Comments Add Comment

उपेन्द्र यादवको चेतावनी : बन्दुकले दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ

Upendra-Yadav

एस.के. शान

४ असोज, सप्तरी । तीनदलका नेताले संविधान जारी गरेर वार्तामा आउन आग्रह गरिरहेकै बेला सोमबार सप्तरीमा संविधान जलाउँदै मधेसी नेताहरुले शासकको हालत सिरिया वा लिबियाको जस्तै बनाइदिने चेतावनी दिएका छन् ।

मधेसवादी दलका नेताहरुले अब एकजुट भएर निर्णायक आन्दोलन गर्नुपर्ने बताउँदै आन्दोलन सँगसँगै लडाइँ पनि शुरु हुन सक्ने चेतावनी दिएका छन् ।  मुख्य तीन दलको अगुवाइमा जारी गरिएको संविधान सोमबार राजविराजमा जलाउँदै नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादवले के-के भने ?

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी आन्दोलन निरन्तर चल्ने बताए । उनले आन्दोलनसँगै अब लडाइँ पनि हुने बताए । ‘यो लडाइँ स्वायत्त मधेस नपाएसम्म जारी रहन्छ’ यादवले भने, “सेना, सशस्त्रले जति दमन गरे पनि अबको लडाइँं रोकिनेवाला छैन ।”

मधेसको मुद्दा राजनीतिक रहेको चर्चा गर्दै यादवले राजनीतिक मुद्दालाई बन्दुकको भरमा दबाउन खोजिए शासक वर्ग आफैं धरासायी बन्ने बताए । ‘राजनीतिक मुद्दालाई बन्दुकको भरमा दबाउन खोजिए सिरिया, लिबिया र भियतनामजस्तै यहाँका शासक वर्गको पनि अन्त्य हुनेछ’ अध्यक्ष यादवले भने ।

आफ्नो आन्दोलन र लडाइँमा विश्वको साथ रहेको बताउँदै उनले मधेसलाई छाडेर बनाइएको संविधान कुनै काम नलाग्ने भारतसहितका देशले बताइसकेको अवस्थामा पनि संविधान जारी गरिएको यादवको भनाइ छ ।

यो लडाई सांसद वा मन्त्री बन्नका लागि नभई समग्र मधेसका जनताको लागि भएको यादवले बताए । अबको मधेस र थारुको आन्दोलनलाई तुहाउन शासक वर्गले घुसपैठियाहरु परिचालन गर्ने खेल शुरु गरेको भन्दै यादवले त्यसप्रति सतर्क रहन कार्यकर्तालाई आग्रह गरे । ‘यो संविधान तीन दलले आफ्नो स्वार्थसिद्वीका लागि मात्रै बनाएका हुन्’ यादवले भने, “यो संविधान होइन, कागजको खोष्टो मात्रै हो, यसमा तीन दलको स्वार्थ मात्रै लुकेको छ ।’

कसैलाई बोल्न नदिई संशोधनसमेत गर्न नदिएर हुकुमी शैलीमा संविधान जारी गरिएको बताउँदै यादवले तत्कालीन राष्ट्र प्रमुख र प्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाले गरेको सम्झौता कार्यान्वयन नगरी घोर उल्लंघन गरिएको बताए ।

जारी गरिएको संविधानमा गणतन्त्रलाई पनि धरापमा राखेको यादवले बताए । ‘गणतन्त्र शब्दलाई परिवर्तन हुन सक्छ भनेर धरापमा राखिएको छ’ उनले भने, “संघीयता राख्ने तर न्यायालय र लोकसेवासहितका मूलभूत कुराहरुलाई केन्द्रीकृत राख्ने कस्तो संघीयता ?”

फोरम अध्यक्ष यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समग्र मधेस स्वायत्त प्रदेश जस्ता सवालहरु अन्तरिम संविधानमा उल्लेख गरिए पनि अहिले धेरै कुराहरु हटाइएको बताए ।

सरकार साम्प्रदायिक भएको आरोप

अध्यक्ष यादवले सरकारको नीति साम्प्रदायिक र नश्लवादी भएको बताएका छन् । एक समुदायले आन्दोलन गर्दा तत्कालै माग सम्बोधन गर्ने र यही देशको अर्काे समुदायले आन्दोलन गर्दा छातीमै गोली हान्ने काम साम्प्रदायिक हो’ उनले भने, “साम्प्रदायिकसँगै सरकारको नीति नश्लवादी देखिएको छ ।”

यादवले भने, “सुर्खेतमा आन्दोलन शुरु हुँदा विनावार्ता र विना सम्झौता ६ प्रदेश हटाएर सात प्रदेश बनाइयो, मधेससँग सम्झौता भए पनि आन्दोलन गर्दा दमन गर्नका लागि सेना खटाइयो । यसले शासक वर्गले मधेसीलाई नेपाली नभई विदेशी सम्झेको प्रष्ट भएको छ ।”

आन्दोलनमा उत्रेका मधेसी जनतालाई छातीमै गोली ठोक्नु अन्तर्राष्ट्रिय कानुनअनुसार मानवताविरोधी कार्य भएको बताउँदै उनले यसको जवाफ छिट्टै यो सामन्ती र निरंकुश सरकारलाई दिनुपर्ने बताए ।

मधेस शोकमग्न छ, ह्वीस्कीको पार्टी चलिरहेछ

अध्यक्ष यादवले आफ्नै देशका जनता मारेर शासक वर्ग ह्वीस्की पिएर खुशियाली मनाइरहेको बताए । ‘हाम्रो गाउँमा कुनै एकजनाको निधन भएमा शोकमा गाउँलेले खानासमेत खाँदैनन्’ यादवले भने, “तर नेपालकै मधेसमा दर्जनौं मधेसीको लास खसे पनि शासकवर्ग र उसका मतियारहरु ह्वीस्की पिएर खुशियाली मनाइरहेका छन् ।’

अब सम्बन्धविच्छेद गरौं : मातृका

विरोधसभालाई सम्बोधन गर्दै संयुक्त मधेसी आन्दोलन जनपरिचालन समिति र नेकपा माओवादीका समेत संयोजक रहेका मातृका यादवले अब मधेशी जनताले सम्बन्धविच्छेद गर्नुपर्ने बताए ।

आफ्नै देशका नागरिकको छातीमा गोली ठाकेर रमाउने शसक वर्गसँग कुनै पनि किसिमको सम्बन्ध राख्न नहुने उनले जोड दिए । मधेसीको छाती र टाउकोमै गोली प्रहार गर्ने सेना र प्रहरी नेपाली होइनन्, गोर्खाली हो’ यादवले भने, “नेपाली भएको भए, आफ्नै देशका नागरिकसँग यस्तो व्यबहार गर्दैनथ्यो होला ।”

अब समग्र मधेस नभई मधेस देशका लागि अगाडि बढ्नुपर्नेमा माओवादी नेता यादवले जोड दिए । उनले भने- “मधेस आफैं एउटा देश हो, नेपाल बहुदेश हो, यसमा लिम्बुबान, तमुबानसहित बिभिन्न देशहरु मिसिएका छन् ।”

यादवले अबको आन्दोलन योजनावद्व ढंगले अगाडि बढाउनुपर्ने बताए । उनले सम्पूर्ण मधेसवादी शक्तिलाई एकजुट भएर योजना बनाउन आग्रह गर्दै एकै योजनासहित सम्पूर्ण दल अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै गरी सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले शासक वर्गले मधेसीमाथि ईंट फ्याँकेको उल्लेख गर्दै अब पत्थर फ्याँक्नुपर्ने आवश्यकता रहेको बताए । मुलुकको आधा जनसंख्याको भावना विपरीत शासक वर्गले संविधान जारी गरेर आन्दोलनको विगुल फुक्न बाध्य पारेको उनले बताए ।

सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले अब सम्पूर्ण मधेसवादी शक्तिलाई एकजुट हुनुको विकल्प नभएको बताए । उनले सम्पूर्ण मधेसवादी र थारु संगठनहरुलाई एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment