रमेश धमला
बिहान करिब साढे ९ बजेको थियो । मन्दिरा चौधरी र प्रतिभा चौधरी कापी, कलम र किताब बोकेर विद्यालय पुगे । विद्यालय सुनसान र बन्द थियो । उनीहरु अरु साथी र शिक्षकहरु आउलान् कि भनेर केहीबेर विद्यालय वरिपरि घुमे । तर, कोही आएनन् । आफुले अध्ययन गर्ने कक्षा कोठा केहीबेर झयालबाट नियाले र निराश हुँदै फर्किए ।
पाँच कक्षामा अध्ययन गरिरहेका प्रतिभा र मन्दिरा यसरी नै विद्यालय जाँदै फकिर्ँदै गरेको २० दिनभन्दा बढी भैसक्यो । तैपनि विद्यालय खुलेको छैन । कहिले खुल्छ भन्ने पनि टुंगो छैन ।
सुनसरीको एकम्बा ८ लोहनीस्थित चौधरी वस्तीमा रहेको सार्वजनिक प्राथमिक विद्यालयको यो दृश्यले तराईका अधिकांश विद्यालयको प्रतिनिधित्व गरिरहेको छ ।
बनिरहेको संविधानप्रति असन्तुष्टि जनाउँदै तराईका जिल्लाहरु आन्दोलित भएपछि विद्यालय यसरी नै बन्द भइरहेका छन् । बालबालिकाहरु अध्ययन गर्न पाइन्छ कि भनेर दैनिकजसो विद्यालय पुग्छन् । तर, विद्यालयमा ताला लगाइएको हुन्छ । वालवालिकाहरुलाई न विद्यायल बन्द हुनुको कारण थाहा छ, न त विद्यालय कहिले खुल्छ भन्ने नै ।
बालबालिकाको मात्रै होइन, शिक्षकको अवस्था पनि उस्तै छ तराईमा । सार्वजनिक प्राविका प्रधानाध्यापक गिरिराज निरौला बिहान समयमै विद्यालयमा पुग्छन्, तर विद्यार्थी देख्दैनन् । केहीबेर यसो कक्षा कोठाहरु खोलेर हेर्छन् र मन अमिलो बनाएर फर्किन्छन् । दुई चारजना वालवालिका अध्ययन गर्न आउँछन तर उनी पढाउन सक्दैनन् । किनकि सुनसरी बन्द छ र त्यही बन्दले यो विद्यालयलाई पनि बन्द गराएको छ ।
निरौला भन्छन्- ‘राजनीतिक माग पूरा गर्न विद्यालय बन्द गर्ने संस्कारले बालबालिकाको भविश्य सखाप भैसक्यो ।’
भारदहमा भेटिए गोली लागेका दीपक
सुनसरीबाट सप्तरीतिर लाग्दा बाटामा केही आन्दोलनकारी भेटिए । हामी पछिल्लो समय निकै चर्चामा रहेको सप्तरीको भारदह पुग्यौं । सडक सुनसान थियो, वारिपारि केही स्थानीयहरु रुमलिरहेका देखिन्थे । त्यही वीचमा भेटिए १५ वषर्ीय दीपककुमार साह ।
कक्षा ९ मा अध्ययन गरिरहेका दीपकको टाउकोमा पट्टी बाँधिएको थियो । तराईको आन्दोलनले ती किशोरलाई पनि छोडेन । भदौ १ गते आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा स्थानीय राजीव राउतको ज्यान गयो । त्यही झडपमा परेका १५ वर्षे दीपकको टाउकोमा गोली लागेको रहेछ ।
दीपकसँगै भेटिएका १९ वर्षीय विष्णु कुमार राउत कक्षा १२ मा अध्ययन गर्छन् । मधेसका जनताको अधिकार माग गर्दै आन्दोलन भैरहेको विष्णुकुमारलाई थाहा छ । तर, अहिलेको आन्दोलनले दिने उपलब्धि कहिले महसुस गर्न पाइन्छ त्यो चाहिँ उनलाई थाहा छैन ।
यद्यपि बन्द र आन्दोलनले विष्णुको सपनालाई बाधा पुर्याइरहेको छ । उनी भन्छन्- विद्यालय जान नपाएको कति दिन भैसक्यो, आन्दोलन कहिले रोकिन्छ थाहा छैन । मधेसको माग पूरा गरिदिए आन्दोलन रोकिन्थ्यो होला ।’
विष्णु थप्छन्- सबै नेपाली एकै ठाउँमा वस्न सक्ने संविधान समयमा आए हाम्रो भविष्य अन्योलमा पर्दैनथ्यो कि ?
सुनसरीमा भेटिएका मन्दिरा र प्रतिभा चौधरी थारु हुन् वा मधेस प्रदेशको सप्तरीमा भेटिएका साह र राउत सबैको गुनासो एउटै छ, विद्यालय जान पाइएन ।
राजीव राउतको परिवारले के पायो ?
मृतक राउतको घरमा पुग्दा आफन्तहरु भेटिए । प्रहरीको गोलीले पतिको ज्यान गएपछि राजीव राउतकी श्रीमतीको मानसिक अवस्था विछिप्त छ ।
विवाह गरेको तीन वर्षमै पति गुमाउनुपर्दाको पीडा त छँदैछ, सँगै चिचिला छोरीहरु हुर्काउनुपर्ने वाध्यता पनि । राजीव राउतको मृत्युको वदलामा सरकारले केही लाख दिएको छ । तर, राजीवहरुका नाममा राजनीति गरिरहेका दलहरुले शहिद राजीव राउतलाई कहिलेसम्म सम्झिन्छन् ? हुन त उनीहरुले सहीलाई ५० लाख दिने भनेका छन् ।
आज मधेसमा आन्दोलन गरिरहेका राजनीतिक दलका नेताहरु तिनै हुन्, जो मधेस आन्दोलनपछि पटक-पटक मन्त्री भए । तर, मधेस र मधेसका जनताको जीवनमा कुनै परिर्वतन आएन ८ वर्षसम्म । मधेसका जनताको गुनासो छ मधेसकै नेताहरुसँग ।
कष्टकर बन्दै दैनिकी
तराई मधेसका जनताहरु अहिले दोधारमा छन् । एकातिर आफ्नो हकहितका लागि आन्दोलन भैरहेको छ, अर्कोतिर त्यही आन्दोलन र बन्दका कारण आफ्नै दैनिकी कष्टकर बन्दै गएको छ ।
केही टाठाबाठाहरु आउँछन्, आन्दोलनमा जानुपर्छ भन्छन् तर यता घरमा दुई छाक टार्न धौ धौ हुन थालिसक्यो । सडक र बजार बन्द छ, दैनिक उपभोग्य सामनहरु पाउन छाडिसक्यो । कम्तिमा बिहान बेलुका मात्रै बजार खुले पनि केही सहज हुने थियो भन्छन् सर्वसाधारण ।
लामो दुरीमा चल्ने सवारी साधनलाई मध्यरातमा सुरक्षाकर्मीहरुले स्कटिङ गरेर गन्तव्यसम्म पुर्याउने गरेका छन् । तर आन्दोलनकारीहरु एकान्तमा लुकेर गुलेली र पेट्रोल बमले आक्रमण गर्ने गरेका छन् ।
अस्तित्व नै संकटमा परिसकेका कतिपय दलहरुले पनि अहिलेको अवस्थाको फाइदा लिने प्रयास गरिरहेका छन् । झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा आन्दोलन गरिरहेका कतिपय दलहरुले केवल आफ्नो उपस्थिति देखाउन बन्द गरिरहेका देखिन्छन् ।
केही अनुत्तरित प्रश्न
अहिले चलिरहेको मधेस आन्दोलनमा ती वालवालिका तथा किशोरहरुको हकहित र अधिकार खोसिएको छ । तर, राजनीतिक आन्दोलनभित्र केही प्रश्नहरु निकै चोटिला बनिरहेका छन् । ती प्रश्नहरु यस्ता छन् :
१ . तराई तथा मधेसमा भैरहेको राजनीतिक आन्दोलनबारे ती वालवालिका तथा किशोरहरु जानकार छन ?
२ . मुलुकको भविश्यसँग जोडिएको संविधान निर्माण भैरहेको छ । तर त्यसको विरोध गरिरहेका दलहरुको आन्दोलनले तराईका विद्यालयहरु ठप्प छन् । यस्तो शैलीको आन्दोलनका वीचमा ती वालवालिकाहरुले आफ्नो भविश्य कहाँ र कसरी खोज्ने ?
३. टाउकोमा १५ वर्षको उमेरमा गोलीको चोट बोकेर हिँडेका दीपक कुमार साहहरु आफनो भविश्य थाती राखेर, राजनीतक दलहरुको आन्दोलनमा होमिनुपर्ने दिन आएकै हो त ? यिनको भविश्यको जिम्मा अब कसले लिन्छ ? सरकारले कि आन्दोलन गरिरहेका नेताहरुले ?
४. कम्तिमा शैक्षिक संस्थाहरुलाई सञ्चालन गर्न दिएर आन्दोलन गर्दा के बिग्रन्छ ?
५. राजनीतिक दलहरुले गरिरहेको आन्दोलनमा माग गरिएको अधिकार कस्तो हो ? सडकदेखि विद्यालयसम्म ठप्प पारेर गरिएको आन्दोलनले कस्तो अधिकार दिन्छ ?
पूर्वी तराई तथा मधेसका केही जिल्लाहरु पुग्दा यस्तो देखिन्थ्यो, अहिलेको आन्दोलनले जति अधिकारको माग गरिरहेको छ, त्योभन्दा बढी आत्मीयता र अधिकार खोजिरहेका छन् मधेस र मधेसका जनता ।
सडकमा आन्दोलन भैरहेको छ, विद्यालय जानुपर्ने वालवालिका त्यसको रमिते बनिरहेका छन । तराईमा चलिरहेको बन्दको राजनीतिले आफ्नो भविष्य नै अन्योलमा परेपछि, बरु मधेसको माग पूरा गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् विद्यार्थीहरु ।
शैक्षिक सत्र सुरु नहुँदै भूकम्पको त्रास, त्यो त्रासबाट बल्ल-बल्ल मुक्त हुँदै थिए, फेरि आन्दोलन र बन्दले विद्यालय प्रभावित भएपछि तराईका वालवालिको भविश्य अन्योलमा परेको छ ।
तराईका जनताका नाममा आन्दोलन गरिरहेका राजनीतिक दलहरुको कारण तराईकै बालबालिका प्रभावित भैरहेका छन् । शिक्षक शिक्षिकाहरु आन्दोलन भन्दा पनि विद्यालय बन्द भएकोमा चिन्तित छन् ।
संविधान र सदभावको खोज्दैछ लाहान-भारदह
मधेसमा दैनिक आन्दोलन चलिरहेकै छ । कैलालीको टीकापुरमा भैरहेको आन्दोलनले एसएसपीसहित ९ जना सुरक्षाकर्मी र ३ जना प्रदशनकारीको ज्यान लियो । तर, सप्तरीको भारदह र सिरहाको लाहनका जनता भने कैलालीको घटना नदोहोरियोस् भन्नेमा सचेत देखिन्छन् ।
संविधानमा थारु तथा मधेसका जनताको अधिकार सुनिश्चित गराउनुपर्ने माग राखेर आन्दोलन गरे पनि हिंसाको बाटो भने सबैको लागि घातक हुनेमा लाहानका जनता निकै सचेत देखिन्थे । हरेक नेपालीले स्वीकार गर्न सक्ने र अपनत्व महसुस गर्न सक्ने संविधान बनाइदिए आन्दोलन रोकिने थियो भनिरहेका छन् सामान्य नागरिकहरु ।
मधेसका वास्तविक नेपालीहरुको एउटै गुनासो र चासो छ, त्यो हो नागरिकता । मधेसका वास्तविक नेपाली नागरिकहरुले समेत नेपाली नागरिकता पाएका छैनन । जसले उनीहरुको भविश्यका थुपै्र बाटाहरु बन्द गरिदिएका छन् ।
सरकारी निकायमा समावेशी सहभागिता, रोजगारको ग्यारेन्टी, सेना, प्रहरी लगायतका क्षेत्रमा प्राप्त हुने अवसरका लागि नागरिकता नै बाधक बनिरहेको छ मधेसका जनताका लागि । त्यसैले मधेसका वास्तविक पीडित तथा पिछडिएका नागरिकहरुको गुनासो सम्बोधन गर्न सक्ने संविधानले नै मधेशलाई शान्ति बनाउन सक्छ । त्यसो त र मधेसका जनताको नाममा राजनीति गर्ने र सत्ता पाएपछि मधेसलाई बिर्सने नेताहरुदेखि सचेत रहन पनि जरुरी देखिन्छ ।
(टेलिभिजन पत्रकार धमलाले ६ दिनसम्म पूर्वी तराईको भ्रमणपछि तयार पारेको रिपोर्ट)