+
+

‘टीकापुर ट्रेजेडी’ र पुष्टीकरणको इच्छा

‘टीकापुर ट्रेजेडी’पछि एकाथरि भन्दैछन्, संघीयता लागू नहुँदै फेल भयो । चित्रबहादुर केसीले बढो मीठो प्यारोडी रचना गरे ‘काँचो सुन्तला, नखाँदै यस्तो छ, खाए के होला ?’ । ओठे जवाफ नै दिने हो भन्न सकिन्छ ‘रित्तो गिलास भरेर देखाउ, अनि पत्याउँला’ । केसीहरुलाई कुनै ठूलो भाँडो, ड्रम, आरी, तसला वा बाल्टिन भर्न भनिएको हैन, जाबो गिलास भर्न भनेको ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७२ भदौ १३ गते १४:१९

‘टीकापुर ट्रेजेडी’पछि एकाथरि भन्दैछन्, संघीयता लागू नहुँदै फेल भयो । चित्रबहादुर केसीले बढो मीठो प्यारोडी रचना गरे ‘काँचो सुन्तला, नखाँदै यस्तो छ, खाए के होला ?’ । ओठे जवाफ नै दिने हो भन्न सकिन्छ ‘रित्तो गिलास भरेर देखाउ, अनि पत्याउँला’ । केसीहरुलाई कुनै ठूलो भाँडो, ड्रम, आरी, तसला वा बाल्टिन भर्न भनिएको हैन, जाबो गिलास भर्न भनेको ।

डम्बर खतिवडा
डम्बर खतिवडा

यो देशको सबैभन्दा पछिल्लो चुनाव बाग्लुङ्गको उपचुनाव थियो । सायद राष्ट्रिय जनमोर्चाको ‘आधार जिल्ला लालकिल्ला’ भनेको पनि जम्माजम्मी त्यही बाग्लुङ्ग हो । त्यहीँमात्र कम्तिमा केसीले गिलास भर्दिएको भए, त्यसलाई ‘मिनी जनमत संग्रह’ मान्न सकिन्थ्यो । साँच्चै जनताले संघीयता चाहिन्न भन्ने कोणबाट सोच्न थालेका हुन् कि भन्न सकिन्थ्यो ।

लोकतन्त्रमा मतदाताको चेतनास्तरमा शंका गर्न पाइन्न । यो सैद्धान्तिक मान्यता हो । व्यवहारिक यथार्थ सधैं, सबै अवस्थामा सिद्धान्तसंग तादाम्य हुँदैन । नेपाली मतदाता एजेण्डा हेरेर कुनै पार्टीलाई भोट हाल्ने, नहाल्ने गर्छन् भन्ने विश्वास यो पंक्तिकारमा अझै पलाएको छैन । राजनीतिशास्त्रमा मतदाता मनोविज्ञानलाई प्रभावित गर्ने थुप्रै तत्वहरुको व्याख्या पाइन्छ ।

एजेण्डा त तीमध्ये एउटा मात्र हो । पार्टी संगठनको फैलाव, मातृपार्टी भावना, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको जातिय, भाषिक र साँस्कृतिक पक्ष, स्रोत साधन (मनी), युवा परिचालन (मस्सल), शक्तिसंचरनाको आड (पावर), घातअन्तर्घात, फुट र एकताको स्थिति, अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव, केही तात्कालिक कारण आदि अनेक तत्वले निर्वाचन परिणामलाई प्रभावित गर्छन् ।

तसर्थ जनमोर्चा नेपालले चुनाव जित्न नसकेकोमा कुनै आश्चर्य लाग्दैन । तसर्थ केसीलाई संघीयता विरोधीका रुपमा चित्रण गर्दै दोहोरी लेख्नुभन्दा अर्थहीन कुरा केही हुने छैन ।

कांग्रेस-एमालेमा, संघीयता मन नपराउने थुप्रै छन्, उनीहरु कांग्रेस-एमालेमा नै बसिरहन जरुरी थिएन । जनमोर्चामा लाग्दा हुन्थ्यो

चित्रबहादुर केसी आफ्नो एजेण्डा, आफ्नो आस्थामा टिक्ने निष्ठावान नेता हुन् । संघीयताबारेमा केसीको चर्चा यसभन्दा बढी बेकारको विषय हुन्छ ।

मानौं चुनावमा व्यक्त भएको भोटको मापनभन्दा बाहिर पनि नेपालमा संघीयता विरोधी थुप्रै छन् । ती कहाँ छन् त ? मानौं कि कांग्रेस-एमालेमा, संघीयता मन नपराउने थुप्रै छन्, उनीहरु कांग्रेस-एमालेमा नै बसिरहन जरुरी थिएन । जनमोर्चामा लाग्दा हुन्थ्यो ।

संघीयताविरुद्ध संगठित अभियान चलाएको भए हुन्थ्यो जसरी खुमबहादुर खड्का कांग्रेसमा नै बसेर हिन्दूअभियान चलाइरहेका छन् वा कांग्रेस-एमालेले निर्वाचन घोषणापत्रमा नै संघीयता नलेखी जनताको भोट माग्ने आँट गरेको भए हुन्थ्यो । कम्तिमा माओवादी, मधेसवादी र जनजातिवादी दलमा पनि संघीयता मन नपराउनेहरु छन् भन्ने तर्कचाहिँ पत्याउन सकिन्न । निजी रुपमा एकाध मान्छे हुनु त्यो भिन्नै कुरा हो ।

मानौं कि संघीयता नचाहने स्वतन्त्र जनमत छ, उनीहरुले कुनै संगठित अभियान चलाएको भए हुन्थ्यो । यसरी गरेको भए हुने थुप्रै कुरा थिए, ती चाहिँ नगर्ने । गर्नुपर्ने विधिसम्मत कामचाँहि नगर्ने, गर्नु नहुने होहल्लाचाहिँ बारम्बार गर्ने ? संक्रमणकालमा, युग परिवर्तनको बेलामा, संघीयताको मोहले हतारोमा भएका गल्तीहरुलाई निहुँ बनाएर, केही दुखद घटनाको आड लिएर देशले लिइसकेको बाटो, गरिसकेको संकल्पका बिरुद्धमा विषवमन गर्दै हिँडनु कसैका लागि पनि शोभनीय छैन ।

‘टीकापुर ट्रेजेडी’

‘टीकापुर ट्रेजेडी’ निश्चय नै राम्रो हैन । तर, एकदमै अस्वाभाविक पनि त हैन । इतिहासले कोल्टे फेर्ने कुन कालखण्डमा यस्तो भएन ? पृथ्वीनारायण शाहको ‘गोर्खा विस्तार अभियान’ मा कीर्तिपुरेहरुको नाक कान धार्नीमा नापिएन ? जयस्थिति मल्लका प्रधानसेनापति जयन्त रानालाई नुवाकोट दरबारको आँगनमा टाँगेर, छाला काढेर नुनचूक छरिएन ? लिम्बुवान योद्धा काङ्गसोरेको छातीमा भाला रोपिएन ? डोटेली राजा ओम सिंहको हत्या गरिएन ? के यी हिंसा थिएनन् ? के यी दुखान्त थिएनन् ? लौ, त्यो एकीकरणका लागि थियो, महान कार्यका लागि हिंसा थियो, के त्यसपछि चाहिँ त्यस्तो भएन ?

Security-head-At-Tikapurai

पाँडे, थापा र कुँबरहरुको झगडा के थियो ? भीमसेन थापाको सुसाइड नोटलाई आज पनि हामी किन मिथक बनाउँछौं र कविता लेख्छौं ? मानौं कि यी पनि सामन्ती युगका घटना थिए, छोडी दिऔं । अनि २००७ यताको लोकतान्त्रिक नेपालमा चाहिँ के भयो ?

कांग्रेस नेतृत्वका प्रजातन्त्र सेनानीहरुले राणाका बडाहाकिम र कालापोशाके सेनाहरुलाई आक्रमण गर्नुचाहिँ के थियो ? एमाले मित्रहरुले झापा विद्रोहमा घटाएका घटनाचाहिँ के थिए ? के त्यो दुखान्त थिएन ? हिंसा थिएन ? हज्जार मुसा खाएर बिरालो हज गर्न हिडेझैं प्रचण्डले थारु आन्दोलनमा हिंस्रकता देख्नु कति संगतिपूर्ण र शोभनीय हो ?

हिंसा बर्जित राजनीतिमा विश्वास गर्ने हो भने राजनीतिक संस्कृति नै फेरौं । यो पंक्तिकार व्यक्तिगतरुपमा त्यही पक्षमा छ । आ-आफ्ना इतिहासप्रति पश्चताप गरौं । आ-आफ्ना राजनीतिक दर्शन र आदर्शहरु फेरौं । माक्र्स, लेनिन, माओ भन्न छोडौं, बुद्ध, महाबीर र ओशो भन्न थालौं । बीपी भन्न छोडौं, गान्धी भन्न थालौं । अन्यथा इतिहासका सबै संचित दोषहरु थारुहरुलाई नबोकाऔं । उनीहरुले व्यक्तिगत हत्या गरेका हैनन् । हज्जारौंको जुलुसले निषेधआज्ञा तोड्न खोज्दा भएको घटना हो त्यो । हिजो गिरिजाप्रसाद कोइराला र वामदेव गौतम रत्नपार्कबाट दरबारमार्गतिर यसरी नै निधेषआज्ञा तोड्न खोज्थे भन्ने पनि नर्बिसौ ।

टीकापुर घटनामा कुनै थारु आन्दोलनकारीलाई जेल हाल्नु अघि प्रचण्डले जेल बस्ने साहस गरुन्, अनि त्यो नैतिक हुन्छ

शाह राजाहरुका लागि गोर्खाको विस्तार, राणाशासनको स्थापनाका लागि कोतपर्व, कांग्रेसका लागि लोकतन्त्र, कम्युनिष्टहरुका लागि जनवाद वा साम्यवाद जति महत्वपूर्ण थियो र छ आज थारुहरुका लागि संघीयता त्यति नै महत्वपूर्ण थियो र छ । अरुको आदर्शका लागि, अरुले भने जस्तो क्रान्तिका लागि भएका हिंसा र बलिदान महान, थारुहरुले भनेजस्तो क्रान्ति र आदर्शका लागि भएका बलिदान तुच्छ र निन्दनीय हुँदैन । टीकापुर घटनामा कुनै थारु आन्दोलनकारीलाई जेल हाल्नु अघि प्रचण्डले जेल बस्ने साहस गरुन्, अनि त्यो नैतिक हुन्छ ।

सीमान्तीकृतहरुको आन्दोलन र क्रान्ति आधुनिक नेपालको पछिल्लो आन्दोलन र क्रान्ति हो । यसले निकास नपाइकन नयाँ नेपालको अध्याय शुरुवात् हुन संभव छैन । ‘सीमान्तकरण विरुद्धको पक्षधरता’ कुनै ख्याल ठट्टा हैन, यो समकालीन विश्वको नयाँ राजनीतिक दर्शन हो । न्याय, स्वतन्त्रता, समानता र मुक्तिको कुरा गर्नेहरुले त्यसैका लागि भएका आन्दोलनको निन्दा गर्न सक्दैनन् ।

हिंसा नहोस् भन्ने कामना असल हो । पवित्र हो । महान हो । त्यसमा कुनै शंका छैन । कयौं मानिसले अहिंसालाई जीवन दर्शन बनाएका छन, ती उत्तिकै महान छन् । तर, हिंसा पवित्र कामनाले मात्र रोकिँदैन । हिंसालाई जीवन दर्शन, हिंसालाई राज्यको दर्शन बनाएर कुनै एउटा कमजोर समुदायमाथि सम्पूर्ण लान्छना र दण्ड आरोपित गर्नु कायरता बाहेक केही हुने छैन ।

बर्चश्वको वितरणः

सृष्टि जहिल्यै द्वन्द्वात्मक र गत्यात्मक (डाइलेक्टिल एण्ड डाइनामिक) हुन्छ । मानव समाज पनि सृष्टिकै अंश हो । तसर्थ समाज पनि द्वन्द्वात्मक र गत्यात्मक हुन्छ । बर्चश्व र प्रतिवर्चश्व द्वन्द्ववाद दुई पक्ष हुन् । बर्चश्व विनाको समाज व्यवस्था हुँदैन । एकै प्रकारको बर्चश्व संरचना सधै कायम पनि रहँदैन । ‘राजनीति वर्ग संघर्षको उच्चतम् अभिव्यक्ति हो’ भन्ने लेनिनीय परिभाषालाई ‘राजनीति बर्चश्व संघर्षको अभिव्यक्ति हो’ भन्ने ग्राम्स्कीय परिभाषाले प्रतिस्थापित गरिसकेको छ । वर्ग हेजीमोनीको एउटा महत्वपूर्ण तत्व हो । तर, सम्पूर्ण तत्व हैन भन्ने नबिर्सौं ।

संघीयता नेपालमा लोकतन्त्रको पूरक सिद्धान्त हो । किनकि यसले बहुध्रुवीय बर्चश्व (मल्टीपोलर हेज्जेमनी) निर्माण गर्ने प्रयास गर्दछ । कुनै खास एक केन्द्र, एक विन्दु, एक समुदायमा भएको बर्चश्व बहुकेन्द्रमा विभाजित हुनु बर्चश्वको वितरण हो । जसरी लोकतन्त्रले न्याय, स्वतन्त्रता र समानताको वितरण गर्न चाहन्छ, संघीयताले वर्चश्वको वितरण गर्न चाहन्छ ।

‘ट्रेजेडी’ र ‘कमेडी’ सँगसँगै हिँड्छन् । नेपालका सीमान्तकृतहरुलाई अधिकार दिन गरिँदै गरेको कन्जुस्याइँले, ढीलो चाँडो फरक हो, झनझन ठूला ‘ट्रेजेडी’ निम्त्याउँन सक्छ

यो आधारभूत दार्शनिक नियमभन्दा बाहिर गएर गरिने संघीयताको विरोध अज्ञानता र भावावेगभन्दा बढी केही हुँदैन । जसरी ‘ग्लोबलाइजेशन’ ले ‘लोकलाइजेशन’ महत्वलाई घटाउन सक्दैन, त्यसरी नै वर्गवादी विश्लेषणले संघीयताको महत्वलाई घटाउन सक्दैन ।

‘ट्रेजेडी’ र ‘कमेडी’ सँगसँगै हिँड्छन् । अझ विश्व साहित्य र इतिहासलाई हेर्ने हो भने ‘कमेडी’ भन्दा ‘ट्रेजेडी’ शक्तिशाली भावधारा देखिन्छ । सुकरातले हेमलक पिउनु पनि ‘ट्रेजेडी’ नै थियो । त्यही भावावेशले प्लेटो जन्मायो । प्लेटोको वैचारिक विद्रोहमा उभिएर अरस्तु जन्मिए । अरस्तुको ज्ञान र शिक्षाले सिकन्दर जन्मिए । जसले ३३ वर्षको उमेरमा संसार जिते । संसारको इतिहासमा पहिलो प्रमाणिक ‘ग्लोवलाइजेशन’ त्यही हेलेनिक साम्राज्य थियो । खै टिक्यो ?

आजको नवउदारवादी ‘ग्लोवलाइजेशन’ पनि त्यस्तै हो । कम्युनिष्टहरुको ‘इन्टरनेशनल’ पनि त्यस्तै हो । सृष्टि जहिल्यै ‘ट्रेजेडी’ र ‘कमेडी’ को सन्तुलनमा हिँड्छ । नेपालका सीमान्तकृतहरुलाई अधिकार दिन गरिँदै गरेको कन्जुस्याइँले, ढीलो चाँडो फरक हो, झनझन ठूला ‘ट्रेजेडी’ निम्त्याउँन सक्छ ।

पुष्टीकरणको इच्छाः
मनोवैज्ञानिकहरु भन्छन् -मानिसमा ‘तुष्टीकरण’ को मात्र ‘पुष्टीकरण’ को पनि इच्छा हुन्छ । आफूले गरेका अनुमान सत्य सावित भइदिउँन् र समाजले भविष्यवेत्ताका रुपमा आफूलाई सम्मान गरोस् भन्ने मनोवैज्ञानिक चाहनालाई ‘पुष्टीकरणको इच्छा’ भनिन्छ । ‘पुष्टीकरण’ को तीव्र इच्छालाई व्यक्त गर्ने एउटा रोचक कथा छ ।

एउटा मान्छेलाई सर्दी लागेछ । सर्दी लागेको वेला नाकका प्वाल टालिन्छन् । नाकबाट सास फेर्न अप्ठ्यारो हुन्छ । राति सुतेका बेला उसका नाकका दुबै प्वाल टालिएछन् । सास फेर्न मुख आँ गरेर सुतेछ । सपनामा एउटा सर्प आएर उसले आँ गरेको मुखबाट भित्र पस्यो । ब्यूँझिदा उसको पेट दुखिरहेको थियो । उसले आफ्नो पेटमा सर्प पस्यो भनेर हल्ला गर्‍यो । रुन कराउन थाल्यो । आफन्तहरु अचम्मित भए । पेट छामे, हेरे, जाँचे, पेटमा सर्प छैन । तर, उसले पत्याएन । आफूलाई डाक्टर कहाँ लैजान भन्न थाल्यो ।

उसलाई अस्पताल पुर्‍याइयो । डाक्टरले पेटको एक्स रे, भिडियो एक्स रे, इन्डिोस्कपी लगायत पेटको हुने जति सबै जाँच गरे । तर पेटमा सर्प थिएन । छैन भन्यो । तर, पनि उसले पत्याएन । रुन छोडेन । पेट दुख्यो भन्न छोडेन । चिन्ताले ऊ दुब्लाउन थाल्यो । अन्ततः उसका आफन्तले उसलाई एक जना मनोचिकित्सक कहाँ लगे । मनोचिकित्सकले अगाडि नै सबै कहानी सुनिसकेको थियो ।

मनोचिकित्सक कहाँ पुग्ने वित्तिकै सोध्यो उसले ‘मेरो पेटमा सर्प छैन त ?’

मनोविश्लेषकले भन्यो ‘छ, किन नहुनु, तिम्रो पेटमा सर्प छ । मैले देखिसकें । तर, नडराउँ भोलिसम्म तिम्रो पेटको सर्प म भगाइदिन्छु ।’ बिमारीलाई लाग्यो उसका आफन्त, डाक्टर सबै केही नजान्ने हुन्, यही एउटा मनोचिकित्सक मात्र सबै थोक जान्ने मान्छे हो ।

साँझ मनोचिकित्सकले उसलाई अनेक हुने नहुने जरीबुटी र घोल खान दियो । भन्यो ‘यो औषधीले रातभरिकै काम गर्छ । भोलि बिहानै तिमी मेरै घर बाहिरको चर्पीमा दिसा गर्न आउनु । दिसा गरिसकेपछि मात्र पछाडि फर्के हेर्नु सर्पलाई निस्केर जानेछ ।’ बिमारीले त्यसै गर्‍यो । बिहान दिसा गरिसकेर हेर्दा चर्पीको हजमा सर्प कुद्दै थियो । उसलाई के थाहा कि मनोचिकित्सकले राति नै सपेराकहाँबाट एउटा बिष नलाग्ने सर्प ल्याएर चर्पीको हजमा हालिदिएको थियो । बिमारी निको भयो ।

हतारमा घर फर्केर उसले आमालाई भन्यो ‘देख्यौ त आमा, म झूठो बोल्छु ? आखिर मेरो पेटमा सर्प पसेको थियो भनेर पुष्टि भयो कि भएन ?’
यो देशमा त्यस्ता पनि थुप्रै मानिस छन, जो संघीयता फेल भइदियोस् र आफ्ना अनुमानहरु सही भएको खुशीयाली मनाउन पाइयोस् भन्ने इच्छा राख्छन् । उनीहरुका लागि ‘टीकापुर ट्रेजेडी’ मनोचिकित्सकले चर्पीको हजमा छोडेको सर्पजस्तै भएको छ ।

तर, सबैले के बुझ्न जरुरी छ भने संघीयता यो देशले गरिसकेको एउटा साझा संकल्प हो । कसैलाई सर्दी लाग्यो, कसैका नाक टालिए, कसैले सपनामा सर्प खायो र दुब्लायो भन्दैमा देश अब संघीयताबाट फिर्ता हुन सक्दैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?