गर्भावस्थाका अन्तिम दिनमा कठिन योग आसनहरू प्रदर्शन गरेकी एक भारतीय महिला सामाजिक सञ्जालमा चर्चित भइरहेकी छिन् । उनले गरेका कठिन योगासन यो अवस्थामा कति सुरक्षित हो ? भन्ने विषयमा सोसल मिडियामा बहस चलिरहेको छ ।
बैंग्लोर निवासी यी महिलाको गर्भ ४० हप्ताको पुगिसकेको छ । २ दिनअघि मात्रै पनि उनले योग गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले गर्भावस्थामा योग गर्दै गरेको फोटो/भिडियोहरू नियमित रूपमा राख्ने गरेको देखिन्छ ।
खासमा उनीबारे चर्चा चाहिँ अघिल्लो साताबाट सुरु भएको हो । जसमा उनले साडी लगाएर योग गर्दै गरेका तस्वीर र भिडियो सोसल मिडियामा राखेकी छिन् । त्यसमा उनले कठिन खालका आसन समेत प्रदर्शन गरेकी छिन् ।
३९औं हप्तामा प्रवेश गर्दै भन्दै उनले त्यसमा आफ्ना अनुभूतिहरू समेत उल्लेख गरेकी छिन् ।

यसपछि ‘यो अवस्थामा यस्ता कठिन आसनमा योग गरेर जोखिम मोल्नु ठिक हो कि होइन ?’ भन्ने विषयमा चर्चा भएको हो । शशी प्रभा द्विवेदी नाम गरेकी यी महिला पेसाले योगा शिक्षक तथा व्यवसायी हुन् ।
उनको फोटो/ भिडियोहरूमा लाखौं भ्युज तथा हजारौं प्रतिक्रियाहरू आएका छन् ।
प्रतिक्रिया दिने धेरैले गर्भावस्थाको यो चरणमा उन्नत योग आसनहरू जोखिमपूर्ण हुने तर्क गरेका छन् । बच्चालाई हुने जोखिमबारे पनि ध्यान दिन भन्दै सुझाव समेत दिइरहेका छन् । कसैले भने साहसी नारी भन्दै उनको प्रशंसा गरेका छन् ।
के यो अवस्थामा यस खालको योग गर्नु सुरक्षित हुन्छ ?
गर्भावस्थामा शारीरिक व्यायाम आवश्यक भए पनि यस खालको योगा गर्नु सबैका लागि सुरक्षित नहुने विज्ञहरूले बताएका छन् । गर्भावस्थाको अन्तिम चरणहरूमा शरीरको सन्तुलन परिवर्तन हुन्छ । अत्यधिक झुक्ने, सन्तुलन मिलाउने, वा पेटमा धेरै नै दबाब पर्ने किसिमका योग आसनहरूले जोखिम बढाउन सक्ने विज्ञहरूको भनाइ छ ।
त्यसैले विज्ञहरूले महिलाहरूलाई हल्का व्यायाम अभ्यास गर्न सल्लाह दिन्छन् । आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर विशेषज्ञ चिकित्सकको सल्लाह तथा योग शिक्षकहरूको परामर्शका आधारमा मात्रै शारीरिक अभ्यासका तरिका अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
आँखा चिम्लेर सामाजिक सञ्जाललाई पछ्याउनु गतल
सामाजिक सञ्जालतिर अरूले गरेको देखेर त्यसलाई पूरा विश्वास गरी पछ्याउनु पनि जोखिमयुक्त हुन सक्ने विज्ञहरू बताउँछन् । अरूले देखाएकै आधारमा योग आसन वा व्यायामहरूको नक्कल गर्नु उचित नहुने उनीहरू बताउँछन् ।
गर्भावस्थामा फिटनेसका नयाँ तरिका अपनाउँदा होस या फरक खालको दिनचर्या सुरु गर्नुपर्दा होस्, त्यो भन्दा अघि डाक्टरसँग परामर्श अनिवार्य लिन विज्ञहरूको सुझाव छ ।
प्रतिक्रिया 4