+

गर्मीको समयमा धूम्रपान गर्नु फोक्सोलाई दोहोरो मार

२०८३ जेठ  २६ गते १५:३२ २०८३ जेठ २६ गते १५:३२
गर्मीको समयमा धूम्रपान गर्नु फोक्सोलाई दोहोरो मार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मीको समयमा धूम्रपान गर्दा फोक्सो र मुटुमा थप दबाब परी श्वासप्रश्वासमा गम्भीर समस्या निम्तिने चिकित्सकहरू बताउँछन् ।
  • अत्यधिक गर्मीका कारण हुने निर्जलीकरण र चुरोटको धुवाँका विषाक्त रसायनले श्वासनलीमा बढी जलन तथा संक्रमण गराउँछन् ।
  • गर्मीमा हावा आउजाउ नहुने बन्द कोठाभित्र धूम्रपान गर्दा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिला बढी जोखिममा पर्छन् ।

देशका धेरै ठाउँमा अहिले गर्मी निकै बढिरहेको छ । गर्मी बढ्यो भन्दैमा मान्छेले लागेको लत छाड्दैनन् । यस्तै एक लत हो धूम्रपान गर्ने बानी । तर गर्मीको समयमा धूम्रपान गर्दा फोक्सोमा दोहोरो आक्रमणको मारमा पर्ने विज्ञहरू बताउँछन्।

श्वासप्रश्वास समस्या हुने फोक्सो सुन्निने र गम्भीर रोगहरूको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । यदि तपाईं गर्मीको समयमा चुरोट पिउनुहुन्छ भने, तपाईंले आफ्नो शरीरमा देखा पर्ने केही लक्षणहरूलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन ।

गर्मीको बेला शरीरले तापक्रम नियन्त्रण गरी सन्तुलन कायम राख्न कडा परिश्रम गर्नुपर्छ । धूम्रपानले फोक्सो र मुटु दुवैमा थप दबाब दिन्छ । यसले सास फेर्न गाह्रो हुने, छाती कसिलो हुने र अक्सिजनको कमी जस्ता समस्याहरू बढाउन सक्छ।

अत्यधिक गर्मीले निर्जलीकरण निम्त्याउन सक्छ । पर्याप्त पानीको अभावले श्वासप्रश्वास प्रणालीमा ओसिलोपन कम गर्छ र श्वासनलीलाई अझ संवेदनशील बनाउँछ । यस्तो अवस्थामा चुरोटको धुवाँमा रहेका विषाक्त पदार्थ र रसायनहरूले श्वासनलीमा अझ बढी जलन पैदा गर्छ ।

यो प्रभाव विशेष गरी दम, एलर्जी, सीओपीडी(श्वास-नली साँघुरो हुने समस्या) वा अन्य फोक्सोसम्बन्धी रोग भएका व्यक्तिलाई बढी असर पर्छ ।

चुरोटको धुवाँले फोक्सो सफा गर्ने सिलियालाई क्षति पुर्‍याउँछ भनी व्याख्या गर्छन् । गर्मीको समयमा बढेको हावाको तापक्रम र प्रदूषणले यो क्षतिलाई बढाउन सक्छ, जसले गर्दा फोक्सोको संक्रमण र सुन्निने समस्या देखापर्ने जोखिम रहन्छ ।

गर्मीको समस्या र धूम्रपानको संयुक्त प्रभाव बिस्तारै वा अचानक प्रकट हुन सक्छ । केही लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन, जस्तै लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा कसिलोपन, बढ्दो थकान, चक्कर लाग्ने वा कमजोरी, छाती घ्यारघ्यार हुने समस्या देखिन सक्छ ।

यदि गर्मीको समयमा यी लक्षणहरू देखिएका छन् भने तुरुन्त चिकित्सकीय जाँच गर्नुपर्छ ।

धूम्रपान गर्नेको नजिक बस्नेलाई पनि जोखिममा

धूम्रपान गर्नेहरू मात्र होइनन् तर धूम्रपान गर्ने व्यक्तिको नजिक बस्नेहरू पनि जोखिममा हुन्छन् । यस अवस्थाका व्यक्तिलाई ‘सेकेन्डह्याण्ड स्मोकर’ भनिन्छ ।

घर भित्र वा बन्द ठाउँमा धूम्रपान गर्नाले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरूको फोक्सोमा गम्भीर असर पर्न सक्छ । गर्मीको वातावरण र हावा राम्रोसँग पास नहुने ठाउँमा धूँवाका कणहरू लामो समयसम्म रहिरहने हुनाले ‘सेकेन्डह्याण्ड स्मोकर’ पनि गर्मीको समयमा बढी जोखिममा पर्छन् ।

यस्तो जोखिमबाट बच्न के गर्ने त ?

–धूम्रपान छोड्ने तथा सकेसम्म कम गर्ने

–प्रशस्त पानी पिउने

–शरीरलाई शीतल बनाएर राख्ने

–कोठाभित्र धूम्रपान नगर्ने

–बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू नजिकै भएका बेला धूम्रपान नगर्ने

–माथि उल्लेख गरिएका जस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिएर उपचार गर्ने ।

गर्मी एक प्राकृतिक चुनौती हो, तर धूम्रपान नियन्त्रण गर्न सकिने जोखिम हो । त्यसैले, गर्मीको समयमा फोक्सोलाई जोगाउन धूम्रपानबाट टाढा रहनु सबैभन्दा प्रभावकारी कदम हो ।

धूम्रपान फोक्सो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय