Comments Add Comment

बाबुरामले भने- प्रचण्ड पथ केशरजंग पथमा विलिन भयो

Baburam-Bhattrai

२६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डले यथास्थितिवादी कित्तामा लगेर माओवादी आन्दोलन विघटन गरेको बताएका छन् । साथै प्रचण्ड पथ अब व्यवहारत केशरजंग पथमा गएर विलिन भएको समेत उनले बताए ।

मंगलबार राजधानीमा भएको आफू समर्थकहरुको गोप्य भेलामा पूर्व माओवादी नेता भट्टराईले केपी ओली, विजयकुमार गच्छदार र कमल थापासँग मिलेर सरकार बनाउनु प्रचण्डको गल्ती भएको बताए । आफू भएको भए सरकारमा नगई संविधानमा पार्टीले राखेका फरक मत जनतामा लगेर सम्बोधन गर्न पहल गर्ने उनले बताए ।

केपी ओली नेतृत्वको सरकारलाई खिचडी सरकार भन्दै उनले भने-गणतन्त्रवादी पनि त्यही छ, राजावादी पनि त्यही छ । यो अगाडि बढ्ने वाटो हो कि पश्चगतिको बटो हो ? सोझो मान्छेले पनि बुझ्छ ।’

प्रचण्डले किन यस्तो गरे आफूलाई अचम्म लागेको भन्दै उनले भने-‘नियतमा शंका गर्दिन । तर, एमाओवादी आन्दोलन स्खलित हुँदै गएको थियो । त्यसले त्यही ठाउँमा पुर्‍याउनु थियो । कमरेड प्रचण्डले माओवादी आन्दोलन विघटन गर्नु भो । यो तितो कुरा छ । भन्न गाह्रो छ ।’

२०१८ सालमा केशेरजंग रायमाझीले दुई तिहाइ बहुमत लिएर पञ्चायतमा हुलेको स्मरण गर्दै भटटराईले भने-‘अहिले घुमाइ फिराइ फेरि कमरेड प्रचण्डले पनि माओवादी आन्दोलनलाई त्यही ढंगले विघटन गराउनु भयो । प्रचण्ड पथ व्यवहारत केशरजंग पथमा गएर विलिन भो ।’

भट्टराईले एमालेमा नजाने बरु एमालेलाई ल्याउने प्रचण्ड अभिव्यक्तिबारे पनि बोलेका छन् । उनले भने-‘कुवालाई समुन्द्रमा मिसाउने कि समुन्द्रलाई कुवामा भन्न त सकिन्छ तर, जिसले कसले ? स्वत एमाले हावी हुन्छ । माओवादी आन्दोलन नराम्रोसँग विधिवत विघटन हुन्छ ।’

खै साइकल चढेको ?

पूर्व प्रधानमन्त्री भट्टराईले भारतसँग भित्र झुक्ने र बाहिर चर्को राष्ट्रवादको कुरा गर्ने राजा महेन्द्रको शैली अहिले देखिएको बताए ।

देशका जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा भारत परस्तको आरोप लागेको भन्दै उनले भने-‘उहाँहरु राष्ट्रवादी हुनु भएको छ र खुव उफि्ररहनु भएको छ । साइकल चढ्ने कुरा गर्नु भएको छ । तर व्यवहारमा लागू गर्नु भो त उहाँहरुले ? साइकल चढेर हिड्नु भो ?’

भन्नका निम्ति भन्ने र मानिसहरुलाई आवेगमा ल्याउनु गैरजिम्मेवार भएको भन्दै भट्टराईले आफूहरु प्रगतिशील राष्ट्रवादको पक्षमा रहेको बताएका छन् ।

म नै सबैभन्दा माथि छु

सम्बोधनका क्रममा भट्टराईले सामाजिक सञ्जालमा भइरहेको आफ्नो आलोचनाबारे पनि टिप्पणी गरे ।

आफूलाई मन पराउनेहरु पहिला भन्दा घटेको तर, अहिले पनि आफू अगाडि रहेको बताए । उनले भने-‘विरोध गर्नेहरुले मात्र टिप्पणी गर्छ । समर्थन गर्नेले लाइक गर्छ । म अनुपात के छ भनेर हेर्छु । धेरै मान्छे लाइक नै छ । हो पहिले भन्दा घटेको छ ।’

उनले अघि भने-‘खुला सर्वोक्षणमा मलाई नै धेरै मानिसहरुले रुचाए । कहिले ८० पुग्छ । अहिले १० मा झरेको छ तर, म नै सबैभन्दा माथि छु ।’

साह्रै चित्त दुख्ने टिप्पणी आयो भने नहेर्ने औषधी भएको उनले कार्यकर्तालाई सुनाए । उनले आलोचनाबाट नडराउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment