Comments Add Comment

सार्कमा कुन देशका बैंकको चुक्ता पुँजी कति ?

NRB-Photo
पुुष्प दुलाल

८ साउन, काठमाडौं । ‘सार्क राष्ट्रमा र नेपालभन्दा धेरै कम जनसंख्या भएका देशका बैंकहरुकोभन्दा नेपाली बैंकहरुको चुक्ता पुँजी निकै कम छ ।’ बिहीबार आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भने ।

मौद्रिक नीतिमार्फत गभर्नरले आगामी दुई वर्ष अर्थात् २०७४ असार मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने घोषणा गरे । पुँजी बढाउनु भनेको लगानी गर्न सक्ने क्षमता बढाउनु भएको उनको भनाई थियो ।

‘मुलुकको विकासका लागि ठूल्ठूला आयोजनाहरुको आवश्यकता छ’ गभर्नर नेपाल भन्छन् -सानो पुँजी भएका बैंकहरुले ठूला आयोजनामा लगानी गर्न सक्दैनन् । त्यसैले पुँजी बढाउने व्यवस्था गरिएको हो ।

कुनै आयोजनामा १ अर्ब रुपैयाँ ऋण दिनुपर्दा ५/७ वटा बैंक मिल्नुपर्ने विद्यमान अवस्था रहेकाले आफू त्यसलाई तोड्न चाहेको उनले बताए ।

गभर्नरले भनेजस्तै भौगोलिक हिसावले नेपालभन्दा धेरै सानो र करिब ७ लाख मात्रै जनसंख्या भएको मुलुक भुटानका बैंकहरुकोभन्दा नेपालका बैंकहरुको चुक्ता पुँजी डेढ गुणाले थोरै छ ।

हाल भुटाका बैंकहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्व नेपाली रुपैयाँ अर्थात ५ करोड डलर छ । तर, नेपालका बैंकहरुको चुक्ता पुँजी भने २ अर्ब रुपैयाँ अर्थात २ करोड अमेरिकी डलर मात्रै छ ।

सार्क क्षेत्रमा सबैभन्दा बढी पुँजी पाकिस्तानका बैंकहरुको छ । पाकिस्तानका बैंकहरुको न्यूनतम चुक्ता पुँजी १० अर्व रुपैयाँ अर्थात १० करोड डलर छ ।

त्यसैगरी, भारतीय बैंकहरुको ८ अर्ब ३० करोड रुपैयाँ अर्थात ८ करोड ३० लाख अमेरिकी डलर, अफगानस्थानका बैंकहरुको ७ अर्ब ७० करोड अर्थात ७ करोड ५० लाख डलर, बंगलादेशका बैंकहरुको ५ अर्ब २० करोड अर्थात ५ करोड २० लाख डलर, श्रीलंकको ३ अर्ब ९० करोड अर्थात ३ करोड ९० लाख डलर न्यूनतम चुक्ता पुँजी छ ।

मौदि्रक नीतिमार्फत राष्ट्र बैंकले बैंक तनथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभिन तीब्र दबाब दिएको छ । हाल रहेको ३० वटा वाणिज्य बैंकहरु गाभिएर १२/१३ वटा बने मात्रै राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी पुग्छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्बको हाराहारीमा छ ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक तथा निजी क्षेत्रद्धारा प्रवर्द्धित ग्लोबल आइएमई र प्रभू बैंकको मात्रै चुक्ता पुँजी ५ अर्ब बढी छ ।

एभरेष्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलगायतका बैंकहरुको चुक्ता पुँजी अहिलेपनि २ अर्ब रुपैयाँ मात्रै छ ।

बैंक/वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोवार गर्ने इजाजतपत्र सम्वन्धी नीतिगत एवं प्रकयागत ब्यवस्थाः २०६३ मा बैंकहरुको चुक्ता पुँजी २०७० असारमा २ अर्व पुग्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, बैंकरहरुले भने आगामी दुई वर्षमा हाल कायम रहेको चुक्ता पुँजीलाई चार गुणाले बढाएर ८ अर्ब रुपैयाँ बनाउनै नसकिने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्- उदार गभर्नर कठोर ! दुर्इ वर्षमा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment