Comments Add Comment

सीमांकन पछि २४ दिनमा २४ जनाको मृत्यु

१७ भदौ, काठमाडौं । संघीयतामा सीमांकनको विषयलाई लिएर २४ दिनयता भएका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । झडपका क्रममा करिब चार सयजना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १५ आन्दोलनकारी, आठ प्रहरी र एक नाबालकको आन्दोलनका क्रममा मृत्यु भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मंगलबार रुपन्देहीमा एक व्यक्तिको शव भेटिएको छ । तर, सो शव आन्दोलनकारीको हो वा अन्यको भन्ने खुलेको छैन । प्रहरीको २४ साउनदेखि १५ भदौसम्मको तथ्यांकअनुसार विभिन्न ठाउँमा भएका झडपका क्रममा एक सय ९० प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीतर्फ एक सय ९५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रमुख दलले संघीयतामा ६ प्रदेशको सीमांकनको टुंगो लगाएलगत्तै मध्यपश्चिममा आन्दोलन चर्किएको थियो । मध्यपश्चिम टुक्रयाइएको भन्दै आन्दोलनकारीले नेताहरूको घरमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा गत २५ साउनमा सुर्खेतमा तीनजनाको मृत्यु भएको नयाँ पत्रिकामा खबर छ ।

३१ साउनमा जुम्लामा पनि प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मध्यपश्चिमसँगसँगै तराईमा आन्दोलन चर्कियो । दलहरूले ४ भदौमा ६ बाट ७ प्रदेशमा जाने निर्णय गरी मध्यपश्चिमलाई यथावत् राखेपछि मध्यपश्चिमको आन्दोलन रोकियो । तर, तराईमा निरन्तर बन्द र आन्दोलन चलिरहेको छ । तराईमा आन्दोलन उग्र हुँदै गएपछि शान्तिसुरक्षामा सेनालाई समेत स्थानीय प्रशासनको मातहतमा खटाउन थालिएको छ ।

कहिले, कहाँ र को ?

२५ साउन: सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्यु । मृतकहरूलाई सहिद घोषणा र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि ३२ साउनमा मात्र आफन्तले शव बुझे

१ भदौ: सप्तरीको भारदहमा प्रहरीको गोलीले राजेन्द्र (राजीव) राउतको मृत्यु । राउतका परिवारले सात दिनपछि शव बुझेका थिए ।

३ भदौ: बन्दको प्रतिकारका क्रममा प्रहरीको गोलीबाट भैरहवाको दण्डखोलामा दुर्गेश यादव, सुनील यादव र सुधीराम यादवको मृत्यु ।

६ भदौ : कर्णाली आन्दोलनका क्रममा ३१ साउनमा घाइते भएका हरिबहादुर कुँवरको उपचारको क्रममा काठमाडौंमा मृत्यु ।

७ भदौ: रौतहटको बिपी चोकमा प्रहरीको गोलीबाट रामकिशोर ठाकुरको मृत्यु ।

७ भदौ: थरुहट संघर्ष समितिका कार्यकर्ताद्वारा टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारद्वय रामबिहारी ठाकुर र ललित साउद मारिए । गोलीको छर्रा लागेर दुई वर्षीय टेकबहादुर साउदको पनि मृत्यु भयो ।

१४ भदौ: आन्दोलनका क्रममा प्रहरीसँग झडप हुादा वीरगन्जमा दिलीप चौरसियाको मृत्यु ।

१५ भदौ: कफ्र्यु उल्लंघन गर्दा प्रहरीको गोलीबाट वीरगन्जमा मनियारी भवानीपुरका धर्मराज सिंह, बहुअरी नौतनका दीनानाथ साह, भोला साह र सोहन साह कलवारको मृत्यु । बाराको कलैया रंगपुरका हिफाजत मियाँको मृत्यु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment