Comments Add Comment

मधेसी नेताको दोहोरो चरित्र : पत्नी र पैसावाललाई सभासद, मधेसी जनतालाई खालीहात

Couple of Madhesi Savasad

१९ असोज, काठमाडौं । पहाडे समुदायको विरोधमा मधेसमा विष वमन गर्दै हिँडिरहेका मधेसवादी नेताहरुले राजनीतिक अधिकार पाए भने के गर्लान् ? मधेसका जनतालाई उनीहरुले के देलान् ?

कुरो प्रष्टै छ, उनीहरुको रोजाइमा मधेसमा सहीद बनेका जनताका छोराछोरीहरु पर्दैनन्, बरु मधेसी जनताबाट पाएको भोट नेताहरुले पैसावाललाई बेच्छन् र सभासद बनाउँछन् । मधेसका नेताहरु जनताको भोटलाई आफ्नी पत्नी र सम्धिनीलाई सभासद बनाउने कार्यमा दुरुपयोग गर्छन् । यसको सबैभन्दा बलियो प्रमाण हो, संविधानसभाको समानुपातिक प्रणालीमा उनीहरुले छानेका सभासद ।

अघिल्लो संविधानसभा चुनावमा ८२ सिट जितेका मधेसवादी दलहरु दोस्रो चुनावमा ४९ सीटमा खुम्चिएका थिए । ती सिटमध्ये १२ सिट प्रत्यक्ष र बाँकी सबै समानुपातिकबाट हात पारेका हुन् । तर, समानुपातिकमा जितेका सिट दुरुपयोग गर्दै मधेसवादी दलहरुले आफ्ना श्रीमतीदेखि प्रेमिकासम्मलाई सभासद बनाएका छन् । केही सीटहरु पहाडे समुदायका धनाढ्यहरुलाई बेचिएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सबैभन्दा चर्को स्वरमा मधेसीको अधिकारको कुरा गर्छन् । तर, उनैले संविधानसभामा पाएका ६ समानुपातिक सभासदमध्ये एकजना आफ्नै श्रीमतीलाई बनाएका छन् । उनले श्रीमती शैलकुमारी देवीलाई कुनै राजनीतिक पृष्ठभूमि बेगर संविधानसभामा पठाएर मधेसी जनताको भोटको मजाक उढाए  ।

श्रीमतीलाई सभासद बनाउने महतो मात्रै एक्लै होइनन् । मधेसी जनअधिकार फोरमबाट फुटेर बनेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको एक सिट मात्रै छ संविधानसभामा । समानुपातिकबाट पाएको त्यो सिटमा पार्टीका अध्यक्ष राजकिशोर यादवले सहिद परिवारलाई रोज्नुको साटो आफ्नै श्रीमती सरीताकुमारी यादवलाई सभासद बनाए । राजनीतिक विषयको ज्ञान नभएकी सरिता सभासद बन्नुअघि गृहणी थिइन् ।

त्यसैगरी मधेसी जनताको अधिकारको कुरा गर्ने अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टीको पनि संविधानसभामा एक सिट मात्रै छ । राजेन्द्र महतो र राजकिशोर यादवलाई पछ्याउँदै झाले पनि आफ्नै श्रीमती डिम्पल कुमारीलाई सभासद बनाए । उनकी श्रीमती डिम्पल झा एक आयूर्वेद डाक्टर हुन् ।
उता राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्षले शरदसिंह भण्डारीले भने श्रीमतीलाई सभासद बनाएनन् । श्रीमतीको साटो उनले ‘प्रेमिका’का रुपमा प्रचारित महिलालाई सभासद बनाए । अमेरिकाको ग्रीनकार्ड होल्डर निर्जला राउतका पति अमेरिकी नागरिक हुन् । भण्डारीको पार्टीबाट नेपालको सभासद भएपछि निर्जलाले अमेरिकाको नागरिकता त्यागेकी छिन् ।

त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीकी सभासद इन्द्रा झा पार्टी अध्यक्ष महन्त ठाकुरकी सम्धीनी हुन् । ठाकुरले इन्द्राका छोरासित आफ्नी छोरीको बिहे गराउँदा दाइजोका रुपमा सभासद पद दिने बाचा गरेको मधेसमा चर्चा छ । सोहीबमोजिम सम्धिनी इन्द्रा सभासद भइन् भने बिहे खर्च सबै उनैले व्यहोरिन् । इन्द्राका श्रीमान उमाकान्त झा नेपाल सरकारका पूर्वसचिव हुन् ।

सभासद पद खुल्लमखुल्ला विक्री

Madhesi Savasad

मधेसवादी दलहरुले खुलेरै समानुपातिक सभासद पदलाई बिक्रीमा राखे । सभासद बिक्रीका केहि रोचक प्रसंगहरु छन् ।

तराई मधेस सद्भावना पार्टीको केन्द्रीय समिति वैठकमा अध्यक्ष महेन्द्र यादवले घोषणा गरेका थिए, ‘महेन्द्रनगरका नरेन्द्र शाहले हाम्रो पार्टीलाई एक करोड दिन्छु भनेका छन् । त्योभन्दा बढि दिन कोहि तयार हुनुहुन्छ कि उहाँलाई नै सभासद बनाउँ ?’ वैठकमा एक करोडभन्दा बढि निकाल्न कोहि तयार भएनन् र शाहले सभासद हत्याए ।

रामसपाका महासचिव रामेश्वर शाहले आफूसित पैसा लिएर पनि सभासद नबनाइएको भन्दै पार्टीमा उजूरी हाले । अध्यक्ष शरदसिंह भण्डारीले उनलाई १२ लाख रुपैयाँ दिएर पार्टीबाटै विदा गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले पहाडी समुदायका तीन पैसावाललाई लेनदेनकै आधारमा सभासद बनाएका छन् । उनले सभासद बनाएका गीता राणा, डा. बाबुराम पोखरेल र डा. सुवोध पोखरल तीनै जना कहिल्यै राजनीति नगरेका पैसावाल हुन् ।

तमालोपा अध्यक्ष महन्त ठाकुरका पूर्व पिएले सभासद नबनाइएको भन्दै ठाकुरले चढ्दै आएको गाडी कब्जा गरेका थिए । सभासद बनाउने शर्तमा आफूले गाडी किनिदिएको उनको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment