Comments Add Comment

भारतले फसायो भन्दै पूर्णबहादुर रोए, देउवाले जित्ने दाउ खेले

Sushil Koirala

मात्रिका पौडेल

२३ असोज, काठमाडौं । विहीबार राति ९ बजे प्रधानमन्त्री निवासमा सुशील कोइरालाले आफू राष्ट्रपति, प्रधानमन्त्री केही पनि नबन्ने घोषणा गर्दै शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग सल्लाह गरेर बिहान आउन आग्रह गरेका थिए ।

तर, रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान प्रधानमन्त्री निवास बालुवाटारमै चरितार्थ भयो । राति ९ बजे प्रधानमन्त्रीको उम्मेदवार नबन्ने निर्णय गरेका उनै कोइराला बिहान कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने निधोमा पुगिसकेका थिए ।

राति के भने सुशीलले ?

आखिर रातभरिमा कुन अदृश्य तत्वले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनायो ? यो प्रश्नको जवाफ कांग्रेसका प्रभावशाली नेताहरुले समेत खोजे, तर अहिलेसम्म पाएका छैनन् ।

‘सुशील दाइ ! तपाई राष्ट्रपति हुने हो भने पनि सर्वसम्मत रुपमा शीतल निवासको कुर्सी दिलाउन हामी लाग्छौं भन्दा उहाँले अब म राष्ट्रपति पनि बन्दिँन, प्रधानमन्त्री पनि बन्दिँन भन्नुभएको थियो’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने ‘बिहान पदाधिकारी बैठकमा त उहाँ अर्कै भइसक्नुभएको रहेछ ।’

जतिबेला केपी ओलीका प्रस्तावक प्रचण्ड र समर्थक कमल थापासहित १३ दलका नेता बसेर उम्मेदवार दर्ता हुँदै थियो, त्यति नै बेला बालुवाटारमा कोइराला आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्नका लगि हालको प्रधानमन्त्री पदबाट राजीनामा लेख्दै थिए ।

पूर्णबहादुर रोए

Purna bahadur-Khadka 1

कांग्रेस पदाधिकारी बैठकमा पूर्णबहादुर खड्काले करीव आधा घण्टासम्म नेताहरुलाई सम्झाउँदै विदेशीको चंगुलमा नफस्न सुझाव दिए ।

विगतको सहमति भंग नगरौं, भारतले जिताइदिन्छ भन्ने भ्रममा नपरौं भनेर खड्काले धेरै अनुनय पनि गरे । ‘मैले वीपीको पालादेखिका हाम्रा गल्तीका कारण मुलुकले भोगेको दुर्गति सम्झाउँदै प्रधानमन्त्रीको उम्मेदवारी नदिन आग्रह गरेँ, मुलुकको दुर्भाग्य शुरु भयो भनेर रोएँ, तर सुशील दाइले मलाई कुनै जवाफ दिन सक्नुभएन’ खड्काले पत्रकारहरुसँग भने ।

कांग्रेस सांसदको आक्रोश र निराशा

कोइराला बालुवाटारबाट प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन संसद भवन नयाँ बानेश्वरमा आउनै लागेको सूचना पाएपछि कांग्रेस सांसदहरु ल्होत्से हलमा जम्मा भइसकेका थिए ।

कांग्रेसका सभासदहरुमा आफ्नो सभापतिले उम्मेदवारी दिन लाग्दा उत्साह भन्दा पनि निराशा र आक्रोश बढी देखिन्थ्यो । ‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले’ केन्द्रीय सदस्य समेत रहेका सांसद बद्री पाण्डेले भने ‘यिनीहरु नालायक प्रमाणित भए’ ।

भारतले मुलुकमाथि अघोषित नाकाबन्दी लगाएर नेपालको स्वाधिनतामाथि नै धावा बोलिरहेका बेला शीर्ष नेतृत्व भारतको इशारामा चलेको खुलेआम आरोप सांसदहरुले लगाइरहेका थिए ।

‘हिजो भारतले भनेर राजीनामा नदिने, आज भारतले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि राजिनामा दिएर उम्मेदवारी दर्ता गराउने खेलले हाम्रो शीर झुकेको छ’ सांसद रामहरि खतिवडाले भने ‘अब संसदीय दलको बैठक तुरुन्त बोलाउनुपर्छ ।’

कांग्रेसकै अर्का सांसद राजीवविक्रम शाह आफ्ना नेताहरुले लोकतन्त्र र सहमति शब्दकै धज्जी उडाएको भन्दै आक्रोशित थिए । ‘यतिसम्म फटाहा र देशघाती नेता होलान् भन्ने सोचेको थिइँन’ भर्खरै राजनीतिमा हामफालेर चुनाव जितेका शाहले भने-‘अब कांग्रेसको विश्वसनीयता सकियो ।’

तीन प्रमुख दललाई फुटाउने, भर्खरै जारी भएको संविधान कार्यन्वयनमा समस्या सिर्जना गर्ने र मुलुकलाई झन् ठूलो संकटमा धकेल्ने सुविचारित षडयन्त्रको शिकार कांग्रेस हुन पुगेको कांग्रेसकै नेताहरुले बताए ।

सांसद तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने-कांग्रेसको यो निर्णय इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण घटना हो, आफैंले गरेको सहमति विपरीत गएर कांग्रेसले राजनीतिमा नैतिकता र विश्वास भन्ने शब्दकै अपमान गरेको छ ।

जित्ने उपाय खोज्दै

आखिर पार्टीभित्रै यस्तो विरोध र ओलीको पक्षमा स्पष्ट बहुमत देखिएका बेलामा कोइरालाको उम्मेदवारी किन आयो ? महामन्त्री कृष्ण सिटौलाले कुटिल शैलीमा यसको जवाफ दिँदै भने-जित्नका लागि ।

सिटौलाले यसो भनिरहँदा अमरेशकुमार सिंह एमाओवादी, राप्रपा र राप्रपा नेपालभित्रैबाट कोइरालाको पक्षमा मत आउने दाबी गरिरहेका थिए । ‘भोलि बिहानसम्म सिन चेन्ज हुन्छ’ उनले भने ।

कांग्रेस नेताहरुबीच एउटै कुरामा एकमत देखियो- ‘हाम्रो पार्टीभित्र भारतीय अस्त्र प्रहार भएको ओपन सेक्रेट हो । यही संकेत गर्दै खड्काले भने-सुशील दाइकै पालामा नाकाबन्दी लगाउने भारतले उहाँलाई नै प्रधानमन्त्री बनाएर नाका खोल्छ भनेर कसरी पत्याउने ?

ल्होत्से हलभित्रै समूह बनाएर छलफल गरिरहेका सभासदहरु मध्ये पदमनारायण चौधरी, आनन्द ढुंगाना, दीपक गिरीहरुको सानो समूहमात्रै कोइरालाको उम्मेदवारीका पक्षमा देखियो ।

सबैभन्दा खुसीचाहिँ विमलेन्द्र निधी देखिन्थे । कांग्रेसले षडयन्त्रको शिकार भएर राष्ट्रपति पदसमेत गुमाउन लागेको चिन्ता पनि कांग्रेसजनहरुबीच प्रकट भइरहेको थियो । ‘हाम्रा नेताहरुले मुख देखाउन नहुने बनाइदिए’ सांसद खतिवडाले भने ।

देउवाको सफल हुने दाउ

अघिल्लो दिनसम्म आफैं प्रधानमन्त्रीको दाबेदार रहेका देउवा रातभरिमा बदलिएर एकाएक कोइरालाको प्रस्तावक बसे । यसबाट देउवा कम्तिमा तीन मोर्चामा सफल भएको विश्लेषण गरिँदैछ ।

सुशील कोइरालालाई राष्ट्रपति बन्न नदिन उनी सफल भए । दुई तिहाइ भन्दा बढी समर्थन प्राप्त प्रधानमन्त्रीबाट राजीनामा गराएर प्रधानमन्त्रीको उम्मेदवार बनाई हराउनु देउवाको अर्को सफलता हो ।

यी दुबै सफलताको आलोकमा देउवाले अब अर्को ठूलो सफलता पाउनेछन् । त्यो भनेको आगामी महाधिवेशनमा कोइरालालाई अब पार्टी सभापतिमा पनि हराएर कांग्रेसको शक्ति आफ्नो हातमा लिने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment