+
+
Shares
रसुवा बाढीको असर :

‘गाउँ नाकाबन्दीमा पर्‍यो, भोकमरी होला कि भन्ने डर छ’

अहिले सडक र झोलुंगे पुल छैन । मानिसहरू हिडेर पनि गाउँ जानसक्ने अवस्था छैन । अहिलेसम्म त गाउँमा राशन टुटिसकेको छैन । विभिन्न ठाँउका मानिसहरू एक हप्ताभित्रमा राशन टुट्ने र भोकमरी हुनेवाला छ भन्दैछन् । 

बुचुङ तामाङ, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष
२०८३ भदौ १३ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी खोलाले सबै पुल बगाएपछि रसुवाको गाउँपालिका सडक सञ्जाल, गोरेटो र झोलुंगे पुलविहीन बनेको छ।
  • गाउँपालिकामा डेढ सयभन्दा बढी मानिस हराइरहेको बताइएको छ, तर फोन सम्पर्क नहुँदा यकिन विवरण आउन सकेको छैन।
  • बाढीपछि गाउँमा बिजुली र फोन सेवा अवरुद्ध भएकाले एक हप्ताभित्र राशन सकिएर भोकमरी हुने चिन्ता स्थानीयले गरेका छन्।

अहिले हाम्रो गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएको छ । सडक मात्रै होइन, हाम्रो गाँउका बासिन्दा जिल्लाको सदरमुकाम र अन्यत्र जाने गोरेटो बाटो पनि छैन । बीचमा भोटेकोशी खोला छ, भएका सबै पुल बगायो । गाँउ पारी छ, म यता सदरमुकाम धुन्चेमा छु ।

अहिलेसम्म त गाउँमा राशन टुटिसकेको छैन । गाउँपालिकाको विभिन्न ठाँउका मानिसहरू एक हप्ताभित्रमा राशन टुट्ने र भोकमरी हुनेवाला छ भन्दैछन् ।

हाम्रो गाउँपालिका जाने दुईवटा बाटो थियो । एउटा, हाकुवेशी हुँदै मैलुङ जोडिन्थ्यो, हाकुबेशीबाट जाने अर्को बाटोपनि थियो । स्याफ्रुबाट जाने बाटोपनि थियो । अहिले त सडक र झोलुंगे पुल समेत छैन । सवारीसाधनको कुरा मात्रै भएन, अहिले त मानिसहरू हिडेर पनि जानसक्ने अवस्था छैन ।

गाउँपालिकाबाट हराएका मानिसहरूको यकिन सूची आएको छैन । तर सबै विवरण संकलन गर्दा डेढ सयभन्दा बढी मानिसहरू हराइरहेका छन् । मानिसहरू गाँउमा छन्, उनीहरूले आफन्त हराइरहेका छन् । तर फोन सम्पर्क नहुदा के कस्तो अवस्था हो, थाह छैन ।

गाँउमा बिजुलीबत्ती छैन, अस्तिको बाढीपछि फोन टुटिरहेको छ । सम्पर्क भएकाहरूको पनि ‘फोन लाग्दैन’ मात्रै भनिरहेको छ । गाँउपालिकाका केही एक/दुई जनाको सम्पर्क भएको छ । उनीहरूको पनि ब्याट्री सकिन लागेको छ ।

घटनाको दिन म काठमाडौंमा थिए । त्यसपछि हामी हेलिकप्टरबाट पालिकामा आउन खोजेका थियौं, तर सम्भव भएन । अनि अरु सानो बाटो र बैकल्पिक सडक खोज्दै धुन्चेसम्म आएको हो । काठमाडौंबाट जसोतसो धुन्चे आउन सकिने रहेछ ।

अब स्याफ्रुबेशी हुँदै मेरो गाँउ जानुपर्छ, तर भोटेकोशीका सबै पुल बाढीले बगाएको छ । खोला गर्न सकिँदैन । यताको यतै, उताको उतै छौं । गाउँपालिकामा नाकाबन्दी लागेको जस्तो भएको छ ।

मैले सोलार चलाउने ठाँउहरूमा पनि बारम्बार फोन गर्न खोजेको छु, तर फोन लागेको छैन । धुच्चेमा पनि एउटा सोलार सहितको सम्पर्क हुने साधन दिनुपर्‍यो भनिरहेको छु, तर यहाँ भद्रगोल भएको छ ।

पालिकाका केही ठाँउमा मोवाइल चार्ज गर्न र सम्पर्क गर्न केही न केही आवश्यक परेको छ । हाम्रो गाउँपालिकाको डाँडापारी धादिङको रुवीभ्याली गाउँपालिका पर्छ, त्यहाँ भने सम्पर्क भइरहेको छ । त्यहाँबाट बाटो बनाउनुपर्छ भन्ने कुरा आएको छ । सोमदाङबाट आउने बाटोको केही ठाँउमा समस्या रहेछ, मर्मत गरेर बाटो खुलाउन सकिन्छ होला ।

रसुवाका हाम्रा छिमेकी गाउँपालिकाहरूको अवस्था पनि ‘ध्वस्तै’ छ । हामीसँग जोडिएका धादिङका गाउँपालिका बरु ठिकै छन् । हामी सकेसम्म गाँउमा सम्पर्क होस् र गाउँलेहरूको अवस्था पत्ता लागोस् भन्ने चाहन्छौं । कहिले पो बिजुली र फोनको टावर मर्मत हुने हो ?

(कुराकानीमा आधारित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?