Comments Add Comment

नेतृत्वमा आउने कुरालाई हल्का रुपमा लिनुभयो भने दुर्घटना हुनसक्छ : शेष घले

फाइल फोटो
फाइल फोटो

सिड्नी । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वमा आउने कुरालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

विभिन्न देशमा गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका भइरहेका बेला अध्यक्ष घलेले नेतृत्वमा आउने ब्यक्ति नै संस्थाको अनुहार भएकाले इमान्दार ब्यक्तिलाई चुन्न आग्रह गरे ।

‘नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।’ अध्यक्ष घलेले भने- ‘परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस्, यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।’

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अष्ट्रेलियाको पद हस्तान्तरण कार्यक्रमलाई शनिवार सिड्नीमा सम्बोधन गर्दै अध्यक्ष घलेले गैरआवासीय नेपालीप्रतिको आशा र भरोसा निकै बढेकाले गम्भीर हुन आग्रह गरे ।

‘अब गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने बिषय तपाइहरुकै हातमा छ । बिगत दुई बर्षमा संस्थालाई जसरी पुनःसंरचना गर्न खोजिएको छ, जे लक्ष्य र जिम्मेवारी लिन खोजिएको छ, त्यसलाई पुरा गर्ने चुनौती बाँकी नै छ ।’ अध्यक्ष घलेले भने ।

यस्तो छ घलेको सम्बोधनको पूर्ण पाठ-
सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अष्ट्रेलियाको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । हार वा जीत चुनावको अनिवार्य नियम भएकाले यसलाई स्वीकारेर गैरआवासीय नेपाली संघको मूल लक्ष्य कार्यन्वयनका लागि सम्पूर्ण अष्ट्रेलियाबासी गैरआवासीय नेपालीहरु नयाँ नेतृत्वमा थप एकताबद्ध भएर अगाडी बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

गैरआवासीय नेपाली साथीहरु,
आज गैरआवासीय नेपाली संघले नेपालभित्र तथा बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार, नेपाली जनता र गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, बिदेशी संघसंस्थाले एनआरएनलाई जति बिश्वाशिलो साझेदार सम्भिmएका छन्, त्यो एकै दिनमा वा सानो मेहेनतले सम्भव भएको हैन् ।

म आज आफ्नै आगनमा उभिएर गैरआवासीय नेपाली संघसँगको यात्रा अनुभव यहाँहरुसमक्ष बाँड्ने अनुमति चाहन्छु ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै यो संस्थामा बसेर देशलाई केही योगदान दिन सकिन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दैर् झण्डै दुई बर्ष अगाडी मैले गैरआवासीय नेपाली संघसँगको यात्रा थालेको थिएँ ।

त्यतिबेला मेरो मनमा केही डर भए पनि अहिले म तपाईहरुमाझ उभिएर गौरवसाथ भन्दैछु कि मैले यो दुई बर्षको अबधिमा एनआरएनएसँगै श्वास फेरेँ, एनआरएनएसँगै सुते र एनआरएनए उठेँ ।
म यति भन्न सक्छु कि यहाँहरुमध्ये धेरैले मैले जस्तै अनुभूति गर्नुभयो होला । यो यात्रामा तपाईहरुको साथ र सहयोगले नै गैरआवासीय नेपाली संघले दुई बर्षको अबधिमा नयाँ उचाई पाउन सफल भएको कुरा यहाँहरुलाई अवगत नै छ ।

यहाँहरुलाई थाहा छ कि दुई बर्ष अगाडी म गैरआवासीय नेपाली संघको नेतृत्वमा आउँदा संघको संजाल त थियो तर संरचना र स्थायित्वका आधारहरु थिएनन् । मेरो पहिलो कोसिस यसको संस्थागत संरचना बदल्ने र दीगोपन सुनिश्चित गर्नेतर्फ रह्यो, जसमा म केही हदसम्म सफल भएको अनुभव गरेको छु । आफ्नै भवन बनाउने गैरआवासीय नेपालीहरुको बर्षौंदेखिको सपना पुरा हुने निश्चित भएको छ । यसमा हामीले धेरै समय र मेहेनत लगाएका छौं, संसारभरका गैरआवासीय नेपालीहरुले यो अभियानलाई आफ्नै ठानेर अंगाल्नुभयो, एक एक डलर नै किन नहोस् आफ्नो गास काटेर भवन निर्माण अभियानलाई सहयोग गर्नुभयो र सफल बनाउनुभयो । यो सवै सफलताको भागीदार यहाँहरु नै हुनुहुन्छ ।

श्रम गन्तब्यहरुमा कार्यरत पिडीत नेपाली दाजुभाईको सहयोगका लागि हामीले एक कल्याणकारी कोष स्थापना गरी सरकारसँग मिलेर त्यसलाई कार्यन्वयन गर्ने तयारी गरिरहेका छौं । रोजगारीमा जानुपूर्व नै सूचना प्रवाह गरेर सगज बनाए मात्र उनीहरुलाई ठगिनबाट बचाउन सक्छौं भन्ने मेरा मान्यता छ । त्यसै शिलशिलामा नेपाल सरकार र विभिन्न संघसंस्थासँग मिलेर सूचना केन्द्र स्थापना गर्ने लगायतका काम सुरु भइसकेको छ । अबको मुख्य कार्यभार कल्याणकारी कोष परिचालन गरी दुःखमा रहेका हाम्रा नेपाली दाजुभाईको मुहारमा खुसी ल्याउनु हो ।

हामीले यो विचमा करिव एक दशकसम्म गैरआवासीय नेपालीको प्रमुख मुद्दा बनेको नागरिकताको मागलाई संविधानको प्रारम्भिक मस्यौदामा पार्न सफल भएका छौं । एक हदसम्म हामी यो बिषयमा सफल भइसकेका छौं, अब कसैले चाहेर पनि गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो धारणाबाट बञ्चित गर्न सक्दैन ।

नेपाल सरकारसँगको साझेदारीमा खुला बिश्वबिद्यालय स्थापना गर्ने हाम्रो धेरै बर्षदेखि प्रयत्न पनि अब सफलताउन्मुख छ । धेरै संघर्षपछि हामीले खुला बिश्वबिद्यालयको नीति निर्माण र संचालनमा गैरआवासीय नेपाली संघको सहभागितालाई सुनिश्चित गर्न सफल भएका छौं । यतिबेला बिधेयक तयार भएर पेश भइसकेको छ, मलाई बिश्वास छ अब हामीले धेरै बर्ष कुर्नुपर्दैन् ।

हामी भवन निर्माणको तयारीमा लाग्दै गर्दा मुलुक ऐतिहाँसिक महाभूकम्पको चपेटामा पर्‍यो । इतिहासमा पहिलोपटक गैरआवासीय नेपाली संघले यो विपत्तिको घडीमा आफ्नो सम्पूर्ण स्रोत साधन परिचालन गरी उद्दार तथा राहत र पुनःनिर्माण अभियानमा केन्द्रीत भयो । विश्वभरबाट करिव तीन सय एनआरएन स्वयंसवेक नेपाल पुगेर उद्धार र राहतमा खटिनुभयो । छोटो समयमै हामीले करोडौं रुपैयाँ संकलन गर्‍यौं, एनआरएन नेतृत्व तुरुन्तै भूकम्पग्रस्त क्षेत्रमा पुगेर राहत वितरणमा सक्रिय भयौं । दुई हप्ताको अवधिमा गाउँगाउँ पुगेर करिव १७ हजार परिवारलाई राहत वितरण गर्‍यौैं । हाम्रो सानो कोसिसले भूकम्पपिडीतको घाउमा अलिकति भएपनि मल्हम लगाउन सकेको महसुस भयो ।

हामीले यस्तो काम कहिल्यै गरेका थिएनौं । तर, यसले के देखायो भने हामी सवै मिलेर हातेमालो गर्‍यौं भने र राम्रो विचार छ भने कठिन काम पनि सम्पन्न गर्न सकिने रहेछ । तपाईहरु हरककोे सक्रिय सहयोगविना यो काम सम्भव थिएन । गैरआवासीय नेपाली संघप्रति देखाउनुभएको यो विश्वास र भरोसाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

विनाशकारी भूकम्पबाट हजारौं मानिसको ज्यान जानुका साथै लाखौं घरहरु पनि भत्किएका छन् । हाम्रो मान्तता छ कि, घर भत्किदा मान्छेको जीवन जिउने आधार र सुरक्षा नै कमजोर भएको छ यही कुरा मनन गरेर हामी यतिखेर मुलुक पुनःनिर्माणका लागि एक हजार घर निर्माणको संघारमा छौं । हामीले आफ्नै घर बनाउनु छ र हामीबाट आशा गरिरहेको नेपाली समुदायका लागि पनि घर बनाउनु छ ।

भूकम्पका दौरान हामीले जेजति काम गर्‍यौैं त्यसलाई सारा बिश्वले प्रसंसा गरिरहेको छ । सोही कारण अब एनआरएनको काँधमा अर्को जिम्मेवारी आएको छ मुलुक पुनःनिर्माण अभियानमा साझेदारी गर्ने ।

सामूहिक लगानीको बिषयमा होस् वा परोपकारी कामका सन्र्दभमा गैरआवासीय नेपाली संघले विगत दुई बर्षको अबधिमा धेरै फड्को मारिसकेको छ । मुलुकमा लगानी भित्राउने अभियानमा म नेतृत्वकर्ताका हैसियतमा आफै अग्रसर भएको छु भने थुप्रै गैरआवासीय नेपाली साथीहरुले पर्यटन, सेवा क्षेत्र र अन्य उद्योगमा पनि लगानी गरिरहनुभएको छ । यसले गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्ने उत्साह र आत्मविश्वास बढाएको महसुस गरेको छु ।

गएको २ बर्षमा गैरआवसीय नेपाली संघले गरेका क्रियाकलापबाट प्रवासमा बस्ने नेपालीहरुको संस्था प्रतिको मोह, ममता र बिश्वास बढेको छ । ७० देशमा रहेको एनसीसीहरुमा यस संस्थाको सदस्यता लिने संख्यामा उल्लेखनिय बृद्धि भएको छ । यो सबै संस्था प्रतिको अगाध माय र बिश्वासको फल हो भन्ने मैले ठानेको छु ।

हो, यो दौरानमा हामीले गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नै कठिनाई हुने गरी चुनौतीहरु आए तर, हामीले निकै संयमतापूर्वक कदम चाल्यौं । चाहे बेलायतको समस्या होस् वा अमेरिकाको, जहिँ तहिँ नेतृत्वको एकमात्र चाहना भनेको गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नु र त्यस्ता समस्याहरुको दिगो समाधान गर्नुबाहेक अरु केही थिएन् । हाम्रो एकमात्र उदेश्य बिदेशमा आर्जित सीप, ज्ञान र पूँजीलाई नेपालको सम्बृद्धिमा लगाउनेमै रह्यो र रहिरहने छ ।

यो अभियानमा हामी केही महत्वकाक्षीं पनि भयौं । चाहे भवन निर्माणका सन्दर्भमा होस्, चाहे नागरिकताको सन्दर्भमा होस् वा भूकम्पपछिको राहत र पुनःनिर्माणमै हाम्रा क्षमताभन्दा धेरै गर्ने लक्ष्य राख्यौं । एनआरएनए भवन पाँच करोडमै पनि बनाउन सकिन्थ्यो होला, पहिलेजस्तै नागरिकता हैन एनआरएन परिचयपत्रमै चित्त बुझाउन सकिन्थ्यो होला, बैदेशिक रोजगारका समस्या समाधान गर्ने वा राहत दिने काम हाम्रो हैन सरकारको हो भनेर पनि बस्न सकिन्थ्यो होला, अनि भूकम्पका बेला दुई चार करोड रुपैयाँ संकलन गरेर प्रधानमन्त्री राहत कोषमा दिएर औपचारिकता पुरा गर्न पनि सकिन्थ्यो होला । हामी महत्वकांक्षी भएरै धेरै उपलब्धी हाँसिल गरेका छौं, दुई बर्षको अबधिमा हाम्रोजस्तो कम्युनिटीबाट करिव ५० करोड रुपैयाँ संकलन गर्नु त्यही महत्वकांक्षाको परिणाम हो ।

यो महत्वकांक्षा पुरा गर्ने सवैभन्दा ठूलो शक्तिचाहिँ एनसीसी लेभलमा रहेर काम गर्ने तपाईहरुजस्तै साथीहरु हो । एनआरएन अष्ट्रेलियाले सवैजसो चुनौतीमा जहिले पनि आफुलाई अब्बल सावित गरिरहेको छ । चाहे सामूहिक लगानीको बिषयमा होस्, चाहे भवन निर्माणका सन्दर्भमा होस् वा भूकम्पपछिको राहत र पुनःनिर्माणमा एनआरएन अष्ट्रेलियाले आफुलाई सधै अग्रभागमा राखेको मैले पाएको छु ।

बिभिन्न देशका एनसीसीहरुमा नेतृत्व चुनिन लागेको यो सन्दर्भमा म के भन्न चाहान्छु भने नेतृत्व नै त्यो संस्थाको अनुहार हो । नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।

नेतृत्वका रुपमा तपाई अग्रभागमा भए पछि आफै अगाडी बढनुपर्छ, बिश्वाशिलो बनाउन आफैं लाग्नुपर्छ । दुई चारजना त्यस्तै बिश्वाशिला मानिस जोडिएपछि संस्था विश्वसनीय बन्छ ।

साथीहरु,
आजसम्म हामीले जेजति उपलब्धि हाँसिल गर्‍यौं, त्यसैमा चित्त बुझाएर, बिगतमा उपलब्धिप्रति गौरवमात्र गरेर बस्ने अबस्था छैन् । हाम्रा अगाडी अथाह सम्भावना र बिशाल चुनौती दुवै छन् । त्यसैले हाम्रा आगामी कदम पनि विगतमा जस्तै बुद्धिमतापूर्ण हुनुपर्छ, महत्वकांक्षी हुुनुपर्छ र विवेकशील हुनुपर्छ ।

हामीले अघि सारेको पुन:निर्माणको अभियान लगायतका महत्पूर्ण परियोजनाहरु हाम्रा अगाडि चुनौतिका रुपमा छन् । ति सबै परियोजनालाई सफल पार्दै समृद्ध नेपालका लागि हामी निरन्तर कार्यरत हुनुपर्ने अहिलेको आवश्यकता हो ।

दुई बर्षअघि मैले नेतृत्व लिँदा जे संस्थाप्रतिको अपेक्षा र भरोसा जे थियो त्यसभन्दा कैयौं गुणा बढि आशा र जिम्मेवारी बढेको छ । परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस् यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।

त्यसैले अब गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने बिषय तपाइहरुकै हातमा छ । बिगत दुई बर्षमा संस्थालाई जसरी पुनःसंरचना गर्न खोजिएको छ, जे लक्ष्य र जिम्मेवारी लिन खोजिएको छ, त्यसलाई पुरा गर्ने चुनौती बाँकी नै छ ।

अन्त्यमा, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै अघिल्लो कार्यसमितिका साथीहरुलाई उहाँहरुको महत्वपूर्ण योगदानका लागि धन्यबाद दिन चाहान्छु । मेरा केही भनाई राख्ने अबसर दिनुभएकोमा धन्यबाद ज्ञापन गर्दै बिदा चाहन्छु ।

धन्यबाद ।

जननी जन्मभूमी स्वर्गादपी गरियसी
जय नेपाल, जय एनआरएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment