नविन अर्याल
१८ असोज, काठमाडौं । राणा कालदेखि नै काठमाडौं उपत्यकाको सबैभन्दा छोटो एवं व्यापारिक नाका बनेको वीरगञ्जमा यतिबेला भारतीय पक्षले मुख्यरुपमा अवरोध पुर्याइरहेको छ । यसका पछाडि वीरगञ्ज नाकाको काठमाडौंसँग कस्तो प्रभाव छ भन्ने भारतले बुझेको छ ।
नेपालमा सबैभन्दा बढी सामान वीरगञ्ज नाका हुँदै भित्रिने गर्छ । वीरगञ्जबाट कुल आयातको करिव ५० प्रतिशत समान नेपाल भित्रिने गरेको छ ।
वीरगञ्जबाट के-के भित्रिन्छ नेपालमा ?
वीरगञ्ज नाकाबाट सवारी साधन तथा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलजन्य बस्तुहरु सबैभन्दा बढी आयात हुने गरेको छ ।
तेस्रो मुलुकबाट कोलकाता सुख्खा बन्दरगाह हुँदै आउने समान पनि यही नाका हुँदै नेपाल भित्रिन्छ । कोलकाताबाट वीरगञ्ज छोटो दुरीमा पर्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का अनुसार गत आर्थिक वर्ष कुल आयातको ४१ प्रतिशत वीरगञ्जबाटै भएको छ ।
वीरगञ्ज भन्सार नाका नेपालको सबैभन्दा ठूलो महत्वपूर्ण नाका हो । आयातमात्र होइन, निर्यातका लागि पनि वीरगञ्ज नाका महत्वपूर्ण रहेको छ । टीइपीसीका अनुसार गएको वर्ष कुल निर्यातको एक तिहाइभन्दा बढी हिस्सा यहीँबाट निर्यात भएको छ ।
भारतले नाकाबन्दी फिर्ता लिएको दाबी गरिरहँदा मुख्य नाका नखुल्ने स्पष्ट पारेको छ । तर, उसले ठूलो नाका बन्दलाई यथावत राखेर साना नाकाबाट सामान आउन दिने बताएर नेपाली तथा अन्तर्राष्ट्रिय जगतको आँखामा छारो हाल्न खोजेको नेपाली पक्षको गुनासो छ ।
‘वीरगञ्ज नाका नखुलेसम्म अरु नाका खुलेर खासै फरक पर्दैन’ एक व्यवसायीले भने- ‘अहिले हामीलाई समस्या भनेको पेट्रोलियम पदार्थको हो, सबैभन्दा बढी पेट्रोलियम भित्रिने नाका यही हो ।’
मधेसी समुदायको आन्दोलनलाई कारण देखाउँदै उसले वीरगञ्ज रक्सौल नाकाबाट समान पठाउन नसक्ने दाबी गरेको छ । यद्यपि उसले अन्य नाकाबाट समान निर्वाध रुपमा नेपाल भित्रिन दिने बताए पनि त्यसो हुन सकेन ।
वीरगञ्ज भन्सार नाका बन्द हुँदा भारततर्फ ६० किलोमिटर ट्रक, ट्यांकर तथा कन्टेनरको लाइन लागेको बताइन्छ ।
तेस्रो मुलुकबाट भित्रिएको समान पनि कलकत्तामा थुपि्रएर बसेको छ । भारतले वीरगञ्ज रक्सौल भन्सार निर्वाधरुपमा सञ्चालन गर्न नदिएसम्म नेपालमा अहिले देखिएको पेट्रोलियम लगायतका वस्तुहरुको अभाव कम नहुने व्यवसायी बताउँछन् ।
नेपाल सरकारले भन्सारबाट उठाउने कुल राजस्वको ५० प्रतिशत रकम पनि वीरगञ्जबाटै उठ्ने भन्सार विभागमा महानिर्देशक शिशिरकुमार ढुंगाना बताउँछन् ।
‘यस वर्ष सरकारले देशभरबाट २०५ अर्ब ७६ करोड भन्सार उठाउने लक्ष दिएको छ’ विभागका महानिर्देशक ढुंगानाले भने- ‘जसमध्ये वीरगञ्ज भन्सारबाट १०३ अर्ब ७७ करोड उठाउनुपर्छ ।’
वीरगञ्जबाट उठ्ने कुल भन्सारमा करिव ३० प्रतिशत सवारी साधनको र २७ प्रतिशत पेट्रोलियम पदार्थको योगदान रहन्छ । गत आर्थिक वर्षमा उठेको एक खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ कुल राजश्वमध्ये वीरगञ्जबाटै ८९ अर्ब ९६ करोड रुपैयाँ उठेको थियो । जुन ५० प्रतिशतको हाराहारीमा हुन आउँछ ।
भारतमा जोडिएका अन्य नाका
नेपालको भारतसँग जोडिएका २० वटा प्रमुख भन्सार कार्यालय रहेका छन् भने त्यस मातहत रहेका १३८ वटा छोटी भन्सार कार्यालयहरु छन् ।
प्रमुख भन्सारका रुपमा इलामको पशुपतिनगर, झापाको मेची, मोरङको बिराटनगर, सुनसरी, सप्तरीको राजविराज, सिराहा, जनकपुर, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, रौतहतको गौर, वीरगञ्ज, पर्साको सुख्खा बन्दरगाह, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलावास, बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुर, कलाली, कञ्चनपुर र वैतडी झुलाघाट रहेका छन् ।
भन्सार विभागका महानिर्देशक ढुंगानाका अनुसार भारत हुँदै नेपालमा समान भित्रिने नाकामा वीरगञ्ज पहिलो नम्बरमा पर्छ भने दोस्रोमा भैरहवा, तेस्रोमा विराटनगर, चौथोमा मेची, पाँचौमा नेपालगञ्ज, छैठौंमा कृष्णनगर, सातौंमा धनगढी, आठौंमा जलेश्वर र नवौंमा महाकाली नाका पर्छ ।
नेपालमा भारतसँग जोडिएका नाकाबाहेक चीनको तातोपानी तथा रसुवागढी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि समान भित्रिने गर्छ । विनाशकारी भूकम्पपछि तातोपानी र रसुवागढी नाका ठप्प छन् । भारतले नाकाबन्दी गरेपछि अहिले उत्तरतर्फका यी नाकाहरु खुलाउने काम भइरहेको छ ।
प्रतिक्रिया 4