Comments Add Comment

बन्दले पेट्रोलीयम पदार्थको आपूर्ति प्रभावित

८ साउन, काठमाडौं । दुई दिनको नेपाल बन्द र लगातार तराई बन्दले पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ । लगातारको बन्दका कारण बजारमा मागअनुसार आपूर्ति गर्न असहज भइरहेको छ ।

तर, नेपाल आयल निगमका प्रवक्ता सिताराम पोखरेलले पेट्रोलियम पदार्थको अभाव हुन नदिने बताए । उनले अनलाइनखबरसँग भने, ‘हामी स्कर्टिङ गरेर भए पनि इन्धन ल्याउँछौं । तर अभाव हुन दिँदैनौं । ढुक्क भए हुन्छ ।’

प्रवक्ता पोखरेलका अनुसार थानकोट डिपोमा ३ दिनलाई पुग्ने पेट्रोल भण्डार छ । उनका NOCअनुसार डिपोमा अहिले ११ सय ९ किलोलिटर पेट्रोल स्टक छ । डिजेलको स्टक भने ५ हजार ८ सय किलोलिटर छ । खाना पकाउने ग्याँस भने पर्याप्त स्टक रहेको निगमले जानकारी दिएको छ ।

काठमाडौंमा डिजेल भन्दा पेट्रोलको माग बढी छ । अहिले बजारमा दैनिक ४ सय किलोलिटरभन्दा बढी पेट्रोल माग छ ।

त्यसअनुसार आपूर्ति नहुँदा अभाव सिर्जना हुन थालेको पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्रकुमार प्रधानले जानकारी दिए । सोमबार आयल निगमले बजारमा १ सय ४० किलोलिटर मात्रै पेट्रोल पठाएको छ ।

रक्सौलबाट तेल भरेर हिँडेका ट्याङ्कर बन्दका कारण बाटोमै अलपत्र परेका छन् । दुई दिनको नेपाल बन्द र सोमबार तराई क्षेत्रमा भडि्कएको हिंसाका कारण ट्याङकरहरु बाटामै अलपत्र परेका हुन् । प्रहरी स्कर्टिङ गरेर तेल काठमाडौं ल्याउन पहल भइरहेको निगम प्रवक्ता पोखरेलले बताए ।

वीरगञ्जदेखि रक्सौलको बरौनीसम्म नेपाल आउन हिँडेका सवारीहरुको लामो जाम भएकाले समस्या परेको निगमले जनाएको छ । खाद्य संस्थानसहित निगमका अत्यावश्यक सामग्री बोकेका सवारीलाई विशेष सुरक्षा दिएर ल्याउन वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत समन्वय गरिएको पोखरेलले जानकारी दिए ।

बन्दका कारण अभाव हुन्छ की भनेर उपभोक्ताले इन्धन सन्चित गर्न थालेका छन् । त्यसैले अघिल्ला दिनको तुलनामा मंगलबार इन्धन बढी बिक्री भएको छ । ३ लाख ८४ हजार लिटर पेट्रोल, ४ लाख ६६ हजार लिटर डिजल र ४८ हजार लिटर मट्टितेल मंगलबार बिक्री भएको निगम प्रवक्ता पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment