Comments Add Comment

गैरआवासीय नेपाली संघको सम्मेलन तयारी पुरा

Nran-Press-meet

२५ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने छ ।

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । असोज २७ र २८ गते संघको अधिवेशन हुनेछ भने २९ र ३० गते विश्व सम्मेलन आयोजना हुनेछ ।

अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसका लागि २७ गतेदेखि चुनावी प्रकृया सुरु हुने संघले जानकारी गराएको छ । विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए । सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना सहभागी हुने उनको भनाई थियो ।

मुलुक भूकम्पले ग्रस्त भएको बेलामा यतिको सहभागिता रहनु उत्साहजनक रहेको अध्यक्ष घलेले बताए । सम्मेलनमा करिब १५ सयभन्दा बढी डेलिगेटहरु आउँदा होटल, पर्यटन तथा सेवा क्षेत्रमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उनको भनाई थियो ।

सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनको संयुक्त पहलमा आयोजना हुन लागेको हो । सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्रीले गर्ने संघका अध्यक्ष घलेले जानकारी दिए । सम्मेलन भूकम्पपछिको पुनर्निर्माणमा केन्दि्रत हुने बताइएको छ । ‘आगामी दुई वर्ष हामी पुनर्निर्माणमा केन्दि्रत हुनुपर्छ’ अध्यक्ष घलेले भने- ‘हामीले अधिवेशन र सम्मेलनबाट पैसा बचाएर पुनर्निर्माणमा लगाउने घोषणा गरेका छौं ।’

सम्मेलनलाई सकेसम्म कम खर्चमा सम्पन्न गर्ने संघको तयारी छ । रजिष्ट्रेशन, प्रायोजक लगायतबाट करिव २ करोड आम्दानी हुने जानकारी दिँदै अध्यक्ष घलेले एक करोड रुपैयाँभन्दा बढी खर्च नगर्ने बताए ।

यस पटकको सम्मेलनमा अन्य महत्वाकांक्षी परियोजना घोषणा नगरिने अध्यक्ष घलेले स्पष्ट पारे । ‘विगतको अनुभवले धेरै महत्वाकांक्षी योजना घोषणा गर्न नहुने पाठ सिकाएको छ’ उनले भने- ‘जे जति काम गर्न सकिन्छ, त्यति मात्रै यस पटकको सम्मेलनमा घोषणा गर्छौं ।’

घोषणा भइसकेका परियोजनालाई निरन्तरता दिने र अधुरा कामहरु सम्पन्न गर्ने घलेले बताए । पुरा गर्न नसकिने परियोजना घोषणा गरेर त्यसको प्रतिफल अपेक्षित नआउने उनको भनाई थियो ।

संघले भूकम्पबाट घरबार बीहिन भएकालाई एक हजार घर निर्माण गरिदिने घोषणा गरेको छ । घर बनाउन आइतबार नेपाल सरकार र संघबीच सम्झौता भएको छ ।

आगामी दुई वर्षभित्र सम्पूर्ण घरहरु निर्माण गरेर हस्तान्तरण गरिसक्ने अध्यक्ष घलेले प्रतिवद्धता जाहेर गरे । साथै, संघको आफ्नै भवन निर्माणमा जोड दिइने उनको भनाई थियो ।

संविधानमा एनआरएनलाई बिशेष नागरिकता दिने व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे । ‘संविधनमा उल्लेख भएर मात्र हुँदैन, कार्यान्वयनका लागि काननु चाहिन्छ, कानुन बनाउन अझै हामीले पहल गर्नुपर्ने देखिन्छ’ उनले भने- ‘नागरिकता पाएमा मुलुकमा ठूलो लगानीसमेत भित्रिने छ ।’

दोहोरो नागरिकताले भिषा प्रोसेसिङमा समेत सहजता हुने हुँदा पनि आवश्यक रहेको एनआरएनहरुको भनाई छ । अहिले आफ्नै मुलुकमा आउन पनि भिषा लगाउन निकै झण्झट हुने गरेको अध्यक्ष घलेले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment