Comments Add Comment

एमाओवादी कार्यकर्ताले भने- प्रचण्डभन्दा महेन्द्र बुद्धिमानी !

mahendra-and-prachanda२४ साउन, काठमाडौं । करिब-करिब पञ्चायतकालीन पाँच विकास क्षेत्रकै स्वरुपमा ६ वटा संघीय प्रदेश बनाउन चार दलका नेतावीच सहमति हुनासाथ एमाओवादी कार्यकर्तामा ठूलो तरंग उत्पन्न भएको छ ।

चार दलले ६ प्रदेशको सीमांकनमा सहमति जनाएलगत्तै एमाओवादी समर्थित क्रान्तिकारी पत्रकार खिलबहादुर भण्डारीले राति नै आक्रोशित हुँदै फेसबुकमा यस्तो स्टाटस लेखे- ‘यसोभन्दा राजावादी भन्लाऊ, राजतन्त्रकै विरुद्ध जेलनेल खाइयो, दुःख-कष्ट पनि भोगियो, तर तिमीहरुभन्दा त महेन्द्र धेरै बुद्धिमानी र दुरगामी ! तिमीहरु त ईश !’

Khila

चार दलको सहमतिपछि एमाओवादीका केन्द्रीय सदस्य रामरिझन यादवले राति नै धनुषाबाट अनलाइनखबरमा टेलिफोन गरेर भने, ‘मधेसको ठूलो अपमान भयो, म यो सहमति मान्दिँन, पार्टीले कारवाही गर्छ भने गरोस् ।’

त्यस्तै पूर्वजनमुक्ति सेनाका घाइते एवं एमाओवादी मोरङका कोषाध्यक्ष राम कार्कीले ६ प्रदेशको नक्सा हेरिसकेपछि सामाजिक सञ्जालमा लेखे- ‘संघीय नेपालको सीमांकन होइन, द्वन्द्वको रेखांकन कोरिएको हो नेपालको ।’

प्रचण्ड डराएका हुन् कि लोभमा फसेका ?

पूर्वलडाकू कार्कीले प्रचण्ड डराउनुभएको हो कि लोभमा फस्नुभएको भन्ने प्रश्न गर्दै फेसबुकमा यस्तो लेखेका छन्-
‘सम्झौताले कहिल्यै जनताको मुक्ति दिलाएको इतिहास छैन । सम्झौताले न्यायलाई मार्छ भन्थे, हो रहेछ, आज आएर पुष्टि भयो । जुन मुद्दाका लागि १० हजारले रगत बगाए, त्यसको नेतृत्व गरेको पार्टीको मुख्य नेतृत्व सिंहझैं गर्जिँदै मृत्यु स्वीकार छ तर मुद्दा छाडिँदैन भन्थ्यो । हामीलाई गर्व लाग्थ्यो ।

पूर्वलडाकु राम कार्की
पूर्वलडाकु राम कार्की

तर, आज देशले निकास पाउने र एक थान संविधान जारी हुने नाममा जनताका महत्वपूर्ण मुद्दामा सम्झौता गर्दै देशले निकास पाउने तर जनताले मुक्ति नपाउने, आन्दोलनमा जितेका तर सम्झौतामा हारेका छन् जनताले ।

आज जनयुद्ध गरेको पार्टीले सम्झौतामा हारेको छ । संविधान जारी गर्ने नाममा हिजो सिंहझैं गर्जने नेता आज भिजेको बिरालोजस्तो भएर साक्षी किनारामा बसेको पनि यिनै आँखाले हेर्नुपर्‍यो ।

होइन, प्रचण्ड कामरेड डराउनुभएको हो कि लोभ पापमा फस्नुभएको हो ? यो जनता र आन्दोलनलाई धोका दिनुभएको हो ? संविधान जारी भएपछि उहाँले अपनाउने रणनीतिले बताउला । तर, पनि प्रश्न उब्जिएको छ कि १० वर्षको जनयुद्ध ५ विकास क्षेत्रलाई नाम फेरेर राज्य भन्नमात्र थियो ? वा जनतालाई अधिकार सम्पन्न गर्न थियो ?

जनताको मागअनुसार संविधान नहुने भएपछि किन आत्मसमर्पण गर्नु ? किन सम्झौता गर्नु ? संविधान माओवादीलाई मात्रै चाहिएको हो ? देश असफल हुँदा माओवादीमात्रै असफल हुने हो र ? बरु जे गछौ गर, एमाले कांग्रेस तिम्रो दुई तिहाइले जारी गर, सदन रोक्दैनौं, सदन तिम्रो सडक हाम्रो भनेर सडकमा आए हुँदैन र ? जनताको माग अनुरुपको र भावना अनुरुप नभएको संविधानको साक्षी किनारा किन बस्नु ?

बाबुरामको बुझाउने प्रयास

Baburam Bhattraiपार्टीका अधिकांश कार्यकर्ताहरु ६ प्रदेशको खाकाप्रति अन्तुष्ट रहे पनि एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले ठोस परिस्थितिबारे कार्यकर्तालाई फेसबुकबाटै सम्झाउने प्रयास गरेका छन् ।

संविधान नबन्ने परिस्थितिमा सम्झौतामा जानु बाध्यता भएको र कमसेकम गणतन्त्रलाई संस्थागत गर्नु ठूलो उपलब्धी रहेको डा. भट्टराईको तर्क छ ।

डा. भट्टराईले भनेका छन्- ‘संविधान नै नवन्ने हो कि भन्ने आशंका रहिरहेको वेला केही अपूर्णता र कमी कमजोरीसहितकै भए पनि संविधान वन्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेकुरालाई तत्काल उलब्धीमूलक नै मान्नुपर्ला ! थप अधिकारको निम्ति त लड्दै जाने हो !’ बाबुरामको प्रतिक्रिया यहाँ पढ्नुहोस्

किराती भन्छन्-प्रचण्डले घुँडा टेक्यो भन्नेहरु प्रतिक्रियावादी हुन्

भोजपुरको ट्याम्केडाँडामा रहेका एमाओवादी स्थायी समिति सदस्य गोपाल किरातीले भने ६ प्रदेशसहितको संघीयतालाई स्वागत गरेका छन् ।

Gopal_Kirati‘संघीयताको सिद्धान्त र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मुद्दामा ६ प्रदेशको सीमांकनलाई स्वागत गर्नुपर्छ,’ किरातीले अनलाइनखबरसँग भने,’एमाओवादी समर्थित संयुक्त राष्ट्रिय मोर्चा ६ प्रदेशको यो निर्णयलाई दृढतापूर्वक स्वागत र समर्थन गर्दछ ।’

चार दलवीच ६ प्रदेशमा भएको सहमतिलाई लिएर प्रचण्डलाई घुँडा टेकेको आरोप लगाउनेहरुलाई एमाओवादी नेता किरातीले ‘प्रतिक्रियावादी’को संज्ञा दिए ।

किरातीले अनलाइनखबरसँग भने-‘प्रचण्डले घुँडा टेकेको भन्ने आरोप प्रतिक्रियावादी विचार हो, संविधानसभाबाट संविधान बन्न नदिएर प्रतिक्रान्ति निम्त्याउने षड्यन्त्र हो ।’

एमाओवादी कार्यकर्ताहरु, आदिवासी जनजाति एवं मधेसीहरुमा देखिएको असन्तुष्टिको कुनै अर्थ नरहेको किरातीले बताए । ‘यो भएन भन्दै असन्तुष्टि देखाउनुको अब कुनै अर्थ छैन,’ उनले भने-‘संघीयताको सिद्धान्त स्थापित भएपछि अब यसले क्रमशः पूर्णता पाउँदै जानेछ, ६ प्रदेशलाई १८ प्रदेशमा पुर्‍याइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment