0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बर्दियास्थित ‘टाइगर ट्र्याक इकोलज’ विश्वचर्चित वास्तुकला पुरस्कारको एक विधामा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १८:०३

२७ जेठ, काठमाडौं । बर्दियास्थित टाइगर ट्र्याक इकोलज विश्वकै चर्चित वास्तुकला पुरस्कार ‘आर्किटाइजर ए+ अवार्ड २०२६’ मा पुरस्कृत भएको छ । प्रतियोगितामा टाइगर ट्र्याक इकोलज ‘सस्टेनेबल हस्पिटालिटी बिल्डिङ’ अन्तर्गत ‘पपुलर च्याइस विनर’ विधामा विजेता बनेको हो ।

गैर-नाफामूलक संस्था बिल्डिङ ब्युरोले डिजाइन गरेको यो दिगो पर्यटन संरचनाले स्थानीय थारु वास्तुकला, पर्यावरणमैत्री सामग्री र सामुदायिक हितलाई जोडेर अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गरेको हो ।

सन् २०२६ मा निर्माण सम्पन्न भएको यो लज बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता करिडोर नजिकै छ । करिब ४ हजार २५० वर्गफिट क्षेत्रफलमा फैलिएको यो लज परम्परागत थारु शैलीबाट प्रेरित छ । यसमा आधुनिक कंक्रीटको सट्टा र्याम्ड अर्थ (माटोको पर्खाल), भूकम्प प्रतिरोधि स्टिल रिबार संरचना र पुराना घरहरूबाट संकलित टेराकोटा टाइलको छानाको प्रयोग गरिएको छ ।

सन् १९७० को दशकमा निकुञ्ज स्थापनाका क्रममा विस्थापित थारु समुदाय अहिले बफर जोन क्षेत्रमा बसोबास गर्दै आएका छन् । यस क्षेत्रमा करिब एक लाख जनसङ्ख्या वन पैदावारमा निर्भर छ । यही पृष्ठभूमिमा वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि टाइगर ट्र्याक इकोलज स्थापना गरिएको हो ।

वन्यजन्तुको आक्रमणमा आफ्ना पिता गुमाएका हेमन्त आचार्यको पहलमा यो परियोजना अघि बढाइएको हो ।

सामाजिक योगदान

लजको आम्दानीको एक हिस्सा एकल महिला वन्यजन्तु पीडित कोष मा जम्मा हुन्छ, जसले वन्यजन्तु आक्रमणबाट परिवार गुमाएका महिलाहरूलाई स्वरोजगार र उद्यमशीलताका लागि आर्थिक सहयोग गर्दछ । यसैगरी यसले समुदाय-आधारित एन्टि-पोचिङ युनिट (सीबीएपीयू) लाई पनि आर्थिक सहयोग पुर्‍याउँछ । हाल यो युनिटअन्तर्गत ११९ वटा गाउँका ३ हजार ३३६ युवा स्वयंसेवक सक्रिय छन्, जसमध्ये ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष छन् ।

दिगो वास्तुकलाको उदाहरण

यो लजमा पर्यटक आवास, सामुदायिक केन्द्र, कार्यालय, रिसेप्सन, भोजन कक्ष र कर्मचारी आवासका सुविधाहरू छन् । कम ऊर्जा खपत, स्थानीय सामग्री र जलवायु अनुकूल डिजाइनका कारण यसलाई दिगो वास्तुकलाको राम्रो नमुनाको रूपमा हेरिएको छ ।

टाइगर ट्र्याक इकोलजले नेपाली परम्परागत सीपलाई विश्व मञ्चमा चिनाउने, दिगो पर्यटन प्रवर्द्धन गर्ने, जैविक विविधता संरक्षण गर्ने र स्थानीय जीवनस्तर उकास्ने नयाँ मोडेल प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?