
७ भदौ, चितवन । नेपालमा हुने वन्यजन्तु अपराध नियन्त्रण गर्न अमेरिकाले राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीमार्फत विभिन्न निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिलाई २० करोड बराबरको सहयोग गरेको छ ।
अमेरिकी दूतावासले एनटीएनसीमार्फत देशका १४ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र १० वटा मध्यवर्ती उपभोक्ता समितिहरुलाई तालिमदेखि विभिन्न लजिष्ट्रिक सामाग्रीहरु उपलब्ध गराएको हो ।
चितवनको सौराहास्थित एनटिएनसीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेपालस्थित अमेरिकी राजदूतावासका डेपुटी चिफ इन नेपाल अफ मिसन जसन पि. मेक्सको उपस्थितिमा« १४ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र समुदायमा आधारित चोरी सिकारी युवा जागरण अभियान (सिबिएपियू) लाई ल्यापटप, क्यामेरा, दूरबिन, हेड लाइट, वाकिटकी, जिपिएस र प्राथमिक उपचारका ७ करोडभन्दा बढिको सामग्रीहरु उपलब्ध गराइएको थियो ।
यो सहयोग युएस गभर्मेन्ट डिपार्टमेन्ट अफ स्टेट व्युरो अफ इन्टरनेशनल नरकोटिक्स र ल इन्फोर्समेन्स एफियर्स (आईएनएल) ले राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत सञ्चालन गरेको वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमबाट प्राप्त भएको हो ।
चितवनमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको समुदायमा आधारित चोरी सिकारी युवा जागरण अभियान (सिबिएपियू) पनि यस्तो सहयोग पाउने पहिलो उपभोक्ता समिति बनेको छ ।
वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सघाउने, जैविक विविधता संरक्षण तथा सचेतना फैलाउने अभियानका लागि एनटीएनसीले यसलाई सहयोग गर्दै आएको छ ।
मृगकुञ्ज बाहेक अन्य ९ वटा उपभोक्ता समिति मातहतका सिबिएपियूको छनौट गर्न बाँकी रहेको एनटिएनसीका बरिष्ठ कार्यक्रम अधिकृत अम्बिका खतिवडाले जानकारी दिए ।
बर्दिया, बाँके, शुक्लाफाँटा, पर्सा निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा सिबिएपियूलाई पनि यस्ता सामाग्रीहरु प्रदान गरिने खतिवडाले जानकारी दिए ।
सधै जोखिममा बसेर काम गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत काम गर्ने १ हजार ४ सय ६८ कर्मचारी र १० वटा सिबिएपियूका लागि ७ करोड रुपैयाँ बराबरको संरक्षण तथा सुरक्षा सामग्री प्रदान गरिएको छ ।
निकुञ्जका तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहका अधिकृतसम्मलाई यस्ता सामग्रीहरु प्रदान गरिएको छ ।
कर्मचारीहरुलाई सर्च लाइट, हेड ल्याम्प, चक्कु, क्यामेरा, दूरविन, जिपिएस, मेडिकल किट, हरेकलाई सर्ट, साइन्ट, जुत्ता, झोला प्रदान गरिएको छ ।
समूहलाईसमेत हुने गरी आठ सय थान स्विस चक्कु, ५० थान मेडिकल सामग्री, ५० वटा क्यामेरा, ठूलो खाले सर्चलाइट ५० वटा, ४० थान बाइनाकुलर र ३० थान जीपीएस पनि वितरण गरिएको छ ।
यसले फिल्डमा खटिने कर्मचारी तथा अपराध नियन्त्रण इकाइमा रहेर काम गर्ने स्वंयसेवकहरुलाई सहज हुने विश्वास लिइएको छ ।
२०२१ देखि काम गर्दै छ एनटिएनसी
एनटिएनसीका बरिष्ठ कार्यक्रम अधिकृत खतिवडाका अनुसार एनटिएनसीले अमेरिकी सहयोगमा वन्यजन्तु अपराध नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्न २० करोड बराबरको सहयोग पाएको थियो ।
सन् २०२१ को अक्टोबरदेखि सुरु भएको यो कार्यक्रम अन्तर्गत एनटिएनसीले राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन कार्यालयका कर्मचारीहरूलाई वन्यजन्तु अपराध, यस सम्बन्धी विद्यमान कानुन, अपराध भइहालेको अवस्थामा गर्नुपर्ने कामको विषयमा तालिम सञ्चालन गरेको थियो ।
साथैं, वन्यजन्तु अपराधका घटनामा हुने आर्कषित हुने कानुन तथा न्यायलयले सम्पादन गर्ने कार्यका बारेमा न्यायधिशहरुसँग विभिन्न समिक्षा कार्यक्रम गरिएको थियो । यहीँ कार्यक्रम अन्तर्गत नै देशका सातवटै प्रदेशमा प्रदेश वन मन्त्रालयका सचिवका अध्यक्षतामा वन्यजन्तु अपराध नियन्त्रण ब्युरो स्थापना गरिएको छ भने जिल्लाहरूमा पनि जिल्ला स्तरीय ब्युरो स्थापना गरिएको एनटिएनसीका बरिष्ठ कार्यक्रम अधिकृत खतिवडाले जानकारी दिए ।
निकुञ्ज तथा आरक्ष भएको ठाँउमा त्यसको प्रमुखले नै नेतृत्व गर्नेछ भने नभएको ठाउँमा डिभिजन प्रमुखले नेतृत्व गर्नेछन् । ४० वटा जिल्लामा यस्ता ब्यूरो गठन गरिसकिएका छन् भने अन्यमा गर्ने क्रम जारी रहेको खतिवडाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपालस्थित अमेरिकी राजदूतावासका डेपुटी चिफ इन नेपाल अफ मिसन जसन पि. मेक्सले नेपालमा पाइने दुर्लभ बन्यजन्तुको संरक्षणका लागि अमेरिकाले विगतदेखि नै सहयोग गर्दै आएको भन्दैं आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन पहल गर्ने बताए ।
उनले नेपाल र अमेरिका बीच ८० बर्ष पुरानो सम्बन्ध रहेको स्मरण गर्दै यस्ता कार्यक्रमले जनस्तर र संरक्षणमा प्रभाव पार्ने बताए । निकुञ्ज विभागमा महानिर्देशक डा.रामचन्द्र कँडेलले अमेरिकी सहयोगमा आएको यस्ता कार्यक्रमले बन्यजन्तु अपराध नियन्त्रणको चुनौतीको सामाना गर्न सहयोग पुग्ने बताए ।
संरक्षणको क्षेत्रमा अमेरिकाको सहयोग र चासो दुबै रहेको भन्दैं उनले आगामी दिनमा पनि सहकार्यको अवसर प्राप्त हुने विश्वास ब्यक्त गरे ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बन्जयन्तुको अपराध नियन्त्रण चुनौतीका रुपमा विकास हुँदै गएको भन्दैं यस्ता कार्यक्रम र सहयोगले मनोवल बढ्ने बताए ।
उनले कर्मचारी तथा सुरक्षाकर्मीहरूले जंगलभित्र विभिन्न प्रकारका जोखिम मोलेर काम गर्नु परेको भन्दैं पर्याप्त सुरक्षाका साधनबिना काम गर्दा बेला–बेलामा दुर्घटनाहरु हुने गरेको बताए । उनले निकुञ्ज भित्र सुरक्षा पोष्टहरुको अवस्था नाजुक रहेको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव नरेश सुवेदीले जैविक विविधता संरक्षणका लागि अमेरिकाको सहयोग विगत देखि नै रहँदै आएको भन्दैं आउने दिनमा मिलेर नै अगाडि जाने विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया 4