Comments Add Comment

राष्ट्रपतिका लागि अब ढोका खुल्यो: प्रचण्ड

फाइल फोटो
फाइल फोटो

२३ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि अब राष्ट्रपतिमा आफूले दाबी गर्ने संकेत गरेको छ । शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताए ।

आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका प्रचण्डले शनिबार संसदीय दलको बैठकमा पात्रको बारेमा कुरा नगरी राष्ट्रपतिका लागि दाबी गर्ने ढोका खुलेको बताएका हुन् ।

उपराष्ट्रपति पहिलेदेखि नै एमाओवादीलाई दिने प्रस्ताव आइरहेको बताउँदै प्रचण्डले नेपाली कांग्रेस सहमतिबाट बाहिरिएको अवस्थामा अब एमाओवादीले पनि राष्ट्रपतिमा दाबी गर्ने बाटो खुलेको बैठकमा बताए ।

यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाउने एमाले कांग्रेसवीच भद्र सहमति भएकोमा कांग्रेसले त्यसलाई तोडेपछि एमाओवादीले राष्ट्रपतिका दाबी गर्ने संकेत गरेको हो ।

राष्ट्रपति कसलाई बनाउने भन्ने एमाओवादीले टुंगो गरेको छैन । कतिपयले भने माओवादी नेता मोहन वैद्यलाई राष्ट्रपति बनाउनुपर्ने बहस एमाओवादीभित्र थालनी गरेका छन् ।

प्रधानमन्त्री बनेपछि मन्त्रालयमा छलफल

एमाओवादी अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा एमालेसँग भएको १४ बुँदे सहमतिबारे व्याख्या गरेका थिए ।
सरकार गठनबारे सहमति भइनसकेको जानकारी दिँदै प्रचण्डले मन्त्रायल बाँडफाँडबारे प्रधानमन्त्रीको चयनपछि नै छलफल हुने आफ्ना सभासदहरुलाई जानकारी दिए ।

मन्त्री बनाउँदा सबै पक्षलाई मिलाएर समावेशी आधारमा गरिने प्रचण्डले आश्वासन दिए । मधेसबारे केपी ओलीसँगको दृष्टिकोणमा केही भन्नता भए पनि ओलीलाई आलोचनात्मक समर्थन गरिएको प्रचण्डले स्पष्ट पारेका थिए ।

प्रचण्डले राष्ट्रिय एकतालाई खलल पार्न खोज्नेलाई मतदान नगर्न र ओलीलाई एक ढिक्का भएर मतदान गर्न सभासदहरुलाई आग्रह गरे ।

बाबुराम पक्षका भनिएका प्रभु साहले नै ओलीलाई मतदान गर्छु भनेपछि एमाओवादीका कुनै पनि सांसदले दलको बैठकमा पार्टी निर्णयप्रति असन्तुष्टि नजनाएको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

कांग्रेसमा भारतीय चलखेल भएको आरोप

एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसभित्र भारतले चलखेल गरेको बताएका छन् । भारतको नामै लिएर उनले सुशील कोइरालाले भारतको इशारामा उमेद्वारी दिएको कुरा बाहिर आइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment