Comments Add Comment

कुरा धेरै भो, व्यवहारमा यसरी हुन्छ जातीय सदभाव

दीपक के. श्रेष्ठ

विभिन्न जातजातिले भरिएको नेपाललाई बुद्धिमानीपूर्वक पृथ्वीनारायण शाहले चार जात र छत्तीस वर्णको साझा फूलवारीको रुपमा विकास गरे । विगत दुई तीन दशक अगाडिसम्म पनि केही जातजातिमा आफ्नै मामा चेली, फूपूचेलाकोवीचमा मात्र विवाह सम्बन्ध राखिने परम्परा कायम थियो । विभिन्न जातीयताका मित्रहरुकोबीचमा घनिष्टताको लागि मित लगाउने चलन थियो । मीत लगाउन कुनै जातले छेक्दैनथ्यो । दलित र गैरदलितबीच कयौंको मितेरी साइनो थिए । मीत लगाएका दुई परिवारहरु एक परिवार हुन्थे । अलग जाति भए पनि हाडनाता बरावरको मान्यता थियो । एक परिवारमा मृत्यु भएमा अर्को मितेरी परिवारमा जुठो लाग्थ्यो । हिन्दू धर्म ग्रन्थहरुमा पनि मीत साइनोलाई अति महत्वका साथ स्थान दिएको पाइन्छ ।

Deepak-K-Shresthaचार जातहरु ब्राहृमण, क्षेत्री, बैश्य र शुद्र सदियौ कालदेखि चल्दै आएकाले क्षेत्रीको छुट्टै अष्तित्व देखिए पनि छेत्रीहरु ब्राहृमणका सन्तान भएका थुप्रै उदाहरण देखिन्छन् । व्राहृमण पिताको क्षेत्री र बैश्य जातिका माताबाट जन्म भएका सन्तानलाई क्षेत्री मान्ने चलन यद्यपि छँदैछ । यसप्रकार दुई जातिकोवीचको प्रेम, सद्भाव, पारिवारिक नाता विस्तारै स्वभाविक, बैज्ञानिक, सामाजिक, सांस्कृतिक, मानवीय हरेक दृष्टिकोणबाट उपयुक्त मान्न थालिएको छ । गुरुङ मगर लगायतका मामाचेली, फूपूचेलाहरुबीचको विवाह सम्बन्धलाई विशेष ग्राहृयता दिँदै आएको जाति विशेषहरुले पनि बैज्ञानिक मान्यतालाई पछ्याउदै गैरहाडनाताकाबीच विवाह गर्ने चलन बढ्दै गएको छ । आजभोलि मागेरै अन्तरजातीय विवाह गर्ने चलन पनि चलिसकेको छ ।

मेरा एक जना नेवार जातिको मित्रको पारिवारिक पृष्ठभूमिकोबारेमा चर्चा चलाउन यहाँ सान्दर्भिक देख्दछु । उनी पढे लेखेका व्यक्ति हुन र उनको विवाह करिव तीन दशक अगाडी गुरुङ कन्यासँग भएको थियो । उनको दिदीको विवाह पनि साढे तीन दशक अगाडी ब्राहृमण जातिमा भएको थियो । दुई जना भान्जाहरु छन् र क्षेत्रीको रुपमा समाजमा चिनिन्छन् । तीन दशक अगाडि अन्तरजातीय विवाह सजिलो थिएन र प्रायः गान्धर्व प्रकारको र अनौपचारिक हिसावले हुने गथ्र्यो । ती नेवार मित्र र उनका ब्राहृमण भिनाजु विज्ञानका विद्यार्थी भएकाले पनि समाजको प्रवाह नगरी अन्तरजातीय विवाह गरेको अनुमान धेरैले गर्दछन् ।

अन्तरजातीय विवाह सम्बन्ध ती नेवार मित्रको अन्य आफन्तहरुमा पनि उत्तिकै झांगिएको रहेछ । उनको गुरुङ ससुराको मगर सासुसँग पाँच दशक जति अगाडि नै विवाह भएको रहेछ । मगर जातिमा गएकी फूपू सासुको अमाजुको ब्राहृमणसँग विवाह भएको रहेछ । क्षेत्री भान्जा अहिले भैरहवामा नाम चलेका आँखाका विज्ञ छन् । उनका सासुका एकजना वहिनीज्वाइँ क्षेत्री हुन् र कला क्षेत्रमा कहलिएका प्राज्ञिक पनि । ती मित्रका काकाका छोरीको साढे चार दशक अगाडि तामाङसँग र अर्का छोराको क्षेत्रीसँग विवाह भएको रहेछ । उनै काकाको अर्की छोरीको क्षेत्रीसँग, अर्को छोराहरुको एउटाको मगर र एउटाको कुँवर जोगीसँग बैवाहिक सम्बन्ध रहेछ । तीनै कुँवर जोगी पट्टीका छोरा जेहेन्दार छात्रबृत्तिका चिकित्सक बन्दैछन् ।

मर्दापर्दा अप्ठ्यारो मान्ने ती मित्रको परिवारमा दोस्रो पुस्ताले अन्तर्जातीय सम्बन्धलाई निरन्तरता दिएकाले राहत मिलेको रहेछ । झण्डै दुई दशक अगाडि उनका एक जना दाजुको छोराको विवाह क्षेत्री तथा मगरसँग र अर्को एक जनाको जापानीसँग भएको रहेछ । एक छोरा र जापानीपत्नीसहित उनी जापान मै बस्छन् । ती मित्रका नर्सिङ्ग पढेकी नातिनी नाता पर्नेले तीन वर्षअघि तराई मूलका सिँहसँग बैवाहिक सम्बन्ध जोडेछन् । उनका फूपूूको छोरीको पन्त थरका भिनाजुतर्फका २ जना छोरीहरु मध्ये जेठीको तराई मूलका सिंह थरको ज्वाईसँग न्यूजिल्याण्डमा बसोबास गर्ने रहेछन् ।

अर्का सहोदर दाजुको छोरीको पोहोर साल सुर्खेततिरका क्षेत्रीसँग मागीविवाह भएछ । ज्वाई चाँही नेपालका नाम चलेका लेखक रहेछन् ।

हालसालै अष्ट्रेलिया बस्ने ठूलाबुवाको पनातिको काठमाण्डौका न्यौपाने थरकी कन्यासँगको मागी विवाहमा उनले सघाउन भ्याएछन् । तीनकै भाइले झन् पहिल्यै गौतम थरकी केटी आफूखुसी विवाह गरेकाले उनको सो मागि विवाहको बाटो खुलेको रहेछ ।

उनको मावली घरहरुमा पनि दोस्रो पुस्ताका भतिजा पर्नेहरुको कसैको ब्राजिलियन, कसैको रशियनसँग झण्डै २ दशक अगाडी नै लगनगाँठोमा बाँधिसकेका रहेछन् । मावली घरपट्टीकै अर्का भाइ पर्नेले त्यतिखेरै गुरुङ परिवारसंग बैवाहिक सम्बन्ध राखेका रहेछन्।

ती मित्रका आफ्नै गुरुङ साली दुई दशक अगाडि मगरसँग र अर्की साली राईसँग पाँच वर्ष अगाडि मात्रै विवाह वन्धनमा वाँधिएको रहेछ । अर्को थोरै टाढाको मामा पर्नेको छोरीको विवाह विश्वकर्मा थरको केटोसँग झण्डै दुई दशक अगाडि भएको रहेछ । खुसीको कुरो ती कुनै पनि अन्तरजातीय विवाहकोबीच अहिलेसम्म नराम्रो खटपट परेको उनलाई थाहा छैन रे ।

मावलका ब्राजिलियन र रसियन बुहारीहरु त नेवारी रितिस्थिति सबै जान्दा रहेछन्, मात्र होइन व्यवहारमा समेत उतार्दा रहेछन् । विदेशी बुहारीहरुले भेट्दा पनि नेवारी शैलीमा शिर निहुराई सेवाढोग गर्ने गरेबाट मेरा मित्र गौरव थान्दछन् । सबै भन्दा रमाइलो आफन्तको विवाहमा हुने जमघटमा हुँदोरहेछ । आफन्त र नातेदार नेवार जातिमा माात्र सीमित रहेनछ । गुरुङ मगर, बाहुन, क्षेत्री, राई, तामाङ, जोगी, सिंह, जापानिज, रशियन, व्राजिलियन सबै आफन्त र नातेदार ।

मैले विश्वका अति विकसित देशहरुको भ्रमणमा जातीयतामा कहिँ कतै विभेद देखिन । अमेरिका, क्यानडा, युरोप लगायतका विकसित मुलुकका वासिन्दाहरु मानिसहरुमा पुरुष र महिला गरी दुई जातलाई मात्र स्विकार गर्दछन् । जातीय स्वतन्त्रता पूर्व अस्वेत जातिलाई बँधुवा मजदुर रुपमा उपयोग गर्ने गरिएको अमेरिकामा अश्वेत बाराक ओवामा राष्ट्रपति बन्नु भनेको त्याहाँको जनताहरुमा जातीय भेदभावरहितको सद्भाव नै हो ।

विशेष गरी नेपाल र भारतमा नपच्ने कुरा के हो भने दलितहरुमाथि गरिने छुवाछुटको व्यवहार । भंैसीको दुध, बाख्राको मासु खान हुने, दलितले छोएको खान नहुने । भैंसीको मासु नखाने तर दुध खानेले पनि अप्रत्यक्ष रुपमा भैंसीको हड्डी खाएका हुन्छन् । यसको मतलव अव भैसीको दुध नखाने कुरा त भएन । भरखर व्याएको भैंसीको खुराकमा क्याल्सियमको कमि भयो भने दुधमा नपुग भएको क्याल्सियम भैंसीको हड्डीबाट पग्लिएर दुधमा क्याल्सियमको मात्रा पुरा हुने गर्दछ, यो बैज्ञानिक प्रमाण हो । दलित र गैरदलितको रक्त समूह एउटै हो । संसारभरका मानिसहरु जसको कसैसँग रगतको नाता छैन फेरि पनि लाखौं कराडौको रक्त समूह मिल्छ ।

विश्वको बदलिदो परिस्थितिसँगै नेपाल पनि सामाजिक मूल्य र मान्यताका साथ विस्तारै अघि बढ्दै गरेको आधुनिक अवस्थामा जातीय सद्भाव खल्बलाउने खालको आवाजले नेपालको ध्वनि प्रदुषण वढेकोे छ । जातीयताकै कारणले संविधान धेरै पटक पछाडी धकेलिएको छ । संघीयताको नाममा एकल जातिको नामको कुरा उठ्दा विशेषगरी मेरा मित्र जस्ता बहुजातीय परिवारमा के असर पर्ला भनेर चिन्ताको विषय बन्नु स्वभाविक हो । तर पनि परिवार भित्र राजनीतिमा छिरेका कोहि नभएकोले सामाजिक र जातिय सदभाव प्रगाढ रहेछ ।

नेपालका राजनैतिक व्यक्तित्वहरुमा पनि अन्तरजातीय विवाह भएका थुप्रै उदाहरणहरु छन् । नेपाली कांग्रेसका नेता नारायण खड्काको बैवाहिक नाता विदेशीसँग रहेको छ । एमालेका नेता झलनाथ खनाल, अमृत बोहरा, प्रदीप नेपाल, सुरेन्द्र पाण्डे आदिको अन्तरजातीय बैवाहिक सम्बन्ध रहेको छ । मधेशी मूलमा नेताहरु हृदयेश त्रिपाठी, गणेश साह, सरिता गिरी आदि पनि पहाडी मूलमा अन्तरजातीय बैवाहिक सम्बन्ध राख्नेहरु मध्येका हुन् । माओवादी नेताहरुमा बाबुराम भट्टराई, देब गुरुङ, लीलामणि पोख्रेल लगायतका उदाहरण छन् ।

नेपालको उत्तरी सीमाका मानिसहरुको तिव्वती मूलका चिनियाँहरु र दक्षिणी सीमाका मानिसहरुको भारतीयहरुसँगको बैवाहिक सम्बन्ध अनन्तकालदेखि चल्दै आएको सबैलाई थाहै छ । फेरि पनि विशेष गरी माओवादीहरुले संघीयताको मामलामा जातीयताको विषयलाई किन बढी महत्व दिएको हो भन्ने कुरा विज्ञानमा विश्वास राख्ने मानिसहरुको लागि चिन्ताको विषय भएको थियो ।

वास्तवमा जनजाति, आदिवासी, दलित लगायतका विभिन्न उत्पीडित जाति, समुदायलाई छुट्टै राज्यको आवश्यकता हो, जस्तो लाग्दैन र सबै जाति समूहको लागि साध्य पनि छैन् । मूल समस्याको जरो भनेको आर्थिक विपन्नता र जातीय विभेद हो । आर्थिक सम्पन्नताको कार्यक्रमसहित सबै खाले नेपालीहरुले अवसर पाउनु पर्ने विषय मानवीय र सामाजिक मान्यताका साथै नागरिक अधिकार पनि हो, यो कुनै जाति विशेषले राजनीति गर्ने विषय होइन ।

शिक्षा, स्वास्थ्य, रोजगार, सरल र स्तरीय जीवनयापन गर्न पाउने अवस्थामा सबै खुसी हुने छन् । त्यसैले पछाडि परेका हरेक वर्गहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रावधानको लागि राजनीतिक सहमतिको भने आवश्यक छ । देशलाई जातीय भागवन्डा गर्न जरुरत होइन, सन्तुलित विकासको साथै आर्थिक आत्मनिर्भरताको लागि संघीयताको अवधारणाको आवश्यकता ठान्नु ठिक हो ।

यति कुरा लेखिसक्दा मेरा मित्रको बारेमा लेख्न शुरु गरेको बहुजातीय पारिवारिक चित्रण घुम्दैफिर्दै आफ्नै वास्तविक कथा बनेछ । सायद तपाईँ पाठकलाई पनि आफ्नै लाग्ला नभए तपाईँको नजिकको नातेदार वा साथीभाइ वा चिनेजानेको मानिसहरुको जस्तो लाग्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment