Comments Add Comment

जनयुद्धको अपनत्व जनतालाई नदिँदाको परिणाम

पुरन केसी

यतिवेला एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता कार्यकर्ताहरु आफ्नो पार्टीको भविष्य नाप्दै र खोज्दै व्यापक वहसमा छन् । संविधान निर्माणको प्रक्रिया पेचिलो बनिरहँदा पनि केही नेता मात्र व्यस्त हुनु र अधिकांश नेता कार्यकर्ता फुर्सदिला भएकाले पनि संविधान निर्माण प्रक्रिया टुङ्गिनु अगावै बहसले व्यापकता पाउन थालेको हो ।

Puran-Kcनेपालमा भएको कम्युनिष्ट पार्टी र हुनुपर्ने कम्युनिष्ट पार्टीकाबीचमा दूरी बढ्दै गएपछि उत्पादन सम्बन्धले निर्माण गरेको चेतनालाई सम्बोधन गर्दै समाजवाद निर्माणको कार्यक्रम र लागू गर्ने पार्टीको महशुस गरी हालको एमाओवादीको पुनर्गठनको विषय बहसमा छ । सवाल संविधान निर्माणअघि वा पछि भन्ने हुन सक्छ तर वहस अनिवार्य र आवश्यक छ ।

सत्यकुरा इतिहासले समय समयमा सबैलाई स्तब्ध बनाएर गम्भीर प्रश्नहरु उठाईदिन्छ, त्यतिबेला पुराना मूल्य मान्यता, नियमहरु फिका हुन पुग्दछन् तर पनि कसैले न कसैले आविष्कार भएका नयाँ नयाँ तथ्यहरुको आधारमा जवाफ दिने आँट गर्नैपर्ने हुन्छ । तापनि परिस्थिति अथवा जनमत प्रतिकूल किन नहोस् ? युरोपमा विकसित पूँजीवादले मानव सभ्यतामाथि गम्भीर प्रश्नहरु उठाई दियो । फलस्वरुप माक्र्सवादको जन्म भयो । जसले विद्यमान समस्याको समाधानको रुपमा समाजवादलाई दुनियाँको सामु प्रस्तुत गर्‍यो । अर्थात माक्र्स, एङ्गेल्सले जवाफ दिने आँट गरे ।

विज्ञानको जगतमा दुई हजार वर्षसम्म एकछत्र शासन गरेको एरिष्टोटलको बैज्ञानिक सिद्धान्तमाथि प्रश्नहरु उठ्यो । विकसित भएका नयाँ नयाँ तथ्यहरुको आधारमा परिस्थिति प्रतिकुल नहुँदा पनि ग्यालिलियोहरुले जवाफ दिने आँट गरे । न्यूटनको यन्त्रविज्ञानमा सुक्ष्म जगतले प्रश्न उठाएपछि आइन्सटाइनले त्यसको जवाफ दिने आँट गरे । एउटा वैज्ञानिक सिद्धान्तको सामु समयको क्रममा यस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो । किनभने विज्ञानले निरन्तर अध्ययन अनुसन्धानको माग गर्दछ । नयाँ तथ्यको आगमनसँगै पुराना निष्कर्षहरु र सिद्धान्तहरु अपर्याप्त हुन थाल्दछन् ।

त्यसकारण धेरै प्रश्नहरु जन्मिने गर्दछ । अहिले एमाओवादी आन्दोलनको सामु पनि इतिहासले त्यही गम्भिर प्रश्न उठाएको छ । माओवादी आन्दोलन दिनदिनै कमजोर हुँदै जानु, वर्ग धरातल छोड्नु यसको प्रमाण हो ।

केही दिन पहिले एनेकपा माओवादी, एकताकेन्द्र मसाल पृष्ठभूमीका केही नेता कार्यकर्ताले काठमाडौंको सोल्टीमोडस्थित एभरेष्ट कलेजमा गरेको छलफलले संचार माध्यमहरुमा र सामाजिक सञ्जालहरुमा व्यापक चर्चाको विषय बनेको छ । एभरेष्ट कलेजमा भएको छलफलमा कस्तो अनुहार भएका को-को थिए भनेर पनि विभिन्न कोणहरुबाट चर्चाहरु भएका छन् त्यो स्वभाविक नै छ । तथापि, त्यो मुख्य विषय भने होइन ।

मुख्य विषय त छलफलको विषयवस्तु र छलफल गर्नुको उद्देश्य हो । यतिबेला एमाओवादी नेता कार्यकर्ताको धेरै कुरामा भिन्नताहरु भए पनि पार्टी विगि्रएको कुरामा भने सबैको साझा मत पाउन सकिन्छ । नेपालका भएको पार्टीहरुमध्ये तुलना गर्दा राम्रो र क्रान्तिकारी पार्टी एमाओवादी नै हो तर हुनुपर्ने कम्युनिष्ट पार्टी नभएको सबैको साझा मत हो । फेरि सत्य कुरा नै यही हो । पार्टीको केन्द्रीय समितिको बैठकले पटक-पटक विभिन्न बुँदामा पार्टीको कमजोरीहरु पनि स्वीकार नगरेको चाहीँ होइन । तर रुपान्तरण भने हुन सकेन । सबै नेता कार्यकर्ता सहमत भएको र रुपान्तरणको अनिवार्य ठानिएका विषयमा मन मिल्नेहरु सामुहिक रुपमा छलफल गर्नु, चिन्तन गर्नु के अपराध हो ? आज संचारमाध्यम र सामाजिक सञ्जालहरुमा आएका केही विषयहरु हेर्दा यस्तो लाग्छ कि सामुहिक रुपमा गरिएको वहस छलफल अपराध नै हो । युद्घ नलडेकाहरुले पार्टी निर्माणकोबारेमा छलफल गर्नु अनैतिक हुनेछ ।

साँचो कुरा नेपाली समाजको आजको उपलब्धीको प्रमुख कारण जनयुद्घकै भूमिका हो । कुनैबेला नेपालका बामपन्थी पार्टीहरु, कम्युनिष्ट जनताहरु सबैले जनयुद्घको अपनत्व लिन खोजे तर माओवादी नेता, कार्यकर्ताहरुले अन्य पार्टी र जनताहरुलाई्र जनयुद्घको अपनत्व लिन दिएनन् आˆनो ठूलो त्यागले मात्र युद्घ सम्भव भएको र त्यसको अपनत्व युद्घमा सामेल भएकाहरुले मात्र लिनुपर्ने बुझाई रह्यो । परिणाम स्वरुप आज जनयुद्घको महत्वपूर्ण उपलब्धीलाई र युद्घकालमा विकास भएका संस्कृतिहरुलाई जोगाउन धेरै गाह्रो भइरहेको छ ।

माओवादी आन्दोलनलाई माया गर्ने जनमत घटिरहेको छ । त्यस्तो गल्ती पार्टी निर्माणको वहसमा पटक्कै गर्नु हुँदैन । गुटलाई संस्थागत गर्न र सत्ता भागवण्डामा हालीमुहाली गर्न माओवादी आन्दोलनको रुपान्तरणको वहस हुन्छ भने त्यस्ता वहस छलफलहरुलाई कुनै स्थान दिनु आवश्यक छैन ।

अबको केही समयभित्र नेपाली समाजको गत्यावरोध अन्त्य हुनेछ । संविधान निर्माणसँगै ७० वर्ष लामो नेपाली समाजको एउटा प्रक्रियाले विट मार्ने निश्चित छ । समाजवाद निर्माणको बाटो अब हामी कसरी निर्माण गर्छौ । कस्तो पार्टी निर्माण गर्छौ । कस्तो कम्युनिष्ट पार्टी बनाउँछौ हामी धेरै प्रश्नकोबीचमा उभिएका छौं । आजको सार्थक मेहनतले मात्र भोलिको यात्रा सुखद र भरपर्दो हुनसक्छ । त्यसका लागि कुनै गुट निर्माण गर्नु आवश्यक छैन । सङ्कीर्ण भएर साँघुरो घेरा बनाउनु पनि आवश्यक छैन ।

पार्टी फोड्ने निष्कर्ष निकाल्नु पनि आवश्यक छैन । समाजवाद निर्माणका निम्ति कम्युनिष्ट आन्दोलन बनाउन तयार भएकाहरुकाबीच इतिहासले सोधेका यक्ष प्रश्नहरुको उत्तर दिने आँटसहित आविष्कार भएका नयाँ तथ्यहरु सहित बदलिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा जवाफ दिने आँट आज नै गर्नुपर्ने हुन्छ ।

एरिष्टोटलले आफ्नै गुरु प्लेटोको सन्दर्भमा भनेका थिए- ‘प्लेटो प्रिय छन्, तर त्यो भन्दा पनि प्रिय सत्य छ ।’ आज हाम्रो सामु पनि यहि भनाई सान्दर्भिक छ । माओवादी पार्टी, त्यसका नेताहरु प्रचण्ड, बाबुराम, प्रकाशहरु प्रिय छन् तर त्यो भन्दा पनि पि्रय सत्य छ । आजको यथार्थता पनि यहि हो । माओवादी आन्दोलनभित्र घोषित/अघोषित छलफलहरु उत्कर्षमा नै छन् । कुनै छलफल वहसहरु संचार माध्यमको समाचार बने होला, कुनै बनेन होला, के माओवादी आन्दोलन भित्र वहस छैन ? नेता कार्यकर्ताहरु वहसमा छैनन् ? छन् र आवश्यकता पनि हो ।

यो कसैको रहरले सिर्जना गरेको विषय पनि होइन । उत्पादन सम्बन्धले निर्माण गरेका नयाँ चेतनाहरुको माग हो । यो वस्तुगत आवश्यकताको उपज हो । त्यसकारण निःसंकोच माओवादी आन्दोलनका सामु देखापरेका प्रश्नहरुको उत्तर दिने अाँट कसै न कसैले गर्नैपर्छ । पार्टी निर्माणको वहसमा सामेल होऔं । समाजवाद निर्माणको लागि नयाँ ढंगको कम्युनिष्ट पार्टी बनाऔं । समाजवाद जिन्दावाद ।

(लेखक, एमाओवादीसम्बद्ध अखिल क्रान्तिकारी, काठमाडौं विश्वविद्यालयका संयोजक हुुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment