Comments Add Comment

भूकम्पपीड़ितहरूको सहयोगार्थ बेलायतमा साहित्यिक च्यारिटी

UK relefe

लण्डन । गत बैशाखमा नेपालमा गएको विनाशकारी महाभूकम्पमा पीडित भएकाहरूको सहयोगार्थ बेलायतमा साहित्यिक च्यारिटी कार्यक्रम गरिएको छ ।

भूकम्पपीड़ितहरूको सहयोगार्थ बेलायतमा पहिलोपटक साहित्यिक च्यारिटी कार्यक्रम सम्पन्न गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र नेपाल मुक्तक मञ्च बेलायतको संयुक्त आयोजनमा शनिबार सर्जक र श्रोता दुबैले टिकट काटेर साहित्यवाचन र श्रवण गरे । लण्डनस्थित नेपाली एम्बेसीमा आयोजित उक्त ऐतिहासिक काव्यगोष्ठीमा प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति थियाे ।

कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य र प्राज्ञ बियोगी बुढाथोकीको विशेष उपस्थितिमा प्रखर नारी स्रष्टा लक्ष्मी राईले सञ्चालन गरेको गोष्ठीमा क़रिब दुई दर्जन स्रष्टाले गीत, गजल, मुक्तक र कविता सुनाए भने कन्दरा ब्याण्डका लोकप्रिय गायक विवेक श्रेष्ठले राष्ट्रभक्तिले भरिएको गीत गाए ।

समाजका लागि सिर्जना भनिँदै आएपनि समाजका लागि सर्जक भन्ने मान्यतासमेत स्थापित गर्नुपर्ने आवश्यकता बोध गरेर उक्त कार्यक्रमको परिकल्पना गरिएको अनेसास बेलायतका उपाध्यक्ष डा. रूपक श्रेष्ठले बताए । भानुजयन्तीका रूपमा समेत मनाइएको उक्त गोष्ठीमा कवि तथा समालोचक दुर्गाप्रसाद पोख्रेलले भानुभक्तमाथि प्रकाश पारेका थिए ।

सोही अवसर पारेर प्रखर युवा गजलकार नवराज घिमिरेको एकल गजल संग्रह ‘एकाग्र’को लोकार्पण समेत गरिएको थियो ।

साेही कार्यक्रममा टिकटबाट उठेको करिब एक लाख २० हजार रुपियाँ र समाजसेवी कृष्ण तिवारी र शिवजी श्रेष्ठबाट सहयोगस्वरूप प्राप्त भएको १६ हजार रूपैयाँ कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

-नारायण गाउँले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment