेवक जोखिम मोल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment