+

रुघा लागेको समयमा आँप खान हुन्छ ?

२०८३ जेठ  २७ गते १३:५० २०८३ जेठ २७ गते १३:५०

बजारमा पाइने केही आँपमा विषादी वा पकाउने क्रममा प्रयोग गरिएका रसायनको अवशेष हुन सक्ने भएकाले आँप राम्रोसँग पखालेर मात्र खानुपर्छ ।

Shares
रुघा लागेको समयमा आँप खान हुन्छ ?

बजारका फलफूल पसलहरू यतिबेला हरिया र पहेला आँपले भरिएका छन् । सामाजिक सञ्जालदेखि घरका भान्सासम्म आँपको चर्चा छ । गर्मी छल्न मानिसहरू चिसो जुस, स्मुदी र विभिन्न परिकारमा आँपको स्वाद लिइरहेका छन् । तर यही मौसममा रुघाखोकी, घाँटी दुख्ने र भाइरल संक्रमणका बिरामी पनि बढिरहेका छन् ।

त्यसैले, यो समस्याको सामना गरिरहेका आँपप्रेमी धेरैको मनमा एउटा जिज्ञासा उब्जिनु स्वभाविक हुन जान्छ । त्यो हो, रुघा लागेको बेला आँप खानु ठीक हो ?

रुघा लागेपछि फलफूलमा पनि विभिन्न बन्देज लगाउने चलन पुरानै हो । कसैले आँप खाँदा खकार बढ्छ भन्छन्, कसैले घाँटी बस्छ भन्छन् । कतिपय त रुघाखोकी निको नभएसम्म आँप नछुन सल्लाह दिन्छन् ।

के आँपले वास्तवमै रुघाखोकीमा असर गर्छ, त ?

रुघा लागेको बेला आँप खान नहुने भन्ने धारणा व्यापक भए पनि यसको स्पष्ट वैज्ञानिक प्रमाण भने छैन । रुघा भाइरसका कारण हुने रोग हो । आँप खाएको भरमा भाइरसको संक्रमण बढ्ने वा रुघा झन् खराब हुने प्रमाणित भएको छैन ।

तर केही व्यक्तिले आँप खाएपछि घाँटीमा चिप्लोपन, कफ बढेको अनुभूति वा घाँटी चिलाउने समस्या महसुस गर्न सक्छन् । यस्तो अनुभवका कारण आँपलाई रुघाखोकीको शत्रुका रूपमा चित्रण गरिएको हुन सक्छ ।

किन केही मानिसलाई असहज महसुस हुन्छ ?

वैज्ञानिक रूपमा हेर्दा आँपमा रुघाखोकी बढाउने कुनै प्रमाणित तत्व छैन । तर केही व्यक्तिमा यसले असहजता निम्त्याउन सक्छ । आँपमा प्राकृतिक चिनीको मात्रा तुलनात्मक रूपमा बढी हुन्छ । अत्यधिक मात्रामा आँप खाँदा मुख र घाँटीमा हानिकारक केही सूक्ष्मजीवहरूको वृद्धि हुन अनुकूल वातावरण बन्न सक्छ ।

यही कारण केही व्यक्तिलाई घाँटी खसखसाउने, बाक्लोपन महसुस हुने वा कफ बढेजस्तो अनुभव हुन सक्छ । विशेषगरी घाँटीमा पहिले नै संक्रमण भएको अवस्थामा धेरै गुलियो खानेकुराले असहजता बढाउन सक्छ ।

त्यस्तै, फ्रिजमा राखेर अत्यधिक चिसो बनाइएको आँपले घाँटीको श्लेष्मा झिल्लीलाई अस्थायी रूपमा संवेदनशील बनाउन सक्छ । यसले घाँटी खसखसाउने, खोकी बढेजस्तो महसुस हुने वा पहिले नै सुन्निएको घाँटीमा थप असहजता सिर्जना गर्न सक्छ । यद्यपि, चिसो आँपले प्रत्यक्ष रूपमा रुघा गराउँछ भन्ने वैज्ञानिक प्रमाण भने छैन ।

अर्कोतर्फ, बजारमा पाइने केही आँपमा प्रयोग गरिएका विषादी वा अन्य रसायनका अवशेषले पनि संवेदनशील व्यक्तिमा एलर्जी, घाँटी चिलाउने वा पोल्ने हुन सक्छन् । त्यसैले, समस्या आँपभन्दा पनि त्यसको भण्डारण, प्रशोधन वा सेवन गर्ने तरिकासँग सम्बन्धित हुन सक्छ ।

कुनै–कुनै व्यक्तिमा आँपप्रति एलर्जी पनि हुनसक्छ । आँप खाएपछि ओठ, मुख वा घाँटी चिलाउने, र्‍यास आउने वा अन्य एलर्जिक लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

आँप पोषणले भरिपूर्ण फल हो

आँपमा भिटामिन ए, भिटामिन सी, फाइबर, पोटासियम तथा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छन् । विशेषगरी भिटामिन सी शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोगी मानिन्छ ।

रुघाखोकी प्रायः भाइरल संक्रमणका कारण हुने भएकाले शरीरलाई संक्रमणसँग जुध्न पर्याप्त पोषण आवश्यक पर्छ । यही कारण आँपजस्ता पौष्टिक फलले शरीरलाई आवश्यक ऊर्जा र पोषक तत्व उपलब्ध गराउन सक्छन् ।

रुघा लागेको बेला आँप निर्धक्कसँग कसरी खाने ?

आँप पोषणले भरिपूर्ण फल भएकाले रुघा लागेको बेला पनि सन्तुलित मात्रामा खान सकिन्छ । तर केही सावधानी अपनाउनु राम्रो हुन्छ ।

-अत्यधिक चिसो बनाइएको आँप नखाने ।

– एकैपटक धेरै मात्रामा सेवन नगर्ने ।

– आँपसँगै प्रशस्त पानी पिउने ।

– घाँटी अत्यधिक दुखिरहेको छ भने शरीरको प्रतिक्रिया हेरेर खाने ।

– मधुमेह भएका व्यक्तिले सीमित मात्रामा सेवन गर्ने ।

बजारमा पाइने केही आँपमा विषादी वा पकाउने क्रममा प्रयोग गरिएका रसायनको अवशेष हुन सक्ने भएकाले आँप राम्रोसँग पखालेर मात्र खानुपर्छ । आँपलाई केही समय सामान्य तापक्रममा राख्ने र खानुअघि मनतातो पानीमा केहीबेर भिजाउँदा सतहमा रहेका केही रसायन तथा फोहोर हटाउन मद्दत पुग्न सक्छ ।

मुख्य कुरा, आँप खाएपछि आफूलाई कस्तो महसुस हुन्छ भन्ने बुझ्नु हो । शरीरले असहज संकेत दिइरहेको छ भने केही दिन सेवन कम गर्न सकिन्छ ।

रुघा लागेको बेला खानुपर्ने अन्य खानेकुरा

रुघाबाट छिटो निको हुन फलफूल मात्र पर्याप्त हुँदैन । शरीरलाई पर्याप्त तरल पदार्थ, आराम र सन्तुलित आहार पनि आवश्यक पर्छ ।

तातो सुप, झोलिलो खाना, प्रशस्त पानी, कागती पानी, मौसमी फलफूल तथा पोषणयुक्त आहारले शरीरलाई संक्रमणसँग लड्न सहयोग गर्छन् । पर्याप्त निद्रा र आरामले पनि रोग निको हुने प्रक्रियालाई तीव्र बनाउँछ ।

आँप रुघा
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय