Comments Add Comment

संविधानसभा भवनबाटै संविधान जारी गर्ने तयारी

१६ भदौ, काठमाडौं । संविधानसभा भवनबाटै नयाँ संविधान जारी गर्ने तयारी भएको छ । संविधानसभा सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वरमा नै भव्य समारोह गरेर संविधान जारी गर्ने तयारी थालेको हो । संविधानसभा भवनको भौतिक संरचना निर्माणदेखि विशेष समारोहका अन्य आन्तरिक तयारी पनि तीव्र गतिमा भइरहेको सचिवालय स्रोतले जानकारी दिएको छ ।
BICC-Nepal
सबै प्रक्रिया पूरा गरेपछि संविधानसभाको अन्तिम बैठक डाक्ने र त्यही दिन संविधान जारी गर्न औपचारिक राष्ट्रिय समारोह पनि आयोजना गर्ने र राष्ट्रपतिलाई बोलाउने तयारी सचिवालयको छ । संविधानसभा भवनबाटै भदौ मसान्तभित्र संविधान जारी गर्ने तयारी भए पनि विशेष औपचारिक समारोह कस्तो हुने भन्ने तय भएको छैन । तर, सभामुख सुवास नेम्वाङको सहमति लिएर सचिवालयले तयारी थालेको स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ ।

सभामुख नेम्वाङले भदौ मसान्तभित्र संविधान जारी गर्ने गरी सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । ‘यस विषयमा मैले राष्ट्रपतिलाई पनि जानकारी गराइसकेको छु,’ नेम्वाङले भने, ‘संविधान जारी गर्ने मिति र कार्यक्रमबारे थप जानकारी दिन र निम्ता गर्न म फेरि आउँछु भनेको छु ।’ कुन मितिमा संविधान जारी हुने भन्नेबारे उनले केही खुलाउन चाहेनन् । संविधानसभाले पारित गरेको नयाँ संविधान राष्ट्रपतिले औपचारिक विशेष समारोहबीच सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । जारी गर्नुअघि संविधानमा सबै सभासद्ले हस्ताक्षर गर्नेछन् ।

हस्ताक्षरित संविधान सभामुख नेम्वाङले प्रमाणित गरेपछि राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने प्रावधान छ । यसअघि दलहरूले औपचारिक समारोह कहाँ गर्ने भन्ने निर्णय गरेका थिएनन् । संविधानसभा भवन नयाँ बानेश्वर, सिंहदरबार, राष्ट्रपति कार्यालयलगायत स्थान चर्चामा थिए । तर, सचिवालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिलाई बोलाएर विशेष औपचारिक समारोह आयोजना गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment